बेल बन्यो आम्दानीको स्रोत

जाजरकोट, १२ असार । जिल्लामा पहिलोपटक बेलबाट जुस उत्पादन गरी स्थानीयले आम्दानीको स्रोत बढाएका छन । जिल्लाका भुर, जगतीपुर र कार्कीगाउँ गाविसका विभिन्न स्थानमा पाइने बेलबाट जुस उत्पादन गरी स्थानीयले आम्दानी लिन थालेका हुन् । जिविस, जिल्ला वन कार्यालय र महिला तथा बालबालिका कार्यालय जाजरकोटले बेल उपयोगका लागि यो अभियान थालेका हुन् । यसबाट स्थानीयको जीवनस्तर माथि उठ्ने विश्वास लिइएको छ ।

ती कार्यालयले जिल्लाका भुर–७ र ८ का १५ जना महिलालाई सहभागी गराएर बेलजुस प्रशोधनसम्बन्धी एकहप्ते तालिमसमेत दिएका छन् । तालिम महिला तथा बालबालिका कार्यालयको आयोजना तथा जिविस र जिल्ला वन कार्यालयको सहयोगमा सञ्चालन गरिएको थियो । यसअघि ती गाविसमा बेल प्रशोधन समिति गठन गरिएको थियो । हाल बजारमा सात सय मिलिलिटरको बेलजुसलाई एक सय रुपियाँ पर्ने गरेको छ । महिला तथा बालबालिका कार्यालय जाजरकोटका प्रमुख मोतीकुमारी विश्वकर्माले तालिमका क्रममा ल्याइएको ११ किलोग्राम बेलबाट १४ वटा सात सय मिलिलिटरको जुस उत्पादन भएको जानकारी दिइन् । उत्पादित जुसको एक भागमा तीन भाग पानी मिलाएर प्रयोग गर्न सकिने बताइएको छ । पानी नमिसाए गुलियोका कारण उक्त जुस प्रयोग गर्न नसिकने कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख विश्वकर्माले जुस उत्पादनमा सहयोग गर्न गाविसमा रहेका समिमितमा आबद्ध प्रत्येक व्यक्तिलाई दुई हजार पाँच सयका दरले अनुदान उपलब्ध गराउने बताएकी छन् । त्यसैगरी जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन तथा औजार पनि उपलब्ध गराइने कार्यालय प्रमुख विश्वकर्माले बताइन् । जसका लागि जिल्ला वन कार्यालयबाट सहयोग उपलब्ध हुने उनको भनाइ छ । कार्यालय प्रमुख विश्वकर्माका अनुसार ती क्षेत्रमा जुससम्बन्धी सहकारी नै बनाइनेछ । सहकारीमार्फत बेलको मात्र नभई आलुबखडा, लाली गुराँस, काफललगायतका फलफूलको पनि जुस उत्पादन गर्नसक्ने बताइएको छ ।
भुर–७ मा रहेको बेल प्रशोधन समितिका अध्यक्ष धर्मकला डाँगीले आफूले अब जुस प्रशोधन व्यवसाय सञ्चालन गर्ने बताएकी छन् । आफ्नै बारीमा रहेका बेल वर्षांैदेखि खेर गइरहेका तर आफूहरूकले यसबाट जुस बन्छ भन्ने थाह नपाएर करोडाँै रुपियाँ खेर गइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया