प्रधानमन्त्रीसँग अध्यक्ष दाहाल रुष्ट


काठमाडौं, १२ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुका सम्बन्धमा पछिल्लो पटक दिएको अभिब्यक्ति आफूसँग सल्लाहनै नगरेर राखेको बताएका छन् ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलेको स्वास्थ्य अवस्थाका बुझ्न शिक्षण अस्पताल महारजागञ्ज पुगेका दाहालले भट्टराईले दिएका अभिब्यक्ति आफू र पार्टीसँगको सल्लाहमा नआएको बताए । भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै उनले भने, ‘प्रधानमन्त्रीले म सँग कुनै सल्लाह गर्नु भएको छैन ।’
प्रधानमन्त्री भट्टराईले आफूले पदबाट राजीनामा नदिने भन्दै विपक्षी दलहरुलाई ‘बालहठ’को आरोप लगाएपछि आलोचना बढेको थियो । भट्टराईको आलोचना भईरहेका समयमा एमाओवादी अध्यक्ष दाहालले पनि सो विषयमा आश्चर्य जनाउदै असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष दाहालले आफू राष्ट्रिय सहमतिकै पक्षमा रहेको जनाउदै सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन् । भट्टराईले तत्काल राजीनामा नदिने समेत अभिब्यक्ति दिएका थिए ।
उपसभापति पौडेलले प्रधानमन्त्री भट्टराईले दिएको पछिल्लो अभिब्यक्तिका सम्बन्धमा जिज्ञासा राखेपछि दाहालले सो जानकारी गराएको पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
स्वास्थ्य लाभ गरिरहेका पौडेलको आज पुनः ब्लडप्रेस बढेको सहयोगी अधिकारीले बताए ।

प्रतिक्रिया