अध्यक्ष फेर्न नपाएपछि राजीनामा

काठमाडौं : नेपाल चलचित्र प्राविधिक संघको कार्य समितिबाट अध्यक्षबाहेक अन्य बहुमत पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । शनिबार संघले आयोजना गरेको विशेष साधारणसभामा उनीहरूले राजीनामा दिएका हुन् । अध्यक्ष सन्तु तामाङविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका बहुमत पदाधिकारीले विशेष साधारणसभाबाट अध्यक्ष फेर्ने तयारी गरेका थिए । तर, आधाभन्दा बढी साधारण सदस्य उपस्थित नभइदिनाले उनीहरूले अध्यक्ष फेर्न पाएनन् । राजीनामा दिनेमा उपाध्यक्षद्वय मनोज केसी र शेषराज सुवेदी, महासचिव अनन्त तिमल्सिना, सचिव केशव घिमिरे, कोषाध्यक्ष रत्न ढकाल तथा सदस्यहरू गीता पौडेल, अन्जु लामा, दिव्य सुवेदी, तारा थापा किम्भे, नारायण श्रेष्ठ, नीरज कँडेल छन् ।
‘सबैजना उपस्थित नभएकाले अध्यक्षलाई हटाउन बहुमत पुगेन, त्यसैले आफैँले अविश्वास प्रस्ताव लगेको अध्यक्षको कार्य समितिमा बसेर काम गर्नुभन्दा छोड्नु राम्रो देखेका हौँ,’ सचिव केशव घिमिरेले भने । अब कार्य समिति विघटन भएको छ । तीन महिनाभित्र अर्को कार्य समिति चुनाव गराउने गरी सल्लाहकारलाई अधिकार दिइएको र त्यसका लागि चुनावी कार्य समितिसमेत तय गरिएको घिमिरेले जानकारी गराए । अध्यक्ष सन्तुले संघको हिसाबकिताबमा आर्थिक घोटाला गरेको भन्दै समितिका बहुमत सदस्यले उनीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएका थिए । (सौस)

प्रतिक्रिया