बाबुले दिएको जग्गा छोराले खोसे

दाङ, १० असार । धार्मिकस्थल स्वर्गद्वारीको नाममा बाबुले दान गरेको जग्गा छोराले बिक्री गरेपछि आश्रम व्यवस्थापन रुष्ट बनेको छ । घोराहीका पद्मराज पाठकले दान गरेको जग्गा उनकै छोरा शंकरराजले बिक्री गरेको खुलासा भएपछि आश्रम व्यवस्थापन अदालतको ढोका ढकढक्याउने तयारीमा लागेको छ ।

आश्रम व्यवस्थापनका अनुसार उमेर ढल्किँदासम्म छोरा नजन्मिएपछि ‘स्वर्गद्वारीका महाप्रभु’का नाममा पद्मराजले तपस्या गरेका थिए । ‘पुत्र प्राप्त होस्’ भन्ने महाप्रभुको आशिष पाएपछि खुसी भई उनले घोराहीको १९ बिघा १२ कठ्ठा जग्गा दान गरेका थिए । दान गरे पनि स्वर्गद्वारीको नाममा पास नगरिदिएको घोराहीको कपासीस्थित उक्त जग्गा शंकरराजले भूमाफियाको साँठगाँठमा बिक्री गरेको आश्रमका पदाधिकारी बताउँछन् ।
पद्मराजले घोराही–तुलसीपुर सडकखण्डको कपासी बगियास्थित १९ बिघा १२ कठ्ठा जमिन २८ जेठ ०१५ मा आश्रमका नाममा दान गरेका थिए । पद्मराजले शंकरलाई समेत घरायसी तमसुकमा साक्षी राखेका थिए । पद्मराजका दुई छोरा शंकर र शिवराज छुट्दासमेत उक्त जग्गा स्वर्गद्वारी आश्रमका नाममा रजिस्ट्ेरसन दिने भनी अंशबन्डा नभएको पाठक परिवार स्रोतले जनाएको छ ।
भूमिसुधार कार्यालयले ०३० सालमा स्वर्गद्वारीको सम्पूर्ण जमिन व्यक्तिको नामबाट आश्रमको नाममा गर्ने निर्णय गरेपछि साधु र भक्तका नामको जग्गा आश्रमको नाममा मालपोत कार्यालयमा रजिस्ट्रेसन भएको थियो । सोही समयमा पद्मराजले दान दिएको जमिन आश्रमको नाममा रजिस्ट्रेसन गर्न धेरैपटक अनुरोध गरे पनि शंकरराजले बेवास्ता गरेको आश्रमका प्रवक्ता केबी मसाल बताउँछन् ।
तत्कालीन अवस्थामा शंकरराज गण्डकी अञ्चलाधीश भएको र अञ्चलाधीशकै आदेशमा जग्गा आश्रमलाई दिनुको साटो आºनो नाममा नामसारी गरी झुक्याएको खुलासा भएको छ । शंकरराजका भाइ शिवराजका छोरा राकेशले आफूहरूलाई ठूलोबुबा (शंकरराज)ले थाहै नदिई बाजे (पद्मराज)ले दान गरेको जग्गा बिक्री भएको थाहा पाउँदा दु:ख लागेको बताएका छन् । ‘अब म अदालत जान्छु,’ उनले भने, ‘दान दिइसकेको जमिन बिक्री गर्नु ठूलो पाप हो ।’ उक्त जग्गा फिर्ता गराई आश्रमलाई नै चढाउने उनी बताउँछन् ।
आश्रम व्यवस्थापन समितिका सदस्य रोमप्रसाद रेग्मीको अगुवाइ र भूमाफियाको साँठगाँठमा ८० हजार रुपियाँ प्रतिकठ्ठाका दरले शंकरराजसँग जग्गा खरिद गरेका अहिले अन्योलमा छन् । करोडौँ मूल्यमा बिक्री हुन सक्ने उक्त जग्गा विवादमा परेपछि खरिदकर्तामा खैलाबैला मच्चिएको छ ।
आश्रम व्यवस्थापन समितिले जग्गा फिर्ता गराउन अदालतसम्म जाने निर्णय गरिसकेको छ । शंकरराज अहिले काठमाडौंको पानीपोखरीमा बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि दाङ आएका छैनन् भने पद्मराजको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया