गायकगायिकाले तताए सभागृह

काठमाडौ :  यसै पनि गर्मीले तातेको राष्ट्रिय सभागृह विभिन्न कलाकर्मीको सांगीतिक प्रस्तुतिले आइतबार साँझ झन् तात्यो । किरात राई यायोक्खाको आयोजनामा साँझ सवा ५ बजेबाट सुरु भएको कार्यक्रमको थालनी गरे, पहिलो खोटाङ तारा अमर चाम्लिङले ।
नाना छापारी गीतबाट दर्शक तताउन सुरु गरेका उनलाई दर्शकले ताली र नृत्यले साथ दिए । दर्शकको यो उत्साह कम हुन दिइनन्, गायिका मेलिना राईले पनि । जालहारी दाइ गीतमार्फत दर्शकलाई संगीतको मोहजालमा फसाइराखिन् । करिब तीन घन्टा चलेको कार्यक्रममा नयाँ–पुराना दुवै पुस्ताका १७ कलाकारको सांगीतिक
प्रस्तुति थियो ।
गायक निश्चल राई, करण राई, सचिन राई, जनम थुलुङ र लकेश राईले स्टेज तताउँदा खोटाङ ताराबाट दोस्रो भएर खोजी प्रतिभाकोमा टप ६ मा पुगेर उत्कृष्ट हुन संघर्ष गरिरहेका रेवत राईले पनि दर्शकलाई गर्मी बिर्सने गरी नचाएका थिए ।
गायक राजेशपायल राईको प्रस्तुतिमा सबैभन्दा बढी दर्शक नाचेका देखिन्थे । दर्शन नमस्ते गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका उनले दर्शकदीर्घाबाट आएको ‘वान्समोर’को आग्रहपछि लगातार तीन गीत गाएका थिए । अभिनेता दयाहाङ राई र भिजे सेली राईले प्रस्तुत गरेको कार्यक्रममा सौम्या गुरुङलगायतले नृत्य प्रस्तुत गरेका थिए । (सौस)

प्रतिक्रिया