सुन लगानीमा ३१ प्रतिशत प्रतिफल

काठमाडौं, ७ असार । ११ महिनाअघि सुन किनेर राखेका लगानीकर्ताले त्यसबाट करिब ३१ प्रतिशत प्रतिफल प्राप्त गरिसकेका छन् । चालु आर्थिक वर्षको १ साउनमा सुन प्रतितोला ४४ हजार ३१ रुपियाँ रहेकामा अहिले बढेर ५७ हजार ७ सय १ पुगेको छ । ११ महिने अवधिमा लगानीकर्ता १ तोलामा १३ हजार ६ सय ७० रुपियाँ मुनाफा हासिल गर्न सफल भएको छ ।
युरोपेली राष्ट्रमा आएको समस्याका कारण पछिल्ला समयमा सुनलाई सुरक्षित लगानी औजारका रूपमा ग्रहण गरेकाले सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा सुनको खरिद लागत बढेकाले सुनको मूल्यमा वृद्धि भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘नेपालले अमेरिकी डलरमा सुनको भुक्तानी गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर मजबुत भएर भारतीय रुपियाँ कमजोर भएका कारण सुनको लागत बढ्दै गएको हो,’ उनले भने । ‘सदियौंदेखि नेपालीका लागि आºनो बचत लगानी गर्ने भरपर्दो माध्यमका रूपमा सुनलाई लिइँदै आएको छ,’ शाक्यले भने । सुनको भाउ बढ्ने दर सन् २००७ साल यता ह्वात्तै बढेको उनले बताए ।
गत वर्ष १५ मंसिरमा सुनको भाउ प्रतिऔंस १ हजार ९ सय २४ अमेरिकी डलरसम्म पुगेको थियो । जुन समयमा अमेरिकामा आर्थिक संकट व्याप्त थियो । अहिले आर्थिक संकट विस्तारै युरोपेली राष्ट्रमा सरेको छ । बुधबार सुनको मूल्य प्रतिऔंस १६ सय २१ अमेरिकी डलरमा पुगेको छ । अमेरिकी अर्थतन्त्रमा सुधार आएका कारण अमेरिकी डलर मजबुत भए पनि अन्तर्राष्ट्रिय रूपमा सुनको माग गिरावट भने नआएको उनले बताए । अमेरिकी अर्थतन्त्रमा समस्या छाउँदा १ युरो बराबर १ दशमलव ४२ अमेरिकी डलरसम्म पुगेकामा पछिल्लो समय १ युरोबराबर १ दशमलव २५ अमेरिकी डलर मात्र रहेको छ ।
अन्तर्राष्ट्रिय रूपमा सेयर बजार पनि विस्तारै घट्दै गएका बेला नेपालमा सुनको मूल्यले भने हरेक दिन उचाइ छुन थालेको छ । अमेरिकी डलर मजबुत हँुदा विगतमा सुनमा लगानी घट्ने ट्रेन्ड रहे पनि अहिले त्यस्तो नभएको उनको विश्लेषण थियो । अमेरिकी डलरमा लगानी गर्दा मुद्रास्फीतिका कारण मुद्राको क्रय क्षमतामा ह्रास आउने हुँदा सुनमै लगानीकर्ताको आकर्षण विद्यमान रहेको उनले बताए ।
लगानीकर्ताको पहिलो लगानीको विकल्प जहिले पनि सुन नै हुने गरेको छ । विविध परिवत्र्य मुद्रा सञ्चिती गर्नुपर्ने विश्वका धेरैजसो केन्द्रीय बैंकले पनि आºनो धेरैजसो रकम सुन किनेर नै सञ्चिती गर्ने गरेको छ । गत वर्ष भारतीय रिजर्ब बैंकले आइएमएफले बोलकबोलबाट बिक्री गरेको ठूलो मात्राको सुन खरिद गरेको थियो । नेपाल राष्ट्र बैंकले पनि विविध परिवत्र्य विदेशी मुद्राको अलावा प्रशस्त मात्रामा सुन खरिद गरेर राखेको छ ।
नेपालको आन्तरिक बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै लगेपछि हाल सुनको माग कम हुँदै गएको छ । एक त सस्तोमा भारत एवं चीनमा तस्करीको सुन आउने गरेको छ भने अर्कोतिर पुरानै सुन पगालेर नयाँ बनाउने गरेकाले पनि माग नबढेको अध्यक्ष शाक्यले बताए ।
नेपालको आन्तरिक बजारमा सेयर बजारले राम्रो प्रतिफल दिन छाडेको एवं घरजग्गा पनि लगानीको दृष्टिकोणले आकर्षक नभएको अवस्थामा करिब ११ महिनामै ३० प्रतिशतभन्दा बढी प्रतिफल दिने सुनमा अझ बढी लगानी बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया