राजस्व दर वृद्धि

काठमाडौं : सरकारले १५ वर्षपछि संरक्षित क्षेत्रभित्रको राजस्वको दररेट बढाएको छ । ०५३ सालमा हेरफेर गरिएको दररेट समय सापेक्ष बनाउन भन्दै सोमबारको राजपत्रमा प्रकाशित गरेर राजस्व दर बढाएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार चितवन राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क स्वदेशीलाई २० रुपैयाँबाट प ाँच गुणा बढाएर एक सय, सार्क राष्ट्रका दुई सयबाट सात सय ५० र अन्य मुलुकका पाँच सयबाट एक हजार पाँच सय रुपैयाँ पुर्‍याइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जसहित कोसी टप्पु, पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा स्वदेशीलाई ५०, सार्क देशका लागि पाँच सय र अन्य विदेशीका लागि पाँच हजार एक सय रुपैयाँ पुर्‍याइएको छ । जहाँ नेपालीका लागि २०, सार्कका लागि ५० र अन्य विदेशीलाई पाँच सय रुपैयाँ प्रवेश शुल्क थियो ।
हिमाली निकुञ्ज लाङटाङ, सगरमाथा, रारा, शे–फोक्सुन्डो, खप्तड र मकालु वरुणमा नेपालीलाई नि:शुल्क, सार्कका लागि समान एक सयबाट एक हजार पाँच सय रुपैयाँ र अन्य विदेशीका लागि एक हजारबाट तीन हजार रुपैयाँ वृद्धि गरिएको छ ।
त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जमा प्रतिदिन ‘जंगल ड्राइभ’ गर्दा कारको दुई हजार, जिपको चार हजार र भ्यानको पाँच हजार रुपैयाँ दस्तुर तोकिएको छ । त्यस्तै, सबै निकुञ्जसहित सबै आरक्षमा एकपटक हेलिकोप्टर अवतरण गर्दाको राजस्व शुल्क पाँच हजार तोकिएको छ । कोसीटप्पु, पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र कारलाई हजार, जिपलाई दुई हजार र भ्यानबाट तीन हजार जंगल ड्राइभको दस्तुर तोकिएको छ । बर्दियामा कारलाई एक हजार, जिपलाई दुई हजार र भ्यानलाई दुई हजार पाँच सय जंगल ड्राइभ तोकिएको छ ।
त्यस्तै, सिकार लाइसेन्स स्वदेशीका लागि पाँच हजार र विदेशीका लागि ५० हजार रुपैयाँ र पक्षी सिकार लाइसेन्स स्वदेशीलाई दुई हजार र विदेशीलाई १० हजार तोकिएको छ । (सौस)

प्रतिक्रिया