कर्मचारी संगठनको कार्यालयमा प्रहरीको ताल्चा

काठमाडौं, ८ असार । पार्टी फुटेपछि एकीकृत नेकपा (माओवादी) र नवगठित पार्टी नेकपा–माओवादीका कार्यकर्ता कर्मचारी संगठनको कार्यालयलाई आ–आºनो दाबी गर्दै कुटाकुटमै उत्रिएपछि उक्त कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भृकुटीमण्डपस्थित नेपाल राष्ट्रिय कर्मचारी महासंघको कार्यालयबाट दुवै पक्षलाई हटाएर बिहीबार प्रहरीले कार्यालयको मूल गेटमा ताला लगाइदिएको छ ।
कार्यालय पाउनुपर्ने दाबी गर्दै बिहीबार बिहान दुवै पक्षका कर्मचारी कार्यालय परिसर बाहिर छुट्टाछुट्टै रूपमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनको नेतृत्व एकीकृत माओवादीबाट शालिकराम जमकटेल र नेकपा–माओवादीबाट रामदीप आचार्यले गरेका थिए । दुवै पक्षको छुट्टाछुट्टै प्रदर्शनका कारण त्यहाको स्थिति तनावग्रस्त बनेको थियो । उनीहरूले प्रहरीलाई बीचमा पारेर एकअर्काविरुद्ध नाराबाजी गरेका थिए ।
‘दिउँसो दुवै पक्षको भिड थियो, स्थिति तनावग्रस्त बनेकाले भोलि (शुक्रबार) जिल्ला प्रशासन कार्यालयमा दुवै पक्ष बसी वार्तामार्फत विवाद टुंग्याउने सहमति भएको छ,’ महासंघका उपाध्यक्ष पवित्र तिमिल्सिनाले सौर्यसँग भनिन्, ‘सहमति भएपछि हामी बाहिरियौँ ।’ उनले कुनै पनि हालतमा उक्त कार्यालय नछाड्ने दाबी गरिन् । भनिन्, ‘कारबाही गरिएको व्यक्तिलाई कार्यालय जिम्मा लगाएर हामी किन भाग्ने ?’ महासंघका अध्यक्ष रुक्म लामिछानेले पनि उक्त कार्यालय नछाड्ने अडान दोहोर्‍याए । ‘प्रचण्ड पक्षको भन्दै आफूलाई प्रस्तुत गरेकी उपाध्यक्ष तिमिल्सिना एक वर्षदेखि कार्यालय आउन छाडेकी थिइन्,’ उनले भने, ‘तर, अहिले आएर एक्कासि कसैले उचालेको भरमा हामी कार्यालय छाडेर भाग्दैनौँ, हामी बहुमतमा पनि छौँ ।’
स्रोतका अनुसार एमाओवादीले आगामी १ साउनदेखि ६ दिनसम्म भृकुटीमण्डपस्थित उद्यान केन्द्रमा विस्तारित बैठक बोलाएकाले जबर्जस्ती उक्त कार्यालयबाट नवगठित पार्टीलाई हटाउन खोजिएको हो । नेकपा–माओवादी पक्षले भने कुपन्डोलपछिको दोस्रो कार्यालयका रूपमा कर्मचारी संगठनको कार्यालयलाई प्रयोग गर्दै आएको छ । उक्त कार्यालय हाल नेकपा–माओवादी नेत्री पम्फा भुसालले आफू महिला बालबालिका तथा समाज कल्याणमन्त्री हँुदा ०६४ सालमा पार्टीनिकट कर्मचारी संगठनलाई सस्तो भाडादरमा उपलब्ध गराएकी थिइन् ।

जनवर्गीय संगठनका धेरै नेता नेकपा–माओवादीमा

काठमाडौं : पार्टी विभाजनपछि एकीकृत (माओवादी)का बहुमत जनवर्गीय संगठनका नेतृत्व नवगठित पार्टी नेकपा–माओवादीतर्फ लागेका छन् ।
एमाओवादी छाडेका जनवर्गीय संगठनका नेताले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी आफूहरू नेकपा–माओवादीमा रहेको जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा एमाओवादीमा आबद्ध २६ मध्ये १९ वटा जनवर्गीय संगठनका नेतृत्वकर्ता नवगठित माओवादीमा रहेको नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका अध्यक्ष तिलक परियारले जानकारी दिए ।
एमाओवादी छाड्नेमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की संयोजक जयपुरी घर्ती मगर, आदिवासी जनजाति क्षेत्रीय महासंघका महासचिव सुरेश आलेमगर, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहाल, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका अध्यक्ष तिलक परियार, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष ठाकुरप्रसाद चापागाईं, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष एकराज भण्डारी, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयेन्द्र चन्द र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघका अध्यक्ष मंगल विक छन् । त्यस्तै, अखिल नेपाल ट्ेरड युनियन महासंघका अध्यक्ष रामदीप आचार्य, नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष रुक्म लामिछाने, अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष शरद रसाइली, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेल, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका उपाध्यक्ष अमरसिंह थापा, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष तक्मा केसी, अखिल नेपाल सुकुम्बासी संघका सचिव पदम देवकोटा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका सचिव हरिकृष्ण उपाध्यायलगायत छन् । (सौस)

प्रतिक्रिया