४७ बालिकाले क्षमता देखाए

दाङ, १० असार । एकै उमेरका सानासाना नानीहरू । कोही नेपाली गुन्यु चोली र फरिया, नेपाली टोपी, टिसर्ट, पाइन्ट त कोही लेहेङ्गामा सजिएका । कसैले सुरिलो स्वरमा मुग्ध पार्दै गीत गाए भने कोहीले कलिलो बारुले कम्मर मर्काउँदै दर्शकदीर्घाको ताली तथा प्रशंसा पाए ।
नेप्लिज काउन्सिल र इफो इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा लिटिल मिस वल्र्ड दाङ २०१२ को छनोट प्रतियोगिताअन्तर्गत शनिबार दाङको घोराहीमा यी साना नानीले आफूमा निहित ट्यालेन्ट अभिभावक, निर्णायक, दर्शकसमक्ष प्रस्तुत गरेका हुन् । ।
कार्यक्रममा सुन्दरी बन्न केके गर्नुपर्छ, क्याटवाक र अन्य कार्यक्रम गर्ने बेलामा मञ्चमा कसरी प्रस्तुत हुने, कसरी अरूका सामु आफ्नो प्रतिभा देखाउने, निर्धक्कसँग परिचय दिनेजस्ता विभिन्न चरण पार गर्दै उनीहरूले अन्तिममा ट्यालेन्ट प्रस्तुत गरेका हुन् । विगत एक महिनादेखि उनीहरूलाई यससम्बन्धी विभिन्न प्रस्तुति सिकाइँदै आएको थियो ।
प्रतिभा र प्रस्तुतिका आधारमा उनीहरूको छनोट गरिने कार्यक्रमका कोर्डियोग्राफर निर्जन थापाले बताए । उनले भने, ‘उत्कृष्ट तीनजनालाई ‘लिटिल मिस वल्र्ड’को काठमाडौंमा हुने प्रतियोगितामा सहभागी गराउँछौँ ।’
ट्यालेन्ट राउन्डको निर्णायकमा ब्युटिसियन कल्पना श्रेष्ठ, नृत्य–निर्देशक निर्मल विक र मंगला श्रेष्ठ, गायक मथुराप्रसाद श्रेष्ठ छन् । मिस लिटिल वल्र्ड दाङ २०१२ को अन्तिम छनोट प्रतियोगिता १६ असारमा हुनेछ । प्रतियोगितामा ८ देखि १३ वर्ष उमेर समूहका ४७ बालिकाको सहभागिता छ ।

प्रतिक्रिया