आठ लाख रुपियाँका औषधि बरामद

वीरगन्ज, ६ असार । भारतबाट नेपाल ल्याइएको औषधि फेरि भारत नै तस्करी भइरहेको अवस्थामा प्रहरीले ठूलो परिमाणको औषधिसहित एउटा गाडी बरामद गरेको छ । औषधि तस्करीमा औषधि कम्पनीकै बजार प्रतिनिधि संलग्न रहेको पाइएको प्रहरीले दाबी पनि गरेको छ ।

नेपालबाट अवैधरूपमा भारत निकासी गर्न लागिएको आठ लाख रुपियाँ मूल्यबराबरको औषधिसहित एउटा गाडी जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लंगडीको टोलीले सीमावर्ती हरिहरपुरमा बरामद गरेको हो ।
भारत हिमाञ्चलस्थित एबोट हेल्थ केयर लिमिटेड कम्पनीद्वारा उत्पादित विभिन्न ब्रान्डका २० वटा कार्टुनमा राखिएका औषधि बरामद भएको डिएसपी रवीन्द्र केसीले बताए । प्रहरीले औषधि तस्करीमा प्रयोग गरिएको बी आर ०६ टी ०६०७ नम्बरको मार्सल गाडी पनि बरामद गरेको छ । प्रहरी टोलीलाई देख्नेबित्तिकै गाडी चालक र औषधि तस्कर फरार भएको प्रहरीको दाबी छ ।
डिएसपी रवीन्द्र केसीका अनुसार नेपाली दर्ता नम्बर भएको गाडीबाट भारतीय दर्ता नम्बर भएको गाडीमा औषधिको कार्टुन ढुवानी भइरहेको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो । वीरगन्जमा बेच्न ल्याइएका भारतीय औषधि भारतमै तस्करी गर्ने काममा कम्पनीकै बजार प्रतिनिधि रहेको पाइएको प्रहरीको दाबी छ । औषधि कम्पनीका प्रतिनिधिहरूले जागिर जोगाउनका लागि कम्पनीको औषधि बढी बिकेको देखाउन नेपालबाट औषधि किनेर भारत लगेर बेच्ने गरेको प्रहरीले दाबी गरेको छ । एक औषधि कम्पनीका बजार प्रतिनिधिले बताएअनुसार जागिर जोगाउनकै लागि प्रतिनिधिहरूले आफैँले नेपाली बजारका औषधि उठाएर भारत लगेर बेच्ने गरेका छन् । प्रहरीले पनि अनुसन्धानमा यो पुष्टि भएको बताएको छ ।
एबोट हेल्थ केयर लिमिटेड कम्पनीद्वारा उत्पादित क्रोक्सिन र क्लोरोफेनिकल अंकित ट्याब्लेट र क्याप्सुल बरामद गरिएको हो । बरामद भएका ट्याब्लेट र क्याप्सुल टाइफाइडका औषधि हुन् । एबोट हेल्थ केयर लिमिटेड कम्पनीको वीरगन्जमा दुईवटा डिलर रहेका छन् । वीरगन्जमा भाजुरत्न फर्मा र यति फर्मास्युटिकल्स एबोट कम्पनीका आधिकारिक डिलर हुन् ।
भारतमा उत्पादित औषधि नेपालमा आयात भएर पुन: भारतीय बजारमै तस्करीका माध्यमबाट पैठारी भइरहेको डिएसपी केसीले बताए । दुई महिनाअघि पनि वीरगन्ज बिर्ताबाट प्रहरीले भारत तस्करी भइरहेको करिब २० कार्टुन औषधि बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको थियो ।

प्रतिक्रिया