सत्ता केन्द्रित राजनीतिले संविधान बनेन

काठमाडौं, ३ असार । राष्ट्रपति डा.रामवरण यादवले विघटित संविधानसभाका दलका प्रमुख नेताहरुसँग भेटगरी राजनीतिक गतिरोधको छिटो अन्त्य गर्न सुझाव दिएका छन् ।
उनले प्रमुख दलहरुको सत्ता केन्द्रित राजनीतिका कारण समयमा नयाँ संविधान बन्न नसकेको समेत बताएका छन् । सो क्रममा आफूबाट पनि जिम्मेवारी पुरा गर्दा केही गल्ती भएको समेत स्वीकार गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको चियापान तथा सामूहिक भेटघाटका क्रममा लामो समयसम्म पनि सहमतिको प्रयास नभएकोमा प्रमुख दलका नेताहरुसँग डा.यादवले असन्तुष्टि जनाएको नेताहरुले बताएका छन् ।
‘संवैधानिक तथा राजनीतिक निकास दिने वैद्य संयन्त्रको अभाव पैदा भएको छ’ दलहरुसँगको भेटपछि राष्ट्रपतिद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यो अवस्थाबाट राजनीतिलाई पुनः लोकतान्त्रिक लिकमा फर्काई विधिको शासनलाई निरन्तरता दिनका लागि जनआन्दोलन र अन्तरिम संधिवानको मर्मअनुरुप सम्पूर्ण राजनीतिक शक्तिहरुबीच आपसी विश्वास सदभाव र सहमति कायम हुनु अपरिहार्य देखिन्छ ।’
डा.यादवले राजनीतिक शक्तिहरुसँगै नागरिक समाजलगायत सवै पक्षहरु एक अर्काबाट टाढिएर नभई एकै मिलनविन्दुमा रहेरमात्र मुलुकलाई निकास दिन सकिने बताए ।
राष्ट्रपति डा.यादवले संविधान निर्माण भन्दा दलहरु सत्ताका लागि केन्द्रित हुँदा वर्तमानस्थिति आएकोसमेत विज्ञप्तीमा जनाएका छन् ।
‘संविधान निर्माणका लागि सहकार्य गर्नेभन्दा सरकारको गठन र विघटन गर्नेतर्फ उन्मुख हुँदा समय खेर गएकै हो,’ डा.यादवले भने, ‘शान्ति र संविधानको विषयमा सहमति जुटाउने कार्यमा अथक प्रयास गर्दागर्दै पनि म बाट केही कमजोरी भए कि ?’
लामो समय देखि प्रमुख दलहरुका आ–आफ्नै अडानका कारण राष्ट्रिय राजनीतिले गतिलिन नसकी रहेका समयमा डा.यादवले सबै दलसँग परामर्श गरेका हुन् ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष खनालले एमाओवादीको अध्यादेशका आधारमा शासन गर्ने पद्धतिप्रति सबै दलको गम्भीर आपत्ति रहेको बताए । उनले अन्तरिम संविधानले गरेको व्यवस्थाअनुरुप अभिभावकीय भूमिका निर्वाह गर्न पनि आफूले डा.यादवलाई आग्रह गरेको जानकारी दिए ।
खनालले मुलुकलाई निकास दिन राष्ट्रपति डा.यादवले भूमिका निर्वाह गर्नुपर्ने दोहराए । उनले भने, ‘मुलुकमा सरकार छैन, सरकारविहीन अवस्थामा राष्ट्रपतिले भूमिका खेल्नुपर्छ ।’
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ठूलो दलको हैसियतले आफूले दलीय परामर्श थालिसकेको बताए । उनले शुरु भएको सहमतिको प्रयासले छिट्टै परिणाम देखाउने बताए ।
कांग्रेस सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनलगायत वर्तमान राजनीतिक संकटबाट देशलाई निकास दिन एमाओवादी गम्भीर हुनुपर्ने बताए ।
राष्ट्रपति डा.यादवले विघटित संविधानसभाका ३२ दलका प्रमुख नेतालाई चियापान र भेटका लागि बोलाएका थिए । भेटमा एमाले अध्यक्ष  खनालले राष्ट्रपति डा.यादवसँग केही समय अलग भेट गरेका थिए ।

प्रतिक्रिया