“होटेलको बिल तिर्ने पैसै पुगेन”

२०६२/६३ को आन्दोलन चर्किरहेको थियो । गणतन्त्र निम्त्याउने संघर्षको एउटा मोर्चा विद्यार्थीले सम्हालिरहेका थिए । म पनि व्यस्त हुन्थेँ सडकमा, विद्यार्थीहरूका साथ  । ऐतिहासिक परिवर्तनका पक्षमा आवाज चर्काइरहेको हुन्थेँ । यस्तैमा मेरो मोबाइल बज्यो, मेसेज आएको रहेछ । तर, त्यो मेसेज मसँग सम्बन्धित थिएन न त आन्दोलनसँग नै । अचम्म लाग्यो । कल गरेँ । उताबाट एउटा नारी आवाज सुनियो । उनले एक्स्क्युज गरिन्, भनिन्– ‘झुक्किएर तपाईंलाई आएछ, सरी ।’ फोनमै परिचय भयो । उनी रहिछन्, अञ्जना केसी । कांग्रेस नेता अर्जुननरसिंह केसीकी छोरी ।
उनीसँग बोलेको यो नै पहिलो थियो, यद्यपि यसअघि पनि उनलाई मैले देखेको भने थिएँ । सायद पहिलोचोटि २०६१ सालमा देखेको थिएँ, बैठक तथा छलफलका लागि नेता केसीको घरमा आउजाउ गर्दा । त्यस बेला म २८ वर्षको थिएँ, उनी २६ वर्षकी । मास्टर्स सकाएर राजनीतिमा फुलटाइम लागिरहेको थिएँ, उनीचाहिँ मेडिसिन सकाएर अमेरिका पढ्न जाने तयारीमा रहिछन् । त्यो बेला देखादेख भए पनि उनीसँग मेरो प्रत्यक्ष परिचय भने थिएन । आजको पहिलो फोनवार्तामा उनले बताइन्– ‘तर म तपाईंलाई राम्रैसँग चिन्थेँ ।’ मलाई पनि उनको नाम र पेसा भने थाहा थियो । यो फोनवार्तापछि हामी केही झ्याम्मिएछौँ । फोनवार्ताका शृंखला लम्बिँदै गए, ३–४ महिनासम्मै । मसँग खासै टाइम हुँदैनथ्यो । तैपनि उनलाई फोन गर्न समय निकाल्थेँ, कहिले एकाबिहानै त कहिले मध्यराति पनि । कुरा त गर्ने तर सधैँ के मात्र भनिरहनु † कहिले बच्चा बेलाका अविस्मरणीय क्षणहरूबारे बताउँथ्यौँ त कहिले आफूले हेरेका फिल्मको कथावस्तु पालैपालो सुनाउँथ्यौँ । प्रत्यक्ष भेटेर कुराकानी भने अझै भइसकेको थिएन ।
परिचय गरेको पाँच महिनापछि हामीले एकअर्कालाई प्रत्यक्ष भेट्यौँ । एउटा साथीकी छोरीको पास्नीमा  । पार्टीमा जताततै मान्छे, उनीसँग बोल्ने चान्सै मिलेन । तैपनि एकअर्कालाई देख्दा के भनूँ भनेर अक्क न बक्क पर्‍यौँ । मान्छेमान्छेका बीच सामान्य कुराकानी भयो । कुराकानी पनि के पो गर्नु र ? प्रेमका कुरा गर्नलाई हामीबीच पर्पाेज भएकै थिएन । अब यो प्रेम हो कि होइन, स्पष्ट थिएनौँ । त्यो उमेरमा यसलाई साथीको सम्बन्ध पनि भन्न सकिरहेका थिएनौँ । सायद हाम्रो अन्तरात्मा एकअर्कालाई बुझ्ने प्रयास गरिरहेको थियो ।
हाम्रो जन्मसाल फरक भए पनि संयोगवश त्यस वर्षको जन्मदिवस भने एकै दिन परेछ । यो थाहा पाएपछि हामीले एकअर्कालाई भेट्ने अर्को बहाना पायौँ । सल्लाह गरेर द्वारिका होटलमा भेट गर्‍यौँ । हामी दुई जना मात्र भएकाले सायद हाम्रो फस्र्ट डेट त्यही नै भयो । एकछिन बस्ने भनेर साँझ ७ बजे त्यहाँ पुगेका हामी फर्कंदा १२ बजेछ । हामी एकअर्काका गफमा यति डुबेछौँ कि होटलवालाले पो अब ढिला भयो भन्न आउनुपरेछ । त्यो बेला के कुराकानी भयो, मलाई खासै याद छैन । एकअर्कालाई बर्थ डे विस गरेका थियौँ । मैले सुनेको थिएँ– केटीहरू बिल केटाले तिरोस् भन्ने आकांक्षा राख्छन् । त्यहाँ कफी खान भनेर गएकाले मैले बोकेको थिएँ, दुई हजार रुपियाँ । तर, बस्दाबस्दा डिनर पनि भयो, बिल पुगेछ चार हजार रुपियाँको । सोचें– डाक्टर मान्छे, उनैले तिरिहाल्लिन्  नि † उनी पनि मैले तिर्ला भनेर बसिछन् । अब भन्नुपरेन खास कुरो † दुवै जनाको पैसा निकाल्दा पनि चार हजार पुगेन । होटलवालालाई बाँकी पछि तिर्ने रिक्वेस्ट गरेर निस्कियौँ ।
म परिवारको माहिलो छोरो । मेरा दाजु र भाइ दुवैको प्रेमविवाह हो । उनी र मबीच एकअर्काका परिवारबारे पनि गफ हुन्थ्यो । मेरो परिवारबारे सुन्न पाउँदा उनी मख्ख पर्थिन् । केही समयपछि उनी अमेरिकातिर लागिन्, म आºनै काममा व्यस्त । त्यसपछि पनि फोन र इमेलमा गफ भई नै रह्यो । झुक्किएर आएको एउटा म्यासेजले खोलिदिएको बाटोबाट सुरु भएको हाम्रो सम्बन्धले थाहै नपाई प्रेमको रूप लिइसकेछ अब । हामी बिस्तारैबिस्तारै एकअर्कामाथि अधिकार जमाउन थालेका थियौँ, झगडा गर्न थालेका थियौँ । त्यो मीठो झगडा, प्रेमको प्रारम्भ रहेछ । जहाँ एकअर्काप्रति चिन्तित भइन्छ र एकअर्कालाई केयर गर्नकै लागि झगडा गरिन्छ, त्यो सम्बन्ध लङलास्टिङ हुने रहेछ, यस्तै लाग्छ मलाई । अमेरिकामै बसेर अध्ययन बढाउने भए उतै विवाह गर्न फोर्स परेछ उनलाई । फेरि उनको परिवारमा म प्राथमिकतामा पनि सायद थिइनँ । हामी भने एकअर्कामा अधिकार जमाउन थलिसकेका थियौँ । उनले डिसिजन लिनुपर्ने भयो । उनले मलाई सोधिन्– ‘हाम्रो सम्बन्धलाई अब नयाँ नाम दिएर स्टार्ट गर्ने हो कि म यहीँ बसेर अध्ययन बढाऊँ ?’ मैले उनलाई नेपाल आऊ भनेँ । दुई–चार दिनमै उनी आइपुगिन् । संविधानसभाको निर्वाचन सकिएको १५ दिनपछि हामीले विवाह गर्‍यौँ ।
सम्बन्ध यो स्थितिसम्म आइपुग्ला भन्ने मैले सोचेकै थिइनँ । आज सोच्छु– मेरो फस्र्ट डेटको त्यो च्वाइस ठीक रहेछ । हाम्रो मायाको प्रतीक छोरी गार्गी १३ महिनाकी भइसकिन् । मलाई आºनो छनोट उपयुक्त लाग्छ । उनी मेरा हरेक पलमा अनवरत साथ दिइरहेकी छन्, प्रत्यक्ष होस् वा अप्रत्यक्ष । एउटी श्रीमतीले श्रीमान्बाट बढीभन्दा बढी समयको अपेक्षा गरेकी हुन्छे, व्यस्तताका कारण म यसमा खरो उत्रन सक्दिनँ । र, पनि हाम्रो सम्बन्ध खुसी र सुखी छ । अरूको जस्तै सामान्य ठाकठुक त हाम्रो नि परिरहन्छ । त्यति बेला म आफैँ पानी भइदिन्छु । झगडा पर्‍यो कि एकअर्कालाई एउटा एसएमएस पठाउने चलन बसेको छ हामीबीच अहिले ।
अचेल पनि हामी यदाकदा द्वारिका होटेलको त्यही टेबुलमा गएर बस्छौँ । उति बेला पैसा नपुगेर हाम्रो आपत् देख्ने वेटर आज पनि हामीलाई देख्दा हाँस्छन् । केही दिनअघि हामीले छोरीका साथ त्यही टेबुलमा बसेर डिनर गर्‍यौँ । उनी अहिले पनि जिस्क्याउँछिन्– ‘कस्तो केटा होला, डेट जाँदा पनि केटीले पैसा तिर्छे भन्ने आशा गरेर बस्ने †’
प्रस्तुति : विशाल राई

प्रतिक्रिया