सप्तकोसी परियोजनाबाट फर्कने भारतको चेतावनी

काठमाडौं, ८ असार । सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय परियोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको अध्ययन गरिरहेको भारतले अवरोध भइरहे फर्कने चेतावनी दिएको छ ।
उसले एकीकृत माओवादीलगायत केही राजनीतिक दलबाट समेत विरोध भएको जनाउँदै अध्ययनलाई अघि बढाउनका लागि नेपालमा राजनीति सहमति बनाएर उचित वातावरण बनाइदिन पनि नेपाललाई भनेको छ ।
२०६१ सालदेखि भारतले आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरिरहे पनि विभिन्न संघसंस्था र स्थानीयवासीले अवरोध गरेको भन्दै अवरोध जारी रहे फर्कनसक्ने चेतावनी दिएको हो । ५ र ६ असारमा नेपाल र भारतीय पक्षबीच नयाँदिल्लीमा भएको छलफलमा भारतीय पक्षले अध्ययनका क्रममा धेरै खर्च भइरहेको बताउँदै निरन्तरको अवरोधले समस्या आएको बताएको थियो ।
तीन महिनाअघिदेखि बहुउद्देश्यीय परियोजनाको डिलिङ कार्यमा स्थानीयवासीले अवरोध गरेपछि नयाँदिल्लीमा भारतले १२औँ संयुक्त विशेषज्ञ टोलीको छलफल डाकेको थियो । अध्ययन सुरु भएको ५ बर्षभित्र डिपिआर तयार हुने भए पनि विभिन्न वाधा र अवरोधका कारणले अध्ययनसमेत समयमै पूरा गर्न नपाएको परियोजनाले गुनासो गर्दै आएको छ ।
छलफलमा नेपालका तर्फबाट विद्युत् विकास विभागमा महानिर्देशक डिपी सिंहको नेतृत्वमा ८ सदस्य तथा केन्द्रीय जल आयोगका कभिन्सनर एसपी काक्रानको नेतृत्वमा १० सदस्यीय टोली सहभागी थिए । भारतीय टोलीले तुरुन्तै अध्ययनमा आउने सबै अवरोध र बाधा हटाउनका लागि भनेको थियो । नेपाली टोलीले भने प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले विदेशमा रहेकाले आउनेबित्तिकै छलफल गरेर अवरोध समाधानका लागि पहल गर्ने बताएको थियो । ‘भारतीय पक्षले छिटोभन्दा छिटो अवरोध हटाई अध्ययन कार्य सुचारु हुने वातावरण निर्माणका लागि आग्रह गरेको छ,’ महानिर्देशक सिंहले थपे, ‘अध्ययनका क्रममा धेरै खर्च भइसकेको जनाउँदै उनीहरूले बाधा अवरोध हटाउनका लागि तुरुन्त पहल गरेर र ठोस निष्कर्ष निकाल्न भनेका छन् ।’ उनका अनुसार विभिन्न राजनीति दलहरूले समेत अध्ययनको विरोध गरेकाले नेपालमा अध्ययनलाई अघि बढाउन राजनीतिक सहमतिको वातावरण निर्माण गरिदिन नेपाल पक्षलाई आग्रह गरेको छ । ‘अब प्रधानमन्त्री आएपछि यसबारे छलफल गरेर हामी अघि बढ्छौं,’ उनले भने ।
एकीकृत नेकपा (माओवादी) लगायतले परियोजनाको विरोध गर्दै आएका छन् । सत्तामा रहेको दल माओवादी तथा स्थानीयवासीको विरोधका कारण सशंकित भएको भारतले अध्ययनका लागि धेरै समय खर्चनुपरेकोमा चिन्ता व्यक्त गरेको थियो । ‘हामीले सप्तकोसीबारे आएको समस्याबारे स्पष्ट राख्यौँ, उनीहरूले धेरै समस्या आएको र अध्ययनमा समेत ढिलाइ भएको भन्दै अब अवरोध भइरहे अध्ययन अघि बढाउनका लागि सोच्नै पर्ने अवस्था आएको बताए,’ नेपाली टोलीले भने सबैसँग छलफल गरेर बाधा अवरोध हटाउनका लागि पहल गर्ने आश्वासन दिएको छ ।
सप्तकोसीमार्फत ३ हजार ५ सय मेघावाट जलविद्युत् र सुनकोसीमार्फत ९० मेघावाट जलविद्युत् उत्पादन गर्नुका साथै दुवैबाट नौ लाख हेक्टर जमिनमा सिँचाइ हुने अध्ययनले देखाएको छ । तर, विस्तृत अध्ययन भने भारत सरकारको सहयोगमा भइरहेको छ । सप्तकोसी बाँधबारे सन् १९४६ मै नेपाल र भारतबीच सन्धि भएको थियो । सन्धिपछि नेपालमा यसबारे विवाद हुँदै आएको छ ।

प्रतिक्रिया