संविधानमा संशोधन माग गर्दै रिट

काठमाडौं : नेपाल विद्यार्थी संघले अन्तरिम संविधानलाई संशोधन नगरी ७ मंसिरमा अर्काे संविधानसभाको निर्वाचन वा अन्य कुनै प्रकारका निर्वाचन नगराउन माग गर्दै आइतबार सर्वाेच्च अदालतमा रिट दायर गरेको छ ।
७ मंसिरमा संविधानसभाको अर्काे निर्वाचन वा अन्य निर्वाचन अहिलेकै अवस्थामा भए मतदान अधिकार भएका लाखौँ युवा मत हाल्नबाट वञ्चित हुने जिकिर गर्दै संघले अन्तरिम संविधान संशोधनको माग गरेको हो ।
अन्तरिम संविधानमा सशोधन नगरी निर्वाचन हुँदा मतदानबाट वञ्चित हुने अवस्थामा गराइएको निर्वाचनले सार्थक परिणाम नदिने रिटमा जिकिर गरिएको छ । अन्तरिम संविधानमा ०६३ मंसिर मसान्तसम्म १८ वर्ष पुगेका व्यक्तिले मात्र मतदान गर्न पाउने व्यवस्था छ । संघले ०६३ मंसिर मसान्तपछि लाखौँ युवा बालिग भइसकेकाले अन्तरिम संविधान संशोधन गर्नुपर्ने माग गरिएको छ । विद्यार्थी नेता सुशील भट्टसहित ६ जनाले दायर गरेको रिटमा प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय र मन्त्रिपरिषद्लाई विपक्षी बनाइएको छ । (सौस)

प्रतिक्रिया