रुसले सिरियालाई क्षेप्यास्त्र प्रतिरोधक दिने

मस्को, ४ असार । बाह्य आक्रमणबाट सिरियालाई जोगाउन रुसले सिरियालाई क्षेप्यास्त्र निरोधक प्रणाली उपलब्ध गराउने अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले आइतबार जनाएको छ । अमेरिकालगायत पश्चिमी राष्ट्रले सिरियाली राष्ट्रपति बासर अल असदलाई सत्ताच्युत गराउन सैन्य आक्रमण गर्ने चर्चा चलिरहेका बेला रुसले सिरियालाई क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने भएको हो । क्षेप्यास्त्र प्रणालीमार्फत सिरियाले अमेरिकालगायत अन्य राष्ट्रका विमान ध्वस्त गर्ने र पानीजाहज डुबाउने क्षमता हासिल गर्ने जनाइएको छ ।
रुसको सबैभन्दा ठूलो हतियार निर्यातकर्ता रोसोबोरोनएक्पोर्टले सिरियालाई क्षेप्यास्त्र निरोधक प्रणाली उपलब्ध गराउने भएको हो । रोसोबोरोनएक्पोर्टका प्रमुख एनाटोली पी इसेकिनले शुक्रबार दिएको अन्तवार्ता उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ, ‘यो (क्षेप्यास्त्र निरोधक प्रणाली) प्रतिरक्षा क्षमता प्रवद्र्धन गर्ने राम्रो माध्यम हो । यसले अरूमाथि चुनौती सिर्जना गराउँदैन । तर, यो प्रणाली भएका राष्ट्रमाथि आक्रमण गर्नुपूर्व अरू राष्ट्रले सोच्नैपर्ने हुन्छ ।’
अमेरिकाले सिरियालाई हतियार बिक्री नगर्न रुसलाई कूटनीतिक दबाब दिरहेका बेला रुसी हतियार कम्पनीका प्रमुखको यस्तो भनाइ सार्वजनिक भएको हो । यसअघि अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले रुसले सिरियालाई युद्धक हेलिकोप्टर बिक्री गरेकामा चर्को आलोचना गर्दै हतियार बिक्री रोक्न माग गरेकी थिइन् । रुसले भने अमेरिकी आरोप अस्वीकार गरेको थियो । यसअघि भएको लिखित सहमतिअनुरूप हवाई प्रतिरक्षा व्यवस्थाका उपरण बिक्री गरिएको रुसी विदेशमन्त्री सेर्गी लाभ्रोभले प्रस्ट गरेका थिए । रुस र सिरियाबीच हतियार कारोबार प्रचलित अन्तर्राष्ट्रिय समझदारी र कानुनअनुरूप रहेको दाबी रुसले गर्दै आएको छ । विगत चार दशकदेखि रुसले सिरियालाई क्षेप्यास्त्र, युद्धक विमान, ट्यांक, आर्टिलरी र अन्य सैन्य सामग्री आपूर्ति गर्दै आएको छ । गत साता मात्रै युद्धक विमान, सैन्य हेलिकोप्टर, क्षेप्यास्त्र, हजारौँ ट्यांक, बक्तरबन्द गाडी र आर्टिलरी प्रणाली सिरिया पुर्‍याइएको थियो ।
रुसका प्रतिरक्षा विज्ञ एलेस्जेन्डर गोल्ट्सले सिरियालाई प्रतिरोधात्मक हतियार आपूर्ति गर्ने विषयलाई चर्चामा ल्याएर रुसले पश्चिमी राष्ट्रलाई सिरियामाथि सैन्य हस्तक्षेप नगर्न चेतावनीमूलक सन्देश दिन खोजेको बताए । ‘हतियार आपूर्तिसम्बन्धी वक्तव्यवाजी सिरियाको निरोधात्मक क्षमता बढाउनेतर्फ लक्षित छ । हतियार बिक्री प्रसंग चर्चामा ल्याएर रुसले सिरियामाथि आक्रमण गर्न चाहनेलाई हतोत्साही पार्न खोजेको उनको विश्लेषण छ ।
यसअघि नेटो सैनिकले लिबियामाथि आक्रमण गर्दा रुसले चर्को विरोध गरेको थियो । तत्कालीन रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले लिबियामाथि पश्चिमी राष्ट्रको आक्रमणलाई ‘मध्ययुगीन बर्बरता’ को संज्ञा दिएका थिए । अहिले पुटिन रुसका राष्ट्रपति बनेकाले रुसले सिरियाको पक्षमा दह्रो अडान लिने अनुमान गरिएको छ ।
अन्तवार्तामा इसेकिनले सिरियालाई पेन्टसिर–एस १ नामक रार्डर जडित क्षेप्यास्त्र, बुक–एम २ नामक विमानभेदी क्षेप्यास्त्र र जमिनमा राखी प्रहार गरिने बास्टियोन पानीजाहजभेदी क्षेप्यास्त्र दिने तयारी भइरहेको जानकारी दिएका छन् । (एजेन्सी)

प्रतिक्रिया