ओलम्पिक खेल्न जाने खेलाडीबारे राखेप नै अनजान

काठमाडौं, १२ असार । लन्डनमा २७ जुलाइदेखि सुरु हुने ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सोमबार विदाई गरेको छ । संघले प्रतियोगिताका सहभागी खेलाडी तथा प्रशिक्षकहरूलाई ट्रयाकसुट र जुत्ता प्रदान गर्‍यो ।
सुटिङबाहेकका नेपाली खेलाडी तथा प्रशिक्षकको टोली मंगलबार लन्डनतर्फ प्रस्थान गर्नेछ । ओलम्पिकमा सहभागी हुनुअघि टोलीले त्यहाँ करिब एक महिना प्रशिक्षण लिनेछ । १२ अगस्टसम्म आयोजना हुने यस विश्व खेलकुदमा नेपालले तीन खेल पौडी, एथलेटिक्स र सुटिङमा प्रतिस्पर्धा गर्ने छ । पौडी र एथलेटिक्समा दुइ–दुई र सुटिङमा एक खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीका अतिरिक्त तीन खेलका तीन प्रशिक्षक पनि टोलीमा छन् ।
खेलाडीमा पौडीतर्फ प्रसिद्धजंग शाह र श्रेया धिताल, एथलेटिक्समा प्रमिला रिजाल र तिलकराम थारू तथा सुटिङमा स्नेहा राज्यलक्ष्मी राणा रहेका छन् । प्रशिक्षकहरूमा ओङदेन लामा (पौडी), टीका सेढाईं (एथलेटिक्स) र ध्रुवविक्रम शाह (सुटिङ) रहेका छन् । प्रतियोगितामा प्रसिद्धले ५० मिटर फ्रि स्टायल र श्रेयाले १ सय मिटर फ्रि स्टायलमा प्रतिस्पर्धा गर्नेछन् । एथलेटिक्सतर्फ दुवै खेलाडीले १०० मिटरमा प्रतिस्पर्धा गर्नेछन् ।
विदाई कार्यक्रममा बोल्दै राखेप सदस्यसचिव युवराज लामाले ओलम्पिकमा नेपाली टोलीको सहभागिताबारे नेपाल ओलम्पिक कमिटीले राखेपलाई कुनै जानकारी नगराएको बताए । ‘राज्यको प्रतिनिधित्व गरेर खेल्न जान लागेका खेलाडीबारे राज्यको एक मात्र खेल निकाय राष्ट्रिय खेलकुद परिषद्ले समेत जानकारी नपाउनु दु:खद् र गम्भीर विषय हो,’ सदस्यसचिव लामाले भने ।
ओलम्पिक कमिटीले राखेपलाई खेलाडी विदाईको समेत अवसर नदिएको भन्दै उनले आपत्ति जनाए । ‘राज्यको प्रतिनिधित्व गर्ने खेलाडीलाई राज्यको प्रतिनिधिले विदाई गर्नुपर्नेमा राज्यलाई र राखेपलाई गुमनामीमा राखेर अन्तर्राष्ट्रिय मान्यता प्राप्त भनिने ओलम्पिक कमिटीले खेल क्षेत्रलाई मनोमानी गर्‍यो,’ उनले अगाडि थपे ।

प्रतिक्रिया