मोबाइल र ल्यापटप चोरी गर्ने गिरोह पक्राउ

चितवन, ५ असार । भारतबाट नारायणगढ आएर विभिन्न पसलका मोबाइल तथा ल्यापटप चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । एक करोड रुपियाँभन्दा बढीका मोबाइल, ल्यापटप चोरीमा संलग्न दस जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

भारत मोतिहारी घर भई रत्ननगर बस्दै आएका २४ वर्षीय राजेश यादव, वीरगन्ज पानीट्यांकीका इन्तज आलम, इर्साद आलम, मुन्ना मण्डल र बारा कलैयाका सन्देश साह पक्राउ परेका छन् । उनीहरूलाई रत्ननगर, वीरगन्ज र कलैयाबाट नियन्त्रणमा लिएको डिएसपी पौडेलले बताए । यस्तै, पाल्पा भीरकोट–४ का १८ वर्षीय सुमन विक, नवलपरासी गैँडाकोट–६ का १७ वर्षीय शंकर विक, भरतपुर–२ का १६ वर्षीय अनिल भुजेल, गोर्खा घर भई भरतपुर–३ बस्दै आएका १६ वर्षीय आशिष गुरुङ र चितवन दिव्यनगर–१ घर भएका १८ वर्षीय सुभाष पौडेललाई पनि प्रहरीले विभिन्न मितिमा चोरी भएका मोबाइल र ल्यापटपसहित पक्राउ गरेको छ ।
२८ जेठमा नारायणगढ लायन्स चोकस्थित एटुजेड मोबाइल हाउस र फेसबुक कम्प्युटर पसलबाट ८४ लाख रुपियाँभन्दा बढीका सामान उनीहरूले चोरी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविराज पौडेलले जानकारी दिए ।
पसलका सञ्चालकले १५ वटा ल्यापटप र चार सयभन्दा बढी मोबाइल सेट चोरी भएको बताएका थिए । दुई पसलमा चोरी गरेको अभियोगमा सामानसहित पाँचलाई पक्राउ गरेको भए पनि चोरीमा संलग्न तीन फरार रहेको डिएसपी पौडेलले बताए ।
उनीहरूका साथबाट २७ हजार रुपियाँ, ९६ थान मोबाइल, नौवटा ल्यापटप, १२ वटा चार्जर, १२ वटा मोबाइल ब्याट्री, ना १९ प ५४१२ नम्बरको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले बताएको छ । चोरी गरिएका सामान बारा कलैया–६ का २३ वर्षीय सन्देश शाहको घरबाट बरामद भएका हुन् । चोरीका सामान ओसारपसारमा उनकै मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ ।
चोरीको घटनालगतै जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानका लागि पहिले रत्ननगरबाट राजेश यादवलाई नियन्त्रणमा लिएको थियो । उनकै बयानका आधारमा अरूलाई पक्राउ गरेको हो । एटुजेड मोबाइल हाउसमा एक वर्षअगाडि पनि चोरी भएको थियो । चोरीमा यही गिरोहको संलग्नता भएको आशंका प्रहरीको छ ।

प्रतिक्रिया