अर्को निर्वाचनसम्म यही सरकार रहन्छ

काठमाडौं, ११ असार । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले अर्को निर्वाचन सम्पन्न नहुँदासम्म आफू नेतृत्वकै वर्तमान सरकार रहिरने बताएका छन् ।
ब्राजिलमा सम्पन्न सम्मेलनमा सहभागी भएर आज स्वदेश फिर्ता भएका भट्टराईले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अर्को निर्वाचन सम्पन्न गरेर त्यस पछि बन्ने बन्ने नयाँ नेतृत्वलाई सरकार हस्तान्तरण गर्ने बताए । ‘अर्को सरकार बनाउने बारेमा सोंचेकै छैन,’ उनले भने, ‘मैले राजीनामा दिए भने मुलुकमा संवैधानिक संकट निम्तन्छ ।’
उनले प्रधानमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पार्दै भने, ‘मैले राजीनामा दिए भने माघ–१९ दोहरिन्छ ।’
आफूले कहीले पनि अर्को नयाँ राष्ट्रिय सरकार बनाउने बारेमा केही नभनेको बताउदै भट्टराईले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिन तयार रहेको बताए । उनले अर्को सरकारका नाममा केही दलहरुले ‘बालहठ’ गरेको आरोप लगाए ।
‘आफ्ना खेलाउनका बारेमा साना बालबालिकाले हठ गरे झै दलहरुले हठ गरेका छन्,’ प्रधानमन्त्री भट्टराईले भने, ‘बालबालिका थाके जस्तै उहाँहरु पनि थाकेर फेरि आउनु हुन्छ ।’
प्रधानमन्त्री भट्टराईले सरकार छाड्न परेको दबावलाई वेवास्ता गर्दै विपक्षी दलहरुले सहमतिका लागि मार्ग प्रसस्त गर्न गरेको आग्रहलाई अस्वीकार गरिदिएका छन् ।
संविधानसभा नव्युतने बताएका उनले त्यो संभव कुरा नगर्न आग्रह गरेका छन् ।
पार्टी फूट ठूलो रुप होइन
एकीकृत माओवादी पार्टी फूटलाई आफूले ठूलो रुपमा नलिएको बताएका भट्टराईले फूटेर गएका साथीहरु फर्केर आउने दाबी गरे । एमाओवादीका उपाध्यक्ष समेत रहेका उनले भने, ‘यो सामान्य घर झगडा हो, श्रीमान–श्रीमतिको झगडा हो ।’
घर झगडा हुँदा केही समय बाहिर गएर पुनः घरमै फर्केर आउने गरेको समाजमा परम्परा रहेको भन्दै भट्टराईले फूटेर गएका बैद्य समूहहरुपनि फर्किने बताए ।

प्रतिक्रिया