मूल्य बृद्धिको कांग्रेसद्वारा विरोध

काठमाडौं, ५ असार । नेपाली कांग्रेसले सरकारले निर्वाचन आचार संहिता विपरित सरुवा लगायतका कार्य गरेको भन्दै निन्दा एवं भत्र्सना गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी कार्यालय सानेपामा बसेको बैठकले आचार संहिता विपरित गरिएका प्रहरीका उच्च अधिकारीको सरुवा बदर गर्न माग गरेको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए । निर्वाचन घोषण भईसकेको अवस्थामा कामचलाउ सरकारले उच्च अधिकारीहरुको सरुवा गरेर संविधानको ठाडो उलंघन गरेको भन्दै कांग्रेसले निर्णय सच्चाउन आग्रह गरेको छ ।
पेट्रोलियम पदार्थमा आजै भएको मूल्य बृद्धिको पनि कांग्रेसले आलोचना गरेको छ । डिजेल र मट्टितेलमा भएको मूल्य बृद्धि तत्काल फिर्ता लिएर जनतालाई रहत दिन माग गरिएको केन्द्रीय सदस्य गिरीले बताए । सरकारले आजै मात्रै डिजेल र मट्टितेलमा प्रतिलिटर चार, चार रुपियाँ बृद्धि गरेको थियो ।
कांग्रेसले कामचलाउ सरकारका असंवैधानिक कार्यको शान्ति पूर्ण विरोधमा उत्रिएका विद्यार्थी माथि भएको प्रहरी दमन र धरपकडको पनि भत्र्सना गरेको छ । नेता गिरीका अनुसार शान्ति पूर्ण प्रदर्शनमा प्रहरी दमन गराएर सरकारले शाही सरकारको झल्को दिएको छ ।
झण्डै नौ महिना पछि वरिष्ठ नेता शेरबहादुर देउवा सहभागी केन्द्रीय समिति बैठक बुधबार पुनः बस्ने गरि स्थगित भएको छ ।

प्रतिक्रिया