बैंक म्यानेजर संलग्न

सिन्धुपाल्चोक, ७ असार । नेपाली चेलीलाई यौनधन्दाका लागि चीनको खासा बजार पुर्‍याउने गिरोहलाई एक बैंकका म्यानेजरको संरक्षण रहेको पाइएको छ । खासा बजारबाट फर्किएका युवतीले दिएको उजुरीका आधारमा पक्राउ परेका अभियुक्तलाई छुटाउन प्रहरीमा पुगेपछि माइती नेपाल र प्रहरीले बेचबिखनमा ती बैंक मेनेजरको पनि संलग्नता रहेको आशंका गरेको हो ।

तातोपानीस्थित इन्फ्रास्टक्चर डेभेलपमेन्ट बैंकका मेनेजर गोकर्ण पाण्डे नेपाली चेलीलाई खासाका विभिन्न होटल तथा रेस्टुरेन्टमा यौनधन्दाका लागि बिक्री गर्ने गिरोहका नाइके असीम लामालाई छुटाउन एक कार्टुन जुस लिएर बुधबार जिल्ला प्रहरी कार्यालय पुगेपछि उनीमाथि प्रहरीले शंका गरेको हो । प्रहरीले सोमबार लामालाई तातोपानीबाट पक्राउ गरेको थियो ।
पाण्डे जिल्ला प्रहरी कार्यालय पुगेर लामा निर्दोष रहेको बताएका थिए । यस्तै उनले प्रहरीले नियन्त्रणमा लिएको लामाको मोटरसाइकल छुटाउन पनि मद्दत गर्ने आस्वासन दिएका थिए । इन्स्पेक्टर सुजनराज राजभण्डारीले पाण्डेले लामा निर्दोष रहेको बताउँदै कारबाही जरुरी नभएको बताएपछि प्रहरीले पाण्डे पनि बेचबिखनमा रहेको शंका गरेको छ ।
लामा र पाण्डे मिल्ने साथी हुन् । एक साताअघि बिक्रीका लागि खासा पुर्‍याइएपछि भागेर नेपाल फर्कन सफल दुई नेपाली चेलीका अनुसार लामा र पाण्डेले नै उनीहरूलाई चीनको व्यापारिक मेसमा राम्रो जागिर लगाइदिने आश्वासन दिएका थिए । काठमाडौं तिलगंगाकी १७ वर्षीया गीता (नाम परिवर्तन) र सर्लाही घर भएकी १६ वर्षीया रीता (नाम परिवर्तन) लाई पाँच महिनाअघि लामाले खासा पुर्‍याएका थिए । खासाको व्यापारिक मेसमा मासिक १० हजार रुपियाँको जागिर मिलाइदिने भन्दै लामाले उनीहरूलाई काठमाडौंबाट ल्याएका थिए । खासाबाट भागेर उम्कन सफला गीता र रीतालाई केही समयअघि प्रहरीको सहयोगमा माइती नेपाल तातोपानीले खासाको जंगलबाट उद्धार गरेका थिए ।
लामाले काठमाडौंबाट तातोपानी ल्याएका नेपाली चेलीलाई चीन प्रवेशको पास बनाउनेलगायत काममा पाण्डेले सहयोग गर्ने गरेको बुझिएको छ । खासामा बिक्री भएपछि भागेर नेपाल फर्कन सफल गीताका अनुसार पाण्डेले उनीहरूलाई चीनमा धेरै पैसा कमाउने आश्वासन दिएका थिए ।
पाण्डेले तातोपानीकै एक साइबरबाट नक्कली एकदिने चीन प्रवेशको पास बनाएर नेपाली चेलीलाई चीन पुर्‍याउने गरेको माइती नेपाल तातोपानीका सहदेव तिवारीले जानकारी दिए । प्रहरी र माइती नेपालले बेचबिखनमा पाण्डेको संलग्नता भएको बताए पनि पाण्डेले भने अस्वीकार गरेका छन् । उनले बेचबिखनमा आफ्नो संलग्नता नभएको दाबी गरे ।
खासामा बेचिएर फर्किएकी चेलीले पाण्डेले आफूलाई बेचेको उजुरी दिएपछि तीन महिनाअघि पनि उनलाई प्रहरीले हिरासतमा राखेको थियो । तर, प्रमाण नपुगेको भन्दै प्रहरीले पाण्डेलाई छाडेको थियो ।

प्रतिक्रिया