किन लाग्छ माया, तिर्खा र दिलमा सजाएँ तिमीलाई

 

काठमाडौं, ८ असार । आज शुक्रबार तीन चलचित्र प्रदर्शनमा आउने भएका छन्– किन लाग्छ माया, तिर्खा र दिलमा सजाएँ तिमीलाई । किन लाग्छ माया गोपालचन्द्र लामिछानेले, तिर्खा निर्मल केसीले र दिलमा सजाएँ तिमीलाई नीरज घिमिरेले निर्देशन गरेका हुन् ।
सामान्य र सम्भ्रान्त परिवारका सदस्यबीचको मित्रता र मायाप्रेमपछि विकसित घटनाक्रमलाई कथावस्तुका रूपमा प्रस्तुत गरेको किन लाग्छ माया उपत्यकाका १५ स्टेसनबाट प्रदर्शनमा आउने भएको छ । राजवल्लभ कोइराला, शंकर लामिछाने, निखिल उप्रेती, झरना थापा, गरिमा पन्त, सुभास गजुरेललगायत मुख्य भूमिकामा रहेको चलचित्र शक्तिवल्लभ घोरासैनीले निर्माण गरेका हुन् । दीपक वज्राचार्यको छायांकन, बनिस शाहको सम्पादन र रामजी लामिछानेको नृत्यनिर्देशन छ ।
त्यस्तै, अर्को चलचित्र तिर्खाचाहिँ काठमाडौंका ६ वटा मल्टिप्लेक्स हलमा मात्र प्रदर्शन हुन लागेको हो । यौन असन्तुष्टिपीडित नारीको कथाप्रसंंगलाई मूल रूपमा राखेर अघि बढाइएको चलचित्रमा जीवन लुइँटेल, पुजना प्रधान, नन्दिता केसी, उदय शाहलगायतको अभिनय छ । चलचित्रमा लक्ष्मण शेषको संगीत तथा दिनेश अधिकारीको नृत्य रहेको छ । दिलमा सजाएँ तिमीलाई यसअघि द निर्मलाको निर्देशन गरेका राजु अधिकारीको प्रस्तुति रहेको चलचित्र हो । किशोरप्रसाद शर्मा कार्यकारी निर्माता तथा तेजेन्द्र कँडेल र जेएन घिमिरे निर्माता रहेका छन् । युवायुवतीबीचको त्रिकोणीय प्रेमसम्बन्ध र उत्पन्न परिस्थितिलाई कथानक मोड दिँदै अगाडि बढ्ने चलचित्र राजधानीका केही सिनेमा भवनबाट प्रदर्शनमा आउँदै छ । पोखरा र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा आयुष रिजाल, आमिर गौतम, युना उप्रेती, दिनेश शर्मा, जेएन घिमिरेलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन् । वसन्त सापकोटाको संगीत, शिव शर्माको नृत्य, रामजनकको द्वन्द्व तथा कृष्ण कोइरालाको निर्माण–नियन्त्रण छ । (सौस)

फ्राइडे रिजिल

प्रतिक्रिया