वैदेशिक रोजगारका जटिलता

रोजगारीको खोजीमा नेपाली युवा बिदेसिने क्रम बढ्दै गएको छ । सीमित मात्रामा बिदेसिने नेपाली युवाको संख्या माओवादीको सशस्त्र विद्रोह सुरु भएपछि ह्वात्तै बढेको हो । मुलुकमा शान्तिसुरक्षा तथा अमनचैन कायम हुन नसक्नु, उद्योग, कल–कारखाना र अन्य व्यवसायमा रोजगारी सिर्जना हुन नसक्नुजस्ता विभिन्न कारणले नेपाली युवाले विदेशलाई नै आयआर्जनको थलो बनाउन थालेका हुन् । अहिले नेपालबाट वैदेशिक रोजगारीमा गएको जनशक्तिले नेपालको मूल अर्थतन्त्र धानिरहेको छ । आफ्नो श्रम बेचेर युवाले नेपाललाई समृद्ध बनाउने भरमग्दुर प्रयास गरिरहेका छन् । तर, नेपाल भने राजनीतिक र संवैधानिक संकटका कारण आर्थिक अवनतिको बाटोतर्फ हिँड्दैछ । जसले गर्दा विदेश गएर श्रम बेचिरहेका युवाको श्रममाथि स्वदेशका ‘ठालु’हरूले समेत शोषण गरिरहेको अवस्था छ । यो अवस्थाबाट मुक्ति हुने उपायको सुनिश्चितताका लागि अहिलेसम्म कुनै पहलकदमी भइसकेको छैन । जबसम्म राजनीतिक र संवैधानिक संकटबाट राष्ट्रले मुक्ति पाउँदैन साथै लगानीको सुनिश्चितता र शान्तिसुरक्षाको अवस्थामा सुधार हुँदैन तबसम्म युवाको श्रमको मूल्यमा खेलबाड हुने कार्य रोकिँदैन ।
श्रम बेच्न बिदेसिने नेपाली युवाले आर्थिक, शारीरिक र मानसिक पीडा भोग्नु परिरहेका खबर आइरहेका छन् । विदेशमा मात्र होइन, स्वदेशमा पनि उनीहरू शोषणमा पर्ने गरेका छन् । यसको रोकथामका लागि नेपाल सरकारले उल्लेख्य काम गर्न सकेको छैन । अहिले आएर वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार प्रशासनको आधुनिकीकरण तथा संस्थागत सुदृढीकरण गर्नेतर्फ सरकार लागेको बताउँदैछ । जबकि यो काम आजभन्दा धेरै वर्षअगाडि भइसक्नु पर्ने थियो । तर, ढिलै भए पनि सरकारले राम्रो कामको थालनी गरेर केही गर्छ कि भन्ने सन्देश दिएको छ । यो कार्यलाई निरन्तरता दिने र सम्बन्धित निकायसँग समन्वय गरेर वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनु सरकारको कर्तव्य हो । कर्तव्य विमुख नभई सरकारले वैदेशिक रोजगारलाई उच्च प्राथमिकतामा राखेर यसमा देखिएका सबैखाले विकृतिहरू हटाउनुपर्छ । त्यसपछि मात्र वैदेशिक रोजगारी सुरक्षित बन्छ । होइन भने रेमिट्यान्समा निर्भर हाम्रो अर्थतन्त्रको मेरुदण्ड नै भाँच्चिने सम्भावना रहन्छ ।
विदेशमा श्रम बेच्न जानु नेपाली युवाको बाध्यता हो । तर, यही बाध्यतालाई ठगीको माध्यम बनाएर विभिन्न व्यक्ति धनी बनिरहेका छन् । वैदेशिक रोजगारीकै सिलसिलामा आर्थिक, शारीरिक र मानसिक शोषणमा परेर आफ्नो सर्वस्व गुमाउने युवाको संख्या पनि बढ्दै गएको छ । जग्गा–जमिन र घर बेचेर २/४ पैसा कमाउन बिदेसिने युवालाई स्वदेशमै बढी शोषण र उत्पीडन हुने गरेको छ । बडो मुस्किलले दलालमार्फत् विदेश पुगेका युवाले पनि भनेको काम र ज्याला नपाउने अवस्था छ, जसले जुन काम दिलाई दिन्छु भनेर पठाएको हो उसलाई उक्त काम नदिएबापत सरकारले कुनै कारबाही गर्न सकेको छैन । थोरै खर्चमा पुगिने देशमा पनि अत्यधिक रकम असुल्ने दलालहरूलाई अनुगमन गर्ने, निगरानीमा राख्ने र कारबाही गर्ने कानुन तथा निकाय नै नभएको जस्तो अवस्था छ । यस्ता सबै विकृति र विसंगतिलाई निर्मूल गर्दै सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित र शोषण मुक्त बनाउनैपर्छ । अन्यथा हामी स्वदेशमा मात्र होइन, विदेशमा पनि बदनाम हुनेछौँ र युवाहरूको नजरमा नेपाल सरकार नालायक सावित हुनेछ ।

प्रतिक्रिया