विदेशी मुद्रा सञ्चिति ४ खर्ब नाघ्यो

काठमाडौं, १२ असार । ०६८ वैशाखमसान्तमा कुल विदेशी विनिमय सञ्चिति चार सय पाँच अर्ब रुपियाँ पुगेको छ । ०६८ असार मसान्तमा दुई सय ७२ अर्ब १५ करोडको ४८ दशमलव आठ प्रतिशतले बढेर सो सञ्चिति कायम रहन सफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी मुद्रा बलियो हुनका साथै वैदेशिक रोजगारमा जाने नेपालीले अत्यधिक मात्रामा विप्रेषण नेपालमा भित्र्याएका कारण नेपालको वैदेशिक मुद्रा सञ्चिति बढेको हो ।

०६७ वैशाख मसान्तमा यस्तो सञ्चिति ०६७ असार मसान्तका तुलनामा तीन दशमलव ६ प्रतिशतले घटेर दुई खर्ब ५९ अर्ब २१ करोड रुपियाँ रहन गएको थियो । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०६८ असार मसान्तको दुई खर्ब १३ अर्ब १० करोडका तुलनामा ०६८ वैशाख मसान्तमा ५८ दशमलव १ प्रतिशतले वृद्धि भई तीन खर्ब ३६ अर्ब ९९ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा भने बैंकिङ क्षेत्रमा रहेको परिवत्र्य विदेशी मुद्रा सञ्चिति ०६८ असारदेखि ०६८ वैशाख मसान्तसम्म १६ दशमलव ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर तीन अर्ब ६३ करोड ३१ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति नौ दशमलव ३ प्रतिशतले ह्रास भएको थियो ।
त्यसैगरी ०६८/६९ को पहिलो दश महिना अवधिमा अपरिवत्र्य भारतीय मुद्रा सञ्चिति ८४ दशमलव ९ प्रतिशतले वृद्धि भई ५९ अर्ब ३९ करोड भारतीय रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति २० दशमलव ९ प्रतिशतले घटेको थियो । आव ०६८/६९ को दश महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमानस्तरले १० दशमलव सता महिनाको वस्तु आयात र ९ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।
रेमिट्यान्स आप्रवाहमा तीव्रता, सेवा व्यापार नाफामा सञ्चालन रहनु तथा नेपालको निर्यातसमेत करिब १६ प्रतिशतले वृद्धि भएका कारण नेपालको शोधनान्तर स्थितिसमेत उच्च बचतमा रहन सफल भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको १० महिनामा एक खर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १२ अर्ब ३२ करोड रुपियाँले शोधनान्तर घाटामा रहेको थियो । आव ०६८/६९ को दश महिनासम्म चालु खातासमेत ४४ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ११ अर्ब ३२ करोडले घाटामा रहेको थियो । खासगरी विप्रेषण आयमा भएको उल्लेख्य वृद्धि एवं सेवा खातामा भएको उल्लेख्य सुधारका कारण चालु खातामा उल्लेख्य सुधार आएको हो । अमेरिकी डलरमा समीक्षा अवधिमा शोधनान्तर बचत एक अर्ब २६ करोड २४ लाख डलर पुगेको छ भने चालु खाता बचत ५५ करोड ७६ लाख डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर घाटा १६ करोड ६८ लाख डलर पुगेको थियो भने चालु खाता घाटा १५ करोड ४४ लाख डलर पुगेको थियो ।
केही वर्षदेखि घाटामा रहेको खुद सेवा आय समीक्षा अवधिमा १३ अर्ब ४९ करोड रुपियाँले बचत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा खाता घाटा सात अर्ब ९३ करोड रुपियाँ रहेको थियो । सेवाअन्तर्गत अघिल्लो वर्षको पहिलो दश महिनासम्म पर्यटन आयमा १४ दशमलव ९ प्रतिशतले ह्रास आएकामा समीक्षा अवधिमा २६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, खुद ट्रान्सफर आय अघिल्लो वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा ३२ दशमलव ८ प्रतिशतले वृद्धि भई तीन खर्ब ३२ अर्ब ६४ करोड पुगेको छ । ट्रान्सफरअन्तर्गत पेन्सन आयमा शून्य दशमलव प्रतिशतले वृद्धि भई २३ अर्ब ६३ करोड रुपियाँ पुगेको छ ।
विप्रेषण आप्रवाह अघिल्लो वर्षको १० दशमलव ८ प्रतिशत वृद्धिका तुलनामा समीक्षा अवधिमा ३६ दशमलव ५ प्रतिशतले वृद्धि भई दुई खर्ब ८२ अर्ब दुई करोड रुपियाँ पुगेको छ । मासिक रूपमा हेर्दा चालु आवको चैत महिनाका तुलनामा वैशाख महिनामा विप्रेषण आप्रवाह ११ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिमा १३ दशमलव २ प्रतिशतले वृद्धि भएकामा समीक्षा अवधिमा २३ दशमलव ९ प्रतिशतले वृद्धि भई तीन अर्ब ५४ करोड २० लाख अमेरिकी डलर पुगेको छ ।

प्रतिक्रिया