चलचित्रको आम्दानीबाट विद्यार्थीलाई सहयोग

काठमाडौं, ४  असार । चलचित्र किन लाग्छ मायाले असहाय विद्यार्थीलाई पढाइमा सहयोग गर्ने भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्रले टिकट शुल्कबापत् प्राप्त हुने रकमको केही प्रतिशत विद्यार्थीलाई सहयोग गर्ने भएको हो । प्रतिटिकट एक रुपियाँ विद्यार्थी सहयोगका लागि छुट्याइने घोषणा निर्माणसमूहले आइतबार राजधानीमा आयोजित कार्यक्रममा गर्‍यो ।
‘जेहेनदार तर आर्थिक दुरवस्थाका कारण अध्ययनबाट वञ्चित विद्यार्थीले पढ्न पाऊन् भन्ने हेतुले सो व्यवस्था गरिएको हो,’ पत्रकार भेटघाटमा निर्माण समूहले भन्यो । चलचित्रले काठमाडौंमा बिक्री हुने टिकटमध्ये प्रत्येकको एक रुपियाँ विद्यार्थीलाई दिनेछ । चलचित्रको यो अभियानलाई मेघा कलेजले पनि सघाउने भएको छ । टिकटबापत संकलन हुने रकममा अपुग रकम थप गरी एक विद्यार्थीलाई पढाउन पुग्ने छात्रवृत्तिको व्यवस्था गरिने कलेजले जनायो । कार्यक्रममा चलचित्रका निर्माता शक्तिबल्लभ घोरासैनी र मेघा कलेजका गोपाल खनालले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । ‘चलचित्रले गरेको अभियानलाई सार्थक पार्न कलेजले पनि सघाएको हो,’ खनालले भने । कार्यक्रममा जानकारी गराइएअनुसार सो छात्रवृत्तिअन्तर्गत काठमाडौंका सरकारी विद्यालयबाट जेहेनदार विद्यार्थी छनोट गरी मेघा कलेजमा कक्षा ११ र १२ नि:शुल्क अध्ययन गराइनेछ ।
कार्यक्रम छात्रवृत्ति घोषणाको भए पनि उपस्थित चलचित्र क्षेत्रका अतिथिहरूले भने नेपाली चलचित्रमा बढ्दै गएका समस्याबारे आफ्ना धारणा व्यक्त गरे । निर्माता संघका अध्यक्ष राजकुमार राईले अहिले अश्लील एवं छाडा चलचित्रको निर्माण बढ्दै गएकाले त्यसलाई निरुत्साहित पार्दै मूलधारका चलचित्र निर्माणमा जोड दिनुपर्ने धारण राखे । त्यस्तै, निर्माता तथा प्रदर्शक प्रदीपकुमार उदयले चलचित्र विकास बोर्डले सेन्सर बोर्डलाई थप सक्रिय बनाउनुका सट्टा स्कृप्ट अनुगमन टोली बनाएर संसारमा कहीँ नभएको नियम लगाउन खोजेको आरोप लगाए । उनले स्कृप्ट सेन्सर गर्नुभन्दा चलचित्र निर्माणपछि गरिने सेन्सरलाई कडा बनाउनुपर्ने बताए ।
चलचित्र किन लाग्छ माया आगामी ८ गतेदेखि देशभरका हलबाट प्रदर्शनमा आउने भएको छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार पारिएको चलचित्रमा निखिल उप्रेती, झरना थापा, राजवल्लभ कोइराला, गरिमा पन्त, शंकर लामिछाने, रवि गिरी, सुभाष गजुरेल, निर्मल शर्मालगायत कलाकारको अभिनय छ । आनन्द अधिकारी, श्यामकृष्ण श्रेष्ठ र शंकर दुलाल कार्यकारी निर्माता रहेको चलचित्रको लेखन अविनाश श्रेष्ठले गरेका हुन् भने द्वन्द्वनिर्देशन रोशन श्रेष्ठ, नृत्य रामजी लामिछाने, संगीत लक्ष्मण शेषको रहेको छ ।

प्रतिक्रिया