हतियार देखाएर लुट्ने पक्राउ

सिन्धुली, ६ असार । पेस्तोल, खुकुरीलगायत हतियार देखाएर लुटपाट मच्चाउने समूहका तीनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना विभिन्न अपराधमा सिन्धुली कारागारमा जेल सजाय भुक्तान गरेका रहेको प्रहरीले बताएको छ ।

कमलामाई–३ का ५२ वर्षीय ज्ञानबहादुर घलान, सर्लाही लालबन्दी–१ का २२ वर्षीय सन्तोष महतो र ४५ वर्षीय मीनबहादुर मोक्तानलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
उनीहरूले ३१ जेठमा खुकुरी र पेस्तोल देखाएर कमलामाई–३, ठूलडाँडामा कर्णबहादुर गोलेको घरमा लुटपाट गरेको डिएसपी सानुराम भट्टराईले जानकारी दिए । सुनका गरगहना, नगद तथा अन्य जिन्सी गरेर करिब नौ लाख रुपियाँ बराबरको धनमाल लुटेको प्रहरीले बताएको छ ।
घटनामा संलग्न घलानलाई सुराकीका आधारमा काठमाडौं फर्पिङबाट पक्राउ गरिएको र अन्य दुईलाई सर्लाहीको लालबन्दीबाट पक्राउ गरेर ल्याइएको हो । घटनामा संलग्न केहीको खोजी भइरहेको छ ।
पक्राउ परेका तीनैजना जेल सजाय भुक्तानपछि पुन: आपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीले बताएको छ । घलान मानव बेचबिखन तथा ओसारपसारको अपराधमा संलग्न भएको आरोपमा दुई वर्ष जेल परेका थिए । उनी ९ कात्तिक ०६८ मा सिन्धुली कारागारबाट जेलमुक्त भएका थिए । यस्तै, मोक्तान पनि हातहतियार तथा खरखजाना मुद्दामा दुई वर्ष जेल परेका थिए । उनी २७ माघ ०६६ मा छुटेका थिए भने महतो हातहतियार तथा खरखजाना मुद्दामा चार वर्ष जेल बसेर ०६७ सालमा जेलमुक्त भएका थिए ।

प्रतिक्रिया