माओवादी दुई फ्याक

काठमाडौं, ५ असार । विघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादी अन्तत: विभाजित भएको छ । पार्टी संस्थापनसित असहमति जनाउँदै झन्डै डेढ वर्षदेखि पार्टीभित्रै समानान्तर संरचना चलाइरहेको वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले सोमबार नयाँ पार्टी गठनको घोषणा गरेको छ ।

वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले नयाँ पार्टी गठन गर्न वैद्यले गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी, माओवादी (बीचमा कमा) राख्ने निर्णय लिइएको छ । पार्टीको नेतृत्व वैद्यले नै गरेका छन् । बहुपदीय प्रणालीमा जाने भए पनि अन्य पदाधिकारी पछि तय गर्ने निर्णय भेलाले गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ पार्टी गठन गरेको जानकारी दिइनेछ ।
भेला समापन गर्दै वैद्यले दक्षिणपन्थी भासमा गएको एकीकृत माओवादीसित

अब पूर्णरूपमा सम्बन्धविच्छेद भएको घोषणा गरे । नयाँ पार्टीले जनताका मुद्दालाई समातेर अगाडि बढ्ने उनले बताए । ‘सारसंशोधनवादी भासमा गएको पार्टीमा रहनुको कुनै अर्थ छैन, जनताका मुद्दालाई बोकेर हिँड्ने क्रान्तिकारी शक्ति चाहिएको छ,’ वैद्यले भने । भेलाका सहभागीले तालीको गड्गडाहटले नयाँ पार्टीको स्वागत गरे । नयाँ पार्टीको महाधिवेशन आगामी फागुनमा गरिने भएको छ ।
तत्कालका लागि एकीकृत माओवादीमा रहेका वैद्य पक्षीय ४४ केन्द्रीय सदस्यलाई नयाँ पार्टीको केन्द्रीय सदस्य मनोनयन गरिएको छ । थप सदस्य केन्द्रीय समितिमा छलफल गरेर मनोनीत गर्न भेलाले म्यान्डेट दिएको छ । भेलालगत्तै बसेको ४४ जनाको केन्द्रीय समितिले नयाँ पार्टीको महासचिवमा रामबहादुर थापा र सचिवमा सिपी गजुरेललाई मनोनीत गरेको छ । उनीहरू दुवैजना एकीकृत माओवादीमा पनि क्रमश: महासचिव र सचिव नै थिए । बाँकी पदाधिकारीको टुंगो पूर्ण केन्द्रीय समितिले लगाउनेछ ।
नयाँ पार्टीको केन्द्रीय समिति ७५, पोलिटब्युरो २५ र स्थायी समिति ८ जनाको बनाउने अनौपचारिक सहमति नेतृत्वबीच भइसकेको छ । चुनवाङ बैठकयता एकीकृत माओवादीमा रहेका ९५ केन्द्रीय सदस्यमध्ये धेरैजसो वैद्यको नयाँ पार्टीमा आएका छन् । भेलाले एकीकृत माओवादीले लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा गलत भएको ठहर गर्दै जनविद्रोहमा जानेसम्मको कार्यदिशा तय गरेको छ । नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्तमा मालेमावाद/विचार राखिएको छ ।
अध्यक्ष पुष्पकमल दाहालसहितका नेता परिवारवाद, नवसंशोधनवाद र दक्षिणपन्थी भासमा फसेकाले नयाँ पार्टी गठन गर्नुपरेको निष्कर्ष भेलाले निकालेको छ । भेलामा उपाध्यक्ष वैद्यले राजनीतिक प्रतिवेदन पेस गर्दै ‘क्रान्तिलाई जोगाउन’ नयाँ पार्टी र नयाँ नेतृत्व बनाउनुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई भेलाले सर्वसम्मतिले पारित गरेको हो । भेलाका सहभागीले विद्रोहको प्रस्ट कार्यदिशा ल्याउनसमेत माग गरेका छन् । ‘अहिलेको एमाओवादी पूरै दक्षिणपन्थी भासमा गएकाले नयाँ पार्टी गठन गरेर क्रान्तिको रक्षा गर्नुपर्छ भन्ने सुझाव आएको थियो,’ भेलामा सहभागी केन्द्रीय सदस्य महेश्वर दाहालले भने ।
वैद्य पक्ष एकीकृत माओवादीभित्र अल्पमतमा रहँदै आएको थियो । उसले माओवादी शान्तिप्रक्रियामा आएको केही समयदेखि नै विभिन्न निर्णय हँुदा पार्टीभित्र फरक मत राख्दै आएको थियो । आन्तरिक विवाद चुलिँदै गएपछि करिब डेढ वर्षदेखि वैद्य समूहले देशैभरि पार्टीको सामानान्तर संरचना चलाउँदै आएको छ ।
भेलामा उपाध्यक्ष वैद्यले राजनीतिक र देव गुरुङले विधान प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदनलाई भेलाले संशोधनसहित पारित गरेको छ । गुरुङको प्रतिवेदनमा नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी’ राख्न प्रस्ताव गरिएको थियो । भेलाबाट आएको सुझावअनुसार ‘नेपाल कम्युनिस्ट पार्टी, माओवादी’ नाम राख्ने निर्णय गरिएको हो ।
प्रतिवेदनमाथि सहभागीहरूका २१ समूह बनाएर दुई दिनसम्म छलफल गरिएको थियो । सबै समूहले एकीकृत माओवादीले क्रान्तिकारी दिशा छाडेको भन्दै नयाँ पार्टी बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।
यसअघि, दिउँसो बसेको संस्थापन पक्षको स्थायी समिति बैठकले पार्टीलाई एकढिक्का बनाउन नसकिने निष्कर्ष निकालेको थियो । अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा बसेको बैठकले वैद्य पक्ष एकताभन्दा फुटको बाटोमा सक्रियतापूर्वक लागेको ठहर गरेको थियो ।
स्रोतका अनुसार अध्यक्ष दाहालले आइतबार राति र सोमबार दिउँसोसम्ममा पटक–पटक उपाध्यक्ष वैद्यलाई फोन गरेर पार्टी एकताका लागि आग्रह गरेका थिए । तर, वैद्यले नेतृत्व रूपान्तरण हुन तयार भए र विगतमा पटक–पटक गरेका गल्तीबारे लिखित आत्मालोचना गरे मात्रै एकता सम्भव भएको जवाफ फर्काएका थिए । त्यसपछि संस्थापन पक्षले पार्टी एकता सम्भव नभएको निष्कर्ष निकालेको थियो ।
बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले आफूहरूले पटक–पटक आग्रह गर्दासमेत वैद्य पक्षले एकताका लागि चासो नदेखाएको बताए । ‘हामीले बसेर छलफल गरौँ, पार्टीलाई एकताबद्ध बनाएर लैजाऔँ भनेर पटक–पटक आग्रह गरेका छौँ, उहाँ(वैद्य पक्ष)हरूले रुचि देखाउनुभएको छैन,’ उनले भने ।

जुधेको नाम मान्य हुन्न : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले कुनै पनि राजनीतिक दलसँग मिल्ने नामका साथै त्यसमा कमा, पूर्णविराम वा अल्पविराम राखेर नयाँ राजनीतिक दल दर्ता नहुने जनाएको छ । एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले सोमबार घोषणा गरेको पार्टीको नाममै मात्रिका यादवले पार्टी चलाइरहेका छन् ।
वैद्य पक्षले नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी, माओवादी’(नेकपा र माओवादीको बीचमा कमाले छुट्याएको) राखेका छन् । यादवको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी)’ छ । लिखित रूपमा ब्राकेट र कमाले फरक देखिए पनि उच्चारण गर्दा दुवै पार्टीको नाम एउटै हुन्छ ।
निर्वाचन आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले आयोगमा राजनीतिक दलका रूपमा दर्ता भइसकेका नाममा नयाँ दल दर्ता हुन नसक्ने बताए । ‘निर्वाचन आयोगमा दर्ता भएको नाममा नयाँ राजनीतिक दलको नाम राख्न पाइँदैन, जनतामा कन्ºयुजन हुने नामलाई पनि आयोगले दल दर्ताका लागि स्वीकृति दिँदैन,’ आयोगका प्रवक्ता त्रितालले सोमबार सौर्यसँग भने ।
वैद्य पक्षले भने मात्रिका यादवले नेतृत्व गरेको पार्टीसित आºनो पार्टीको नाम मेल नखाने दाबी गरेको छ । वैद्यपक्षीय केन्द्रीय सदस्य महेश्वर दाहालले यादवले नेतृत्व गरेको पार्टीमा माओवादी शब्दलाई ब्राकेटमा राखिएको र आफूहरूले नेकपा र माओवादीको बीचमा कमा राखेकाले जनतामा भ्रम नपर्ने बताए । ‘मात्रिकाजीको पार्टीमा माओवादीलाई कोष्ठभित्र राखिएको छ,’ उनले भने, ‘हाम्रो पार्टीको नाममा नेकपा र माओवादी शब्दको बीचमा कमा राखिएकाले कुनै द्विविधा हुँदैन, जनताले प्रस्ट छुट्याउन सक्छन् ।’
संविधानसभाको नयाँ चुनावका लागि निर्वाचन आयोगले नयाँ दल दर्ताको आह्वान नगरेसम्म तत्काल कुनै पनि नयाँ दल दर्ता नहुने आयोग स्रोतले जनाएको छ । (सौस)
को–को गए नयाँ पार्टीमा ?
मोहन वैद्य, रामबहादुर थापा, चन्द्रप्रसाद गजुरेल, देव गुरुङ, नेत्रविक्रम चन्द, पम्फा भुसाल, हितमान शाक्य, नारायणप्रसाद शर्मा, हरिभक्त कँडेल, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल, जयपुरी घर्ती, सूर्य सुवेदी, उमा भुजेल, कुमार दाहाल, अनिल शर्मा, कृष्णध्वज खड्का, रेखा शर्मा, महेश्वर दाहाल, अमृता थापामगर, चन्द्रहरि सुवेदी, सुरेश आलेमगर, ईश्वरी दाहाल, सरला रेग्मी, श्रीराम ढकाल, भरत बम, पवनमान श्रेष्ठ, दिनेश शर्मा, हर्कबहादुर शाही, दिलीप प्रजापति, यशोदा सुवेदी, मायाप्रसाद शर्मा, पदम राई, कृष्णदेव सिंह दनुवार, सावित्रीकुमार काºले, महेन्द्र पासवान, सन्तोष बुढामगर, बाबुराम नेपाली, ओम पुन र पूर्ण घर्ती

प्रतिक्रिया