प्रेमीप्रेमिकाको तनाबमा हवाई फायरिङ

वीरगन्ज, ५ असार । पर्साको निर्मल बस्तीमा प्रेमीप्रेमिका भागेपछि बढेको तनाबमा प्रहरीले हवाई फायर गरेको छ ।

आइतबार राति निर्मल बस्ती–२ की १७ वर्षीया अमृता नेपाली वडा नम्बर ८ का प्रेमी १९ वर्षीय जनक नेपालीसँग भागेपछि केटीपक्षले प्रहरी चौकीमा दिएको उजुरीमा सुनुवाइ नभएको भन्दै तोडफोडमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो । सोमबार अपराह्न दुवै पक्षबीच भएको छलफलमा प्रेमीले अपहरण गरेर जबर्जस्ती विवाह गरेको बयान प्रेमिकाले दिएपछि उनीहरू आ–आफ्ना अभिभावकसँग घर फर्किएका छन् । उनीहरूले आइतबार भागेर मन्दिरमा विवाह गरेका थिए ।
सोमबार बिहानसम्म राजीखुसीले प्रेमीसँग भागेर गएको बयान दिएकी अमृताले अपराह्न आफन्तको दबाबमा कुरा फेरेको केटापक्षको भनाइ छ । इलाका प्रहरी कार्यालय ठोरीका इन्स्पेक्टर मुक्तिनारायण चौधरीले किशोरीले बयान फेरेको स्विकारे । ‘बिहानसम्म उनले राजीखुसीले घरबाट भागेर विवाह गरेको बयान दिएकी थिइन्,’ इन्स्पेक्टर चौधरीले भने, ‘तर, साँझ एकाएक बयान फेरिन्, हामी पनि अचम्ममा परेका छौँ ।’
युवकका आफन्तले पनि दबाबमा परेर अमृताले अपहरणको आरोप लगाएको दाबी गरेका छन् । किशोरीका अभिभावकले जनकविरुद्ध प्रहरीमा अपहरणको मुद्दा दिने तयारी गरेका छन् । केही दिनअघि मात्र जनकका अभिभावक अमृतालाई माग्न घर गएका थिए । तर, अमृताकी आमाले जनकलाई मन नपराएका कारण उनीहरू रित्तै फर्किएका थिए । जनकले केही दिनअघि अमृताको घरमा बिहेको प्रस्ताव लिएर जाँदा केटीपक्षले एक वर्ष कुर्न आग्रह गरेपछि नेपालीले केटीलाई अपहरण शैलीमा जबर्जस्ती भगाएर लगेको केटीपक्षले आरोप लगाएको छ । तर, काठमाडौँ बस्दै आएका जनक र निर्मल बस्तीकी अमृताबीच पहिलेदेखि नै प्रेमसम्बन्ध रहेको र केटीपक्षका असन्तुष्ट अभिभावकले उनीहरूको सम्बन्ध तोड्ने मनासयले एक वर्ष कुर्न आग्रह गरेपछि भगाएर लगेको केटापक्षले दाबी गरेको छ । केटीकै मञ्जुरीमा भगाएर विवाह गरे पनि असन्तुष्ट अभिभावकले केटालाई फसाउन अपहरण गरेको आरोप लगाएको निर्मल बस्ती–८ का लालबाबु श्रेष्ठले बताए ।
आइतबार जनकले घरबाटै अमृतालाई लगेपछि सुवर्णपुरको एक मन्दिरमा विवाह गरेका थिए । प्रहरीले सोमबार जनक र अमृतालाई नियन्त्रणमा लिने क्रममा पनि अमृता सिउँदोमा सिन्दुर र गलामा पोतेमाला लगाएकी अवस्थामा भेटिएको इन्स्पेक्टर चौधरीले बताए ।
ओडार प्रहरी चौकीमा सोमबार अपराह्न भएको वार्तामा केटाकेटी दुवैलाई उनीहरूको जिम्मा लगाउने सहमति भएको इन्स्पेक्टर चौधरीले जानकारी दिए । सहमतिपछि दुवैलाई उनीहरूका अभिभावकको जिम्मा लगाएर पठाइएको छ । ‘दुवै पक्षबाट लिखित जाहेरी परेको छैन,’ इन्स्पेक्टर चौधरीले भने, ‘जाहेरी पर्‍यो भने आवश्यक कदम चाल्छौँ ।’ आइतबार साँझ प्रेमी जनकसहितका केही युवकले अमृतालाई घरबाटै भगाएपछि दुवै पक्षबीच आइतबार रातिसम्म तनाब भएको थियो । अमृतालाई भगाएर लगेपछि किशोरीका अभिभावकले छोरीको अपहरण भएको भन्दै उद्धार गरिदिन स्थानीय ओडार प्रहरी चौकीमा उजुरीसमेत दिएका थिए ।
प्रहरीले उजुरीमा वास्ता नगरेको भन्दै किशोरी पक्षले प्रहरी चौकी घेराउ गर्दै प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय ठोरी, विजय बस्ती प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्प सुवर्णपुरबाट सुरक्षाकर्मीको टोली गाउँ पुगेको थियो ।
वडा प्रहरी चौकीमा सुरक्षाकर्मीको थप टोली पुगेलगत्तै आक्रोशित बनेका किशोरी पक्षले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाई फायरिङसमेत गरेको थियो । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय ठोरीको ना १ झ ५६६ नम्बरको भ्यान र असई साहिर हुसेनको ना ९ प ४०२५ नम्बरको मोटरसाइकलमा तोडफोड गरेका थिए । झडपमा असई हुसेन सामान्य घाइते भएका थिए । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले किशोरी पक्षका नीरज लामा र मुकेश धुन्जेललाई नियन्त्रणमा लिएर सोमबार साँझ छाडेको छ ।

प्रतिक्रिया