काठमाडौं, ५ असार । एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले राजसंस्था समर्थक र भारतीय गुप्तचर संस्था ‘रअ’ सहितका देशी/विदेशी शक्तिहरुले पार्टी फुटाएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लव नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गजुरेलले बैद्य समूहले १२ बुँदे सम्झौतालाई नै गलत भनेकाले राजसंस्थासहितका शक्तिहरुसँगको साँठगाँठको पुष्टि भएको बताए ।
‘भारतीय गुप्तचर संस्था ‘रअ’ पार्टी एकता भन्दा पार्टी फुटाउनै लाग्ने गरेको विगतको ईतिहास छ,’ उनले भने, ‘बैद्यजीको समूहसँग ‘रअ’को सम्बन्धकाकारणले पनि त्यस्तो कुरा पुष्टि हुन्छ ।’
अन्तर्राष्ट्रिय समर्थन विना कुनै पनि परिवर्तन संस्थागत गर्न नसकिने गजुरेलले बताए ।
उनले भोलिका दिनमा जनताका वीच गएपछि आफ्नो हैसियत बैद्य समूहले थाहाँ पाउने चेतावनी दिएका छन् ।
नेता गजुरेलले बैद्य समूहको पार्टी विभाजनमा कुनै सैद्धान्तिक आधार नभई केवल प्रचण्डप्रतिको आक्रोस मात्रै भएको आरोप लगाए । उनले पार्टी फुटे पनि मिलेका विषयमा दुई पार्टीवीच कार्यगत एकता हुन सक्ने सम्भावना औल्याए ।
प्रतिक्रिया