४८ लाख मोबाइल थप्दै टेलिकम

काठमाडौं, १२ असार । सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र चिनियाँ कम्पनी हुवावेबीच ४८ लाख जिएसएम मोबाइलका उपकरण जडान र सञ्चालन गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक अमरनाथ सिंह र हुवावेका तर्फबाट कमर्सियल म्यानेजर लियान सिचेङ तथा सेल्स डिपार्टमेन्टका निर्देशक रुभेस झाले संयुक्त हस्ताक्षर गरे ।
सम्झौताअनुसार हुवावेले अत्याधुनिक प्रविधिका ४८ लाख जिएसएम मोबाइल टेलिफोनका सम्पूर्ण उपकरण उपलब्ध गराई जडानसमेत गरेर सञ्चालनमा ल्याउने छ । यो सबै काम हुवावेले सम्झौताको मितिले दुई वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने छ । त्यस्तै उपकरण सञ्चालन भएका मितिले पाँच वर्षसम्म सम्पूर्ण मर्मत सम्भारका कार्य गर्ने सम्झौतासमेत दुई पक्षबीच भएको छ । आयोजना सम्पन्न गर्नका लागि करिब ६ अर्ब ७५ करोड रुपियाँ लगानी हुने टेलिकमले जनाएको छ ।
दुई पक्षबीच सम्झौता हुने उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले नेपाल टेलिकमका लागि ऐतिहासिक महत्त्व राख्ने यो आयोजना कार्यान्वयनले मागअनुरूप मोबाइल सेवा उपलब्ध गराउन तथा बजारमा प्रतिस्पर्धा गर्न सहज हुने बताए । आयोजना समयमै सम्पन्न हुने र उपभोक्तालाई अझ अत्याधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउन सफल हुने विश्वास उनले व्यक्त गरे । सो अवसरमा हुवावे कम्पनीका कार्यकारी अधिकृत बिल याङले नेपाल टेलिकमसँग हुवावे कम्पनीले करिब १० वर्षदेखि सहकार्य गरिरहेको र यो आयोजना व्यावसायिक रूपमा कार्यान्वयन गरी समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
टेलिकमले अन्तर्राष्ट्रिय बोलपत्रबाट हुवावे कम्पनी छनोट गरेको थियो । सम्झौताअनुसार आगामी चार महिनाभित्र हुवावे कम्पनीले प्रथम चरणका सम्पूर्ण उपकरण जडान कार्य सम्पन्न गरिसक्ने छ । टेलिकमको यो आयोजना हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । आयोजनाको कार्यान्वयन सुरु भएपछि कम्पनीको जिएसएम मोबाइल सेवाको व्यापक विस्तार हुनका साथै सेवाको गुणस्तर पनि उल्लेखनीय रूपमा वृद्धि हुने टेलिकमले दाबी गरेको छ ।

प्रतिक्रिया