नगरकोटमा संगीत कार्यशाला

काठमाडौं : संगीतको वर्तमान स्वरूप एवं प्रवृत्तिसँग सरोकार राख्दै नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले छलफल चलाएको छ । ‘म्युजिक एप्रिसिएसन वर्कसप’को नाम दिँदै प्रतिष्ठानले शुक्रबार र शनिबार नगरकोटमा छलफल चलाएको हो ।
कार्यक्रममा संगीतसँग सम्बन्ध राख्ने विभिन्न विषयमा विज्ञहरूले रंगपत्रकारहरूसँग अन्तरक्रिया गरे । कार्यक्रममा लामो समयदेखि नेपाली संगीतमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्तादेखि संगीतविज्ञहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली संगीतको ऐतिहासिक विकासक्रम, सांगीतिक अनुसन्धान हुँदै समाज र संगीतको सम्बन्धका बारेमा कार्यक्रममा विज्ञहरूले प्रस्तुति दिए । संगीतकार बुलु मुकारुङ, संगीत अन्वेषक किशोर गुरुङ र मानवशास्त्री सुरेश ढकालले विषयगत प्रस्तुति दिएका थिए ।
संगीतको सुर, ताल र बाजाबारे पनि छलफल गरिएको थियो । नेपाली संगीत क्षेत्रमा प्रयोग हुँदै आएको लोकबाजबारे रामप्रसाद कँडेलले दृष्टान्त दिएका थिए । यस्तै, सुर र तालबारे क्रमश: धनबहादुर गोपाली र होमनाथ उपाध्यायले चिनारी प्रस्तुत गरेका थिए । नेपाली संगीतको बजारको अवस्थाका सम्बन्धमा नेपालयका किरणकृष्ण श्रेष्ठले प्रस्तुति दिएका थिए । यस्तै, संगीत र कला पत्रकारिताको सम्बन्ध र अवस्थाबारे वरिष्ठ पत्रकारहरू कुन्द दीक्षित, कनकमणि दीक्षित र नारायण वाग्लेले चर्चा गरेका थिए ।
प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्लले नेपाली संगीतको उत्थान र संरक्षणका लागि प्रज्ञा प्रतिष्ठानको अर्थपूर्ण उपस्थिति रहेको बताए । कार्यक्रम संयोजकका रूपमा प्राज्ञ रामकृष्ण दुवालले वर्कसपले रंग सञ्चारकर्मलाई सहयोग पुर्‍याउने धारणा राखेका थिए । आगामी दिनमा पनि प्रतिष्ठानले संगीतको विकासका लागि यस्तै वर्कसपहरू गर्ने प्रतिष्ठानका सदस्य–सचिव आभासको धारणा थियो । (सौस)

प्रतिक्रिया