बालुवाटारबाट गलहत्याएर निकाल्छौ

काठमाडौ, ३ असार । प्रतिपक्षी दलहरुले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले निकास दिन सहमतिमा बालुवाटार नछाडे घिसारेरै भएपनि गलहत्याउने चेतावनी दिएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भट्टराईले सहज रुपमा बालुवाटा नछाडे घिसारेर निकाल्ने बताए । ‘तत्कालिन बैद्यानिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बालुवाटारबाट घिसारेर निकाल्ने अभिब्यक्ति दिने भट्टराईले निकास दिन नमाने बालुवाटारबाट घिसारेर निकाल्ने छौं,’ उनले भने ।
रिजालले भने, ‘ब्राजिल भ्रमणले एमाओवादी निर्वाचन होइन, निर्वाचनको नाममा सत्तामा टिकिरहन चाहन्छ भन्ने पुष्टि भएको छ ।’
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले प्रधानमन्त्रीसँग अहिलेसम्म भएका गल्ती स्वीकारेर बालुवाटार छाड्नुको विकल्प नभएको बताए ।
निकासका लागि सहयोग नगरे भट्टराईलाई लोकतन्त्रवादीहरुको आन्दोलनले गलहत्याएर हटाउने उनको चेतावनी थियो ।
मुलुक चरम संकटमा रहेका बेला प्रधानमन्त्रीको विदेश भ्रमण लाजमर्दो र गैरजिम्मेवार पूर्ण भएको उनले बताए ।

प्रतिक्रिया