सामुदायिकबाट सधैँ शतप्रतिशत उत्तीर्ण

बाग्लुङ, ११ असार । जिल्लाको नारायणस्थान–५ स्थित गणेश माध्यमिक विद्यालय न सुविधासम्पन्न न त सदरमुकाममै पर्छ । तापनि, उक्त विद्यालयले एसएलसी परीक्षामा शतप्रतिशत नतिजा ल्याउँदै आएको छ ।

सामुदायिक विद्यालयको नतिजा राम्रो हुन्न भन्ने आमधारणालाई विद्यालयले गलत सावित गरिदिएको छ । विद्यालयले लगातार एसएलसी परीक्षामा शतप्रतिशत उत्तीर्ण गराएर नमूना बन्न सफल भएको हो । ०६८ को एसएलसीमा सामुदायिकबाट ३६ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
विगत चार वर्षदेखि नै उक्त विद्यालयका विद्यार्थी अनुत्तीर्ण भएका छैनन् । ०६८ को एसएलसी परीक्षामा ४४ परीक्षार्थी सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् भने दुईजना विशिष्ट श्रेणी र १४ प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए । उनका अनुसार सन्दीप ढकालले ८६ दशमलव १२ प्रतिशत अंक ल्याएका छन् । विद्यालयका विद्यार्थीले ०६५ मा पहिलोपटक एसएलसी परीक्षा दिएका थिए ।
विद्यालयकी प्रधानाध्यापक सुवर्णकुमारी श्रेष्ठले विद्यालय, शिक्षक र विद्यार्थीले मिहिनेत गरेका कारण निरन्तर शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताइन् । उनले भनिन्, ‘यहाँका शिक्षकले छोराछोरीलाई अन्यत्र पढाउन पाउँदैनन्, त्यसले पनि बढी गम्भीर भएर काम गर्छन् सहकर्मीहरू ।’
विद्यालयमा वरिपरिका मात्र होइनन्, सदरमुकामलगायत टाढाबाट समेत विद्यार्थी आउने गरेका छन् । टाढाबाट आउने तथा एसएलसी दिने विद्यार्थीलाई होस्टेलमै राखेर पढाउने गरिएको छ । ‘बाहिरबाट आउने र पायक नपरेका विद्यार्थीलाई होस्टेलमै राख्ने व्यवस्था गरेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘छोराछोरी होस्टेलमा राखेर बाबुआमा विदेशसमेत गएका छन् ।’ परीक्षाको समयमा ८० जना हाराहारीमा होस्टलमा राख्ने गरिएको छ भने अहिले ३१ जना छन् ।
एसएलसीमा सहभागी भएको दुई वर्षसम्म एसएलसी टेस्ट परीक्षा दिएपछि विद्यार्थीलाई होस्टेलमै राखेर पढाउने गरिएको थियो । अहिले सबैलाई होस्टेल खुला गरिएको छ । सरकारी दरबन्दीले मात्र नपुगेर स्थानीय स्रोतमा समेत शिक्षक राखेर कक्षा सञ्चालन भइरहेको व्यवस्थापन समितिले जनाएको छ । विद्यालयमा पाँच सय ८९ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया