खोजखबर

यसरी तोडियो गोरखा जेल

सौर्य अनलाइन २०६९ असार १२ गते १:३९ मा प्रकाशित


गोर्खाको भुजेल परिवारमा जन्मेकी उमा भुजेलले सानैदेखि समाजमा हुने वर्गीय विभेदको साक्षात्कार राम्रैसँग गरिन् । उनी स्वयं वर्गविभेदको सिकार भएको ठान्छिन् । भुजेलहरूलाई गाउँका सामन्त र कथित उपल्लो जातका मानिसले हेपेको देख्दा उनमा विद्रोहको ज्वाला उर्लिन्थ्यो, जो पछि गएर माओवादी क्रान्तिको अंश बन्न पुग्यो  । समाजमा भएका विभिन्नखाले विभेदको अन्त्य कसरी होला भन्ने उनको मनमा लागिरहन्थ्यो । चार पाँच कक्षामा पढ्दादेखि नै सांस्कृतिक अभियानबाट उनको वर्गविभेदविरोधी यात्रा सुरु भयो ।
कम्युनिस्ट पार्टीमा लागेपछि जनताका सबै प्रकारका उत्पीडन समाप्त हुन्छन् भन्ने ठानेर कलिलै उमेरमा नेकपा (माओवादी) को बन्दुक बोकेकी उमाले समाजमा भएको अन्याय र अत्याचारका विरुद्ध लड्नुपर्छ भन्ने सन्देश कम्युनिस्ट शिक्षाबाट पाएकी थिइन् । फलत: परिवारकै सहयोगमा अठार वर्षको उमेरमा राजनीतिमा होमिइन् । ०५२ साल थियो, उनी भूमिगत राजनीतिमा गएको वर्ष ।
राजनीतिकै क्रममा ०५६ को कार्तिकमा गोर्खाको तान्द्राङबाट पक्राउ परिन् । उनलाई १३ दिनसम्म गोर्खा सदरमुकाममा राखेर त्यहाँबाट रातारात हिँडाइयो । तत्कालीन सुरक्षानीतिअनुसार उमालाई प्रहरीले कता लैजाँदै छ भनेर थाहा नहुनु स्वाभाविक थियो । पछि थाहा पाउँदा उनीे तनहुँको डिएसपी क्वार्टरमा थिइन् । त्यहाँ चार महिना राखेपछि उनलाई पुन: गोर्खा लगिएको थियो ।
हुन त उनका हात हत्कडीले बाँधिएका थिए, आफुसँग प्रहरी कति त्रस्त थिए भन्ने कुरा उमाको स्मरणमा अहिले पनि ताजै छ । उनलाई फलामे सांलाले हातखुट्टा बाँधेर महिला प्रहरी सँगै बस्थे रे ।
उमा पक्राउ पर्दादेखि नै उम्कने बाटो खोज्दै थिइन् । उनी बसेकै घरका युवक पनि उनीसँगै पक्राउ परेका थिए । ‘मलाई र म बसेको घरको भाइलाई एउटै हत्कडी लगाइएको थियो, बाटैबाट भागौँ भनेको, भाइले मानेनन्,’ उमा भन्छिन् । उनलाई लागेको थियो, ‘यसै पनि यिनीहरूले मार्ने नै हुन् तर सजिलै मर्नु हुँदैन, बाँचियो भने क्रान्ति गरिएला । उनको मन सधैँभरि कसरी उम्कने भन्नेमा नै केन्द्रित भइरहन्थ्यो ।
जेलमा रहँदा महिला–पुरुष आस्थाका बन्दी नजिक रहन्थे । एक दिन प्रहरी हतियार थन्क्याएर बाहिर गएको समयमा उनले साथीहरूलाई जाऔँ भनिन् । तर, उनका साथीहरूले आटँ गरेनन् र उनको योजना सफल भएन ।
प्रहरी उमासँग त्रस्त भएरैे होला, उनलाई जेलमा लाँदा अरू माओवादी बन्दीसँग भेट नहोस् भनेर सबै महिला बन्दीलाई अन्यत्र सारियो । समयसँगै फेरि त्यहाँ आस्थाका बन्दी आउन थाले । उमाले युद्धको मैदानमा मात्र होइन, जेलमा पनि नेताको भूमिका निर्वाह गरिन् । उनी जेलमा आएका अरूलाई पनि बाहिर गएर क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्छ भनेर सम्झाइरहन्थिन् ।
जहाँ असजिलो हुन्छ त्यहाँ सजिलो पनि हुन्छ । नराम्रोमा राम्रो पनि हुन्छ, खोज्न जान्नुपर्छ । उनले माक्र्सवादबाट सिकेको संघर्षको कखरा हो यो । र, पार्टीको प्रशिक्षण र अध्ययनमा पाएको ज्ञानलाई उनले जेल जीवनमा भरपुर उपयोग गरिन् ।
सुरुमा ५ जनाको टोली भए पनि पछि एकजना थपिए । उमा त्यस टोलीकी नेता थिइन् । आफूहरूले जेल ब्रेक गर्न लागेको कुरा उनले पार्टीलाई जानकारी गराइन् । पार्टीले हतार नगर्न भनेको थियो तर मानेनन् उनीहरूले ।
जेलमा प्रहरीका अनेक रूप देखिन् उनले । प्रहरी तीन प्रकारका स्वभाव भएका थिए । कोही कुटिल रूपमा तिमीहरू छोरीजस्तै हौ भनेर फकाउने र कुरा खोतल्न खोज्ने । अर्को– अत्यन्तै क्रूर रूपमा प्रस्तुत हुने, खाउँला जस्तै गरेर घुरेर हेर्ने । तेस्रो– साँच्चै मानवीय हृदय भएका, लुकीलुकी खान दिने ।
उमाका अनुभवमा युद्ध जित्नलाई अनेक थोक गर्नु पर्छ । भन्छिन्, ‘प्रहरीसँगको शत्रुतापूर्ण सम्बन्धलाई मित्रतापूर्ण व्यवहार गर्‍यौँ, जसले गर्दा प्रशासनको शंका हामीमाथि रहेन । वस्तुस्थितिको अध्ययन गर्न सजिलो पनि भयो ।’
जेल ब्रेकको काम सुने बुझेजति सरल थिएन । साँच्चै डरलाग्दो मृत्युलाई रोजेका थिए उनीहरूले । भन्छिन्, ‘धैरै अभ्यास गर्‍यौँ । महिला मात्र निस्कने वा महिला र पुरुषसँगै निस्कने, बाहिर जाँदा सबै त मर्दैनौँ कोही न कोही त पक्कै बाँच्छौँ भन्ने थियो । पर्खालबाट हाम फाल्ने कि उपचारका लागि अस्पताल लाँदा हतियार खोसेर भाग्ने ? यस्ता अनेक सोचाइ नआएका होइनन् । महिला र पुरुषको नियमित हुने संयुक्त कार्यक्रममा प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर हतियार खोसेर भाग्नेजस्ता धैरै सोचाइ आए, ती फेल भए ।’
‘अन्तत: जेलको सुरुङ खन्ने टुंगोमा पुग्यौँ हामी । १११ औँ माओजयन्तीको दिन पुस ११ देखि कामको आरम्भ गर्ने र फागुन १ गते बाहिर निस्कने गरी तीन महिनाको योजना बन्यो । भित्र साधनस्रोत केही थिएन त्यतिबेला र बाहिरको अवस्था पनि थाहा थिएन । मात्र यहाँबाट जसरी पनि निस्कनुपर्छ भन्ने निष्कर्ष थियो । एउटा फलामे रड पनि थियो,’ उमा भन्छिन् ।
को आउँदा के भन्ने भनेर सांकेतिक भाषा तय गरे उनीहरूले । बेलाबेला छड्के अनुगमन भइरहने हुनाले पनि धेरै नै सचेततापूर्वक उनीहरूको काम हुँदै थियो । त्यति बेला उनको टोलीमा पाँचजना मात्र थिए, पछि एन्जिला थपिइन् । उमाको कमान्डमा रहेको सो टोलीका सदस्यहरूले प्रहरीले शंका गर्नै नसक्ने गरी आफ्ना व्यवहार प्रस्तुत गर्थे । कामको विभाजन यसरी गरियो :
ङ्ग कामको संयोजन, निर्देशन र अनुगमन (मुख्य नेतृत्व) : उमा भुजेल ।
ङ्ग दुस्मनको मुख्य सेन्ट्री : मिना मरहठ्ठा ।
ङ्ग सेन्ट्री सहयोगी : रिता विक ।
ङ्ग सुरुङ खन्ने मुख्य काम : कमला नकर्मी ।
ङ्ग क्यामोफ्लाइज गर्ने, माटोको व्यवस्थापन गर्ने, फौजी भाषा : सञ्जु अर्याल ।
ङ्ग महिला बन्दी हेर्ने : एन्जिला विक ।
प्रशासनले निगरानी नबढाओस् भनेर जेलमा रहँदा उनीहरूले आफ्ना माग अलि शिष्ट रूपमा अगाडि बढाए । न सुरुङ कसरी खन्ने र कत्रो बनाउने भन्ने थाहा थियो न त खनेर कता पुगिन्छ भन्ने नै । जे होस्, काम सुरु गर्नुपर्छ भनेर सबै एकाग्र भए । सधँै दिउँसो तीन बजेबाट खन्ने सहमति भयो । योजनाअनुसार वरिपरि फूलको बिरुवा र तरकारी रोपियो, जसले गर्दा त्यहाँ अरू जाने सम्भावना हुँदैनथ्यो । उता, योजना र निगरानी पनि कडा थियो ।
उमाको टिमलाई जेलको पर्खालको जगको ढुंगा निकालेपछि सजिलो हुन्छ भनेर थाहा थियो । त्यसैअनुरूप उनीहरू जग भेट्न आतुर भए । खन्न त एक महिना लगाएर दुई मान्छेको उचाइबराबर (करिब १२ फिट) खने तर त्यो अनुकूल भएन । जेल प्रशासनले त्यसमाथिको पर्खाल थप्न लाग्यो । आपत् पर्‍यो, अब के गर्ने ? उनीहरूले तरकारी लगाएको ठाउँमा जान हुँदैन भन्ने र कामदारलाई रोक्ने जुक्ति निकाले ।
उमा भन्छिन्– ‘समस्या त थियो, जेलमा सधैँ हामीले भनेको त मान्दैनथे । हामीले आफ्नो काम रोक्यौंँ । एक महिनापछि फेरि सुरु गर्‍यौँ । हामी यसो अनुकूल समय हेर्दे खन्दै गथ्र्यौँ र फूलको डाँठले छोपिदिन्थ्यौंँ । अनुभवको कमीले गर्दा पहिले खनेको खाल्डो र मुख ठूला भए । पछि आधा पुर्नुपर्‍यो । झोला बुन्न भनेर बाँस मगायौँ र त्यसले अर्को खाडल खन्यौँ । त्यो खाडल ट्वाइलेटको मुख जत्रो, मान्छे मात्र छिर्ने खालको थियो । त्यसैगरी, अर्को खाल्डो खनेर आलो माटो व्यवस्थापन गर्‍यौँ । तरकारी र फूल रोपेका कारण खनखान भइरहने हुँदा शंका भएन । पछि खाल्डोमाथि क्यारमबोर्डले छोपेपछि सजिलो भयो ।’
०५७ चैत १७ मा उनीहरूले सुरुङबाट बाहिरको क्षितिज देखे । अब निस्कन सकिन्छ भन्ने लागेपछि पुरुष बन्दीलाई निस्कन भने । तर, त्यसका लागि शौचालय फुटाएर महिला बन्दी भएतिर आउनुपर्ने थियो । पुरुषहरूले उनीहरूले जत्तिको आँट गरेनन् । आफ्नो सबै सामान एकएक गरेर घरपरिवारमा पठाइसकेका थिए यी जेल तोडुवा क्रान्तिकारीहरूले ।
‘चैत्र १७ गते एकातिर हामी खुसीले फुरुंग भएका थियौँ भने अर्कोतिर साह्रै नै आत्तिएका पनि थियौंँ,’ उमाले बहादुरीको बयान गरिन्, ‘एक महिनादेखि कति बेला प्रहरी निष्क्रिय हुन्छ भनेर रातिको समय अनुगमनमा लगाइयो ।’
पर्खालबाट बाहिरसम्मको निकास खोले पनि उनीहरूलाई राखिने घरबाट पर्खालसम्मको निकास भने बनाइसकिएको थिएन । भाग्न राति मात्रै सम्भव भएकाले त्यो निकास पनि उनीहरूले बनाउनै पथ्र्यो । आफू ठूलै योजनामा भएकाले पर्खालको काम गर्ने कामदार आउँदा फलाम काट्ने हेक्सा ब्लेड किनेर राखेका थिए । त्यसैले ट्वाइलेटको रड काटेर निस्केका थिए ।
निस्कने दिन सबैसँग बसेर खाजा खाए । अब हामीलाई सरुवा गर्न सक्छ, तापाईंहरू लिनुस् भनेर बाँकी सामान सबैलाई बाँडे । साँझ सात बजेपछि अरू महिला बन्दीलाई अलमल्याउन तीनजना गाउन लागे । उमा दुईजना साथी लिएर झ्याल काट्न गइन् । रड काट्न करिब तीन घन्टा लागेछ ।
उमा भन्छिन्, ‘बाहिर निस्केको त सबैतिर उज्यालो, हामी निस्केको ठाउँ मात्र अँध्यारो रहेछ । अनि सर्पजस्तै घिस्रेर अगाडि गयौँ । माथिमाथि प्रहरी तल हामी छायाँमा । पर्खाल नाघ्दा एकैपटक नाघियो । तर, प्रहरीले फायरिङ गरिहाल्यो । एक्कासी म त कासन गर्न थालेछु– खबरदार † माओवादी आयो, तिमीहरूलाई घेरा हालिसक्यो, टोली फायर, माइन चार्ज गर, माओवादी जिन्दावाद भनेपछि उनीहरू शान्त भए । डर त उनीहरूलाई पनि थियो । हामी कान्ला नाघ्दै दौडियौ । करिब २५–३० मिनट दौडिएपछि स्थिति शान्त भयो । चारपाँच घन्टाको हिँडाइपछि उज्यालो हुँदा बक्राङ गाउँ पुगियो । भोलिपल्ट पार्टी सम्पर्कमा पुगियो ।’
– चमिना भट्टराई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय