होसमा नआईकनै बिदा भए बल


काठमाडौं : कवि कृष्णभूषण बलको ६४ वर्षको उमेरमा निधन भएको छ । चार दिनअघि एक्कासि मस्तिष्काघात भएपछि विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको सोमबार साँझ ७ बजेतिर निधन भएको हो ।
कोमामा रहेका उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । होसमा नआईकनै उनको निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
२००४ सालमा इलाममा जन्मेका कवि बल पछिल्लो समय सपरिवार विराटनगर बस्दै आएका थिए । उनको परिवारमा पत्नी, छोराबुहारी र नातिनी छन् । छोराबुहारी अमेरिकामा छन् । कवि बल पत्नी र नातिनीका साथ बस्दै आएका थिए ।
राष्ट्र बैंकको अवकाशप्राप्त अधिकृतसमेत थिए बल । ‘भोलि बास्ने बिहान’ उनको पहिलो कवितासंग्रह हो भने ‘काठमाडौं एक्लैले काठमाडौं बोक्न सक्दैन’ र ‘चैतको हावा’ उनका सर्वाधिक चर्चित कविता हुन् । आफ्नो लेखनीका कारण उनी पञ्चायतकालमा विद्रोही शैलीको कविका रूपमा समेत परिचित थिए ।
कविता वाचनकलामा कुशल मानिएका बल कुनै बेला देशान्तर पत्रिकामा सुनाखरी लामाका नामबाट स्तम्भसमेत लेख्थे । (सौस)

प्रतिक्रिया