मत-विमत

आमाबाट लुकाएर पढेका किताबहरू

सौर्य अनलाइन २०६९ असार ९ गते २:२८ मा प्रकाशित

आफैँले ११/१२ वर्षको उमेरमा पढेको एउटा पुस्तकले ममाथि गहिरो प्रभाव पार्‍यो । हाम्रो घरको एउटा कुनामा त्यो पुस्तक, अगाडिका केही पाना च्यातिएको स्थितिमा फ्याँकिएको थियो । ज्ञान हुर्किसकेपछि मैले थाहा पाएँ– त्यो पुस्तकको नाम दुर्गेशनन्दिनी रहेछ, त्यसका लेखक प्रसिद्ध बंगाली उपन्यासकार बंकिमचन्द्र चटर्जी रहेछन् र त्यसका नेपाली अनुवादक शिवप्रताप थापा रहेछन् । बंकिमचन्द्रको त्यस पुस्तकले मलाई त्यसबेलाको कलिलो बाल मनस्थितिमा कत्ति प्रभाव पारेको थियो भने म पुस्तक पढ्दा पढ्दै त्यसैका पात्रमा रूपान्तरित हुन्थेँ । त्यसलाई मैले दोहोर्‍याएर पढ्ने मौका पाएको छैन । तथापि, त्यही बेलामा मेरो मनमा छाप छोड्ने उसमान मियाँको काल्पनिक पठान आकृति अहिले पनि मेरो आँखाअगाडि नाचिरहेकै छ ।
१३ वर्षको उमेरमा म विद्योदय हाइस्कुलमा आएँ । त्यो स्कुलको पुस्तकालयमा धेरै साहित्यिक पुस्तक थिए । प्राय: विद्यार्थीहरू त्यस्ता साहित्यिक पुस्तक लाँदैनथे । हिन्दीका पुस्तक त शिक्षकबाहेक अरू कसैले पनि पढ्दैनथे । त्यसैले साहित्यका किताब सधैँ उपलब्ध हुन्थे । म हरेक दोस्रो/तेस्रो दिन पुस्तकालयबाट नयाँ किताब लैजाने गर्थें । तैपनि, भोजपुरजस्तो जिल्लामा बीस/पच्चीस सालतिर छनोटका हिसाबमा पुस्तक पढ्ने व्यवस्था हुने कुरै भएन । बंगाली साहित्यका पुस्तक भने त्यहाँ धेरै थिए, नेपालीमा अनुवाद भएका । ती पुस्तक पढ्दापढ्दै म बंगाली साहित्यको पाठकै भएछु । ०२६ सालमा कलेज पढ्न काठमाडौं आएपछि पनि केही समय मैले बंगाली साहित्य नै खोजेर पढेँ । बंगाली साहित्यमा मलाई सबैभन्दा मन परेको उपन्यास हो– शरतचन्द्र चटर्जीको श्रीकान्त शीर्षकको उपन्यास । आफ्नो जीवन बाँच्नका लागि आफैँ सिद्धान्त बनाउन पाउने चेत बोकेको त्यो उपन्यास त मैले तीन/चारचोटि नै पढेँ हुँला । प्रगतिशील लेखकहरू शरदचन्द्रलाई मन पराउँदैनन् । तर, मेरा लागि उनी बालमनस्थितिका गुरु साहित्यकार हुन् र श्रीकान्त उपन्यासले मलाई आफ्नो गुरु आफैँ हुनुपर्छ भन्ने चेत पनि दिएको थियो ।
मेरी आमा अक्षर चिन्नुहुन्नथ्यो । तर, उहाँमा ठूला किताब पढ्ने मानिस विद्वान् हुन्छन् भन्ने ज्ञान थियो । म आमाको त्यो ज्ञानबाट फाइदा उठाइरहन्थेँ । पुस्तकालयबाट म ठूलाठूला उपन्यास र कथा संग्रहहरू ल्याउथेँ र राति अबेरसम्म पढेर बस्थेँ । त्यतिबेला मट्टितेल सायद एक रुपियाँ लिटर पथ्र्यो होला । गाउँमा त्यो असाध्यै महँगो वस्तु मानिन्थ्यो । त्यसैले आमा घरधन्दाको काम छिटछिटो सकेर मेरा लागि मट्टितेल जोगाइदिनुहुन्थ्यो । मैले त्यस्ता ठूला किताब पढेको देखेर आमाको मन खुसीको सागरमा पौडिन थाल्थ्यो र रातको सन्नाटालाई नबिथोली आमा मेरो आडैमा बसेर सिउने, तुन्ने, बुन्ने काम गरेर मेरो साथी भइदिनुहुन्थ्यो । आमालाई त्यसरी झुक्याउनुको पीडा उहाँको निधनपश्चात् धेरैचोटि खेपेको छु मैले । (त्यसको अर्को वर्ष आमाको देहावसान भएको थियो ।) तर, त्यसै अवधिमा मैले हेनरी राइडरको ‘सी’ (पुष्करशमशेरको नेपाली अनुवाद) भन्ने कहालीलाग्दो उपन्यास पढेको थिएँ । सी आतंक कथाले मलाई कति नराम्ररी च्याप्यो भने त्यसपछि मैले ‘हरर’ चिन्न लाएका कुनै पनि किताब पढ्न सकिनँ । अहिले पनि मलाई हरर बुक, हरर फिल्मको चर्चासमेत सुन्न मन लाग्दैन ।
२०२६ सालमा काठमाडौं आएपछि मैले आफ्नो रहर पुग्ने गरी पढ्ने मौका पाएँ । हामीजस्ता पैसा थोर हुने पाठकका लागि काठमाडौंमा तीनवटा पुस्तकालय थिए त्यतिबेला । वसन्तपुरको मित्र कुञ्जमा रुसी साहित्य पाइन्थे भने इन्द्रचोकको नेपाल चीन मैत्री पुस्तकालयमा चिनियाँ साहित्य पाइन्थे । अनि नयाँ सडकको ढोकैमा भएको नेपाल भारत मैत्री संघको पुस्तकालयमा सबैभन्दा धेरै किताब पाइन्थे आफूलाई पढ्न मन लाग्ने खालका ।
२०२६ सालपछिको चार वर्षमा मैले झन्डै सय थानजति साहित्यिक पुस्तक पढेँ भन्दा हुन्छ । त्यतिबेला मलाई बेस्सरी प्रभावित पार्ने पुस्तकमा यशपालको भारतीय क्रान्तिका सिंहावलोकन नै थियो । रुसी साहित्यमा मलाई बेस्सरी प्रभाव पार्ने माक्सिम गोर्कीको आमा अनि निकोलाई ओस्त्रोब्स्कीको अग्निदीक्षा भए । चिनियाँ साहित्यमा लुसुनको सबैभन्दा ठूलो नाम छ । तर, लुसुनका कथा पढ्न पनि अप्ठ्यारा छन् । लुसुनका कथाहरू पढ्न चीनको इतिहासको जानकारी हुनुपर्छ भन्ने ज्ञान उतिबेलै पाएको थिएँ मैले । चिनियाँ साहित्यमा मलाई ‘रेड क्य्राग’, ‘सङ अफ युथ’ र ‘ट्रयाक्स इन द स्नोवी फरेस्ट’ शीर्षकका तीन उपन्यासले बेस्सरी प्रभावित पारेका छन् । रेड क्य्राग र सङ अफ युथ, पछि नेपालीमा पनि लाल चट्टान र युवाहरूको गीत शीर्षकमा प्रकाशित पनि भए होलान् ।
अंग्रेजी साहित्य मैले थोरै पढेँ भन्दा हुन्छ । बढीमा एक दर्जन पढेँ होला । मलाई सबैभन्दा मन परेको अंग्रेजी उपन्यास हो– ‘दा भिन्सी कोड’ । बेजोडको उपन्यास हो यो डन ब्राउनको । अंग्रेजी साहित्यको र हिन्दीमा अनुवाद गरिएको हावर्ड फास्ट आदिविद्रोही संसारको सबैभन्दा उत्कृष्ट उपन्यास हो भन्ने लागिरहन्छ मलाई । त्यही किताबको प्रभावका कारण मैले स्पार्टाकस नामको फिलिम पनि हेरेको थिएँ कम्प्युटरमा ।
नेपाली साहित्यमा मलाई बेस्सरी बाँध्ने किताब थियो मोदनाथ प्रश्रितको ‘देवासुर’ संग्राम । पछिल्ला दिनमा मैले मन लगाएर र मन पराएर पढेका अनि मलाई चपक्कै बाँधेका किताबहरूमा मदनमणि दीक्षितको ‘माधवी’ तथा बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ हो ।
किशोरावस्थामा आमाबाट लुकाएर पढेका किताबले नै मलाई कथा र उपन्यास लेख्न सिकाएका हुन् । त्यसैले मेरा सबै उपन्यास सिर्जनाको पहिलो श्रेय म आमालाई नै दिने गर्छु । आकाशमा ताराहरू होऊन् कि नहोऊन् सन्नाटा भरिएको रातमा अहिले पनि कलमको निब कागजमा घिस्रिँदा अथवा कम्प्युटरको पर्दामा अक्षरहरू नाचेको देख्दा मभित्र आमाको मायालु अनुभूति जन्मिन्छ । त्यस्तो बेलामा मलाई आमा छेउमा उभिएर ‘राम्रो कुरो लेख् है’ भनेर मेरो गाला मुसारिरहनुभएको छ जस्तो लाग्छ ।
मेरा किताबका छनोटहरू सुन्दा पाठकले पनि थाहा पाउनुभयो होला– संसारको कुनै पनि कुराले मेरो स्वतन्त्रतालाई बन्धकी राख्न सक्दैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय