बमभन्दा गोली बलियो †

यो कलियुग हो । यस युगलाई किन कलियुग भनिन्छ भन्ने प्रश्नमा एकजना प्रा.डा.ले प्रस्ट्याए, कल भनेको कल–कारखाना–कलपुर्जा अर्थात् कलियुग भनेको विज्ञानको युग हो बाबै † कलियुगमा जे पनि हुन सक्छ । हाम्रा पुर्खाले त उहिल्यै भनेका छन् नि– यो कलि धपक्क बली, बाबुका नली छोराको मुरली †
मैले प्रश्न सन्काएँ जस्तोसुकै कलियुग भए नि बम त गोलीभन्दा निकै बलियो पो हुन्छ त, बाजे † गोलीले बमलाई उडाइदियो भनेपछि पत्याउनै गार्‍हो पो भयो † अचम्म उल्का भएन †
बूढाले आँखाभरि सन्देहको जालो लिएर आºनो नाक कोट्याएर याँक्दै भने, ‘हैन आज किन यस्तो बकम्फुसे कुरा सोध्या ? बमलाई पनि गोलीले उडाउन सक्छ र ? वाहियात कुरा †’
मैले कुराको चुरो बताएँ, ‘हालै बम थर भएका सर्वोच्चका एकजना न्यायाधीशलाई दिउँसै गोली बर्साएर मारेछन् नि † माननीय न्यायाधीश रणबहादुर बमलाई अज्ञात व्यक्तिहरूले गोलीले भुटेर भागे । प्रहरीले अपराधीको ‘अ’ पनि फेला पार्न सकेको छैन । माननीय न्यायाधीश ‘मा’ हुनाले उनको मान राख्नलाई एक गोलीको साटो चार/पाँच गोली आदरका साथ उनको गाथमा टक्रयाएछन् । बम पनि त कहाँ कम हो नि । पच्छिमा ठकुरी राजाहरूको हिङ बाँधेको टालो पो थिए त †
अब के को राजा † अब त जा जा † जनताले राजाका बजाइदिए बाजा † ती बझाङी राजाको गोरु बेचेको साइनो पर्ने बम भनाउँदो न्यायाधीश गलगिद्द घुस खान्थे रे । दिनभर घुस खान्थे, रातभर जुस खान्थे रे । न्यायाधीश भा न्याय त गर्थे तर त्यो न्यायको अघिल्तिर ‘अ’ को सिङ थपिदिन्थे रे । यो रे का कुरा हो बाबै † आँखाले देख्या त हैन । बुढेसकालमा आँखा अलि कमजोर भा’जस्तो छ तैपनि पत्रिकाको मोल पाँचबाट बढाएर १० रुपियाँ पारेपछि त अर्काले पढ्दाखेरि म साइडबाट यसो मुन्टो उचालेर समाचारका टाउका (शीर्षकहरू) पढ्न भ्याइहाल्छु नि । सभ्य चोरीको आनन्द पनि पाइने । खबर खाबर पनि थाहा हुने । हैन बा, यी दैनिक पत्रिकाले आºनो मोल दोब्बर बढाएर के गर्‍या हो ? यी पत्रिकाहरू गरिब जनताको हक हितमा लड्छौँ चैँ भन्छन् तर कुन चैँ अर्थशास्त्रीले गरिब नेपालीको क्रयशक्ति दोब्बर बढ्यो भनेछ र पाँचबाट एकैचोटि १० रुप्पे मोल बढाएर मरे आफूले चैँ ।
मैले ती पाका जेष्ठ नागरिकलाई सम्झाएँ– बाजे पनि कति बाठो † ‘म गर्छु आगराका कुरा बाजे गर्नुहुन्छ गाग्राको कुरा’ हाम्रा बझाङी बमलाई त्यसरी लखेटी लखेटी मार्दा पनि सरकार भनाउँदो डाकाले क्यै लछारपाटो लाउन सकेनन् † देशमा यसरी कानुन बनाउने र कानुनको संरक्षण गर्ने पदाधिकारीलाई दिउँसै सिध्याइन्छ भने यो देशमा कानुनी राज्य छ भन्ने कि जंगली राज्य छ भन्ने ?
उनले अम्लो ठड्याउँदै मलाई सम्झाए– हेरी बाबै † नेपालको प्रहरीले अपराधीलाई समाएर कानुनको सामु उभ्याउला भन्ने आस त नगरे नि हुन्छ । सबै ल्वाँदे र भातमारा छन् । अपराधीले स्वयं आएर आत्मसमर्पण गर्‍यो भने बेग्लै कुरा हो । अनेक एजेन्टसँग घुस खाएका बमलाई कुनै सारै चोट परेको एजेन्टले गोली उपहार दिएको मात्र हो । यसमा ठूलो रहस्यै के पो छ र । ऐना झैँ छर्लंग छ ।
मैले हल्का प्रतिवाद गरेँ, घुस खायो भन्दैमा ज्यानै लिनु त भएन
नि † कि कि कसो ? घुस टक्रयाउने पनि त उत्तिकै दोषी हैन र ?
ती जेष्ठ नागरिक त त्यत्तिकै मसित ताते– घुस दिने त बिचरो चेपुवामा पर्‍या हुन्छ, अनि घरबाटै बेचेर पनि घुस त टक्रयाउनै पर्‍यो
नि † रक्षक नै भक्षक र तक्षक भएपछि त जनताको बोली पनि गोली भएर बर्सन्छ । त्यै भा हो † अर्थोक क्यै हैन † यसरी बूढाले त ठोकुवै गरे ।
यसरी घरिघरि अनाहकमा जंगबहादुरझैँ जंगिने बूढासँग धेरै जिस्किनु ठीक छैन भन्ठानेर वा चुपचाप एकातिर लागेँ ।
आफैँले मागेँ कसरी भन्नु † मर्ने मरी गयो । बमभन्दा गोली नै बलियो भन्ने फैसला गर्दै सर्वोच्चका अन्य श्रीमान्का सामु नजीर पेस गरेर पो गयो त ।
अर्का एक संजनले हामी दुईजनाको जुहारी हेरिरहेका रहेछन् । फुत्त आएर मलाई झ्याप्पै समाएर भने– बम पनि हेर्ना हेर्नाका हुन्छन् । बम पानीले भिजेर ओसिएको छ कि वा अन्य कुनै कारणले बिग्रेको पो छ कि ? बम भन्दैमा सबै एकनासका हुँदैनन् । बम त निश्चय पनि धेरै शक्तिशाली हुनै पर्ने हो तर बमको बनोटमै कमी कमजोरी छ ? उच्चासनमा बस्नेले उच्च मानसिकता राख्न सक्नुपर्छ । हैन भने गोरुले काम्लो खाएजस्तो हुन्छ ।
मैले भने, अलि कुरो बुझिन †
उनले प्रस्ट पारे– कुनै न्यायाधीशले एक पक्षसँग राम्रो खाले काम्लो घुसमा पाए † अर्कासँग गोरु घुसमा पाए अनि गोरु दिनेलाई जिताइदिएछन् । बिचरो काम्लो दिनेले भनेछ मैले त काम्लो दिएको थिएँ । न्यायकर्ताले भने– गोरुले काम्लो खाइदियो ।
लौ भन अब यस्तालाई न्यायकर्ता भन्ने कि न्यायहर्ता भन्ने ? मैले क्यै जवाफ दिन सकिनँ  ।

प्रतिक्रिया