भाषण होइन, सहमति गर

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले खुलामञ्चबाट सहमतिका लागि अन्य राजनीतिक दललाई अपिल गरेका छन् । दलहरूबीच सहमति नभएकै कारण मुलुकले अहिलेको विषम परिस्थितिको सामना गर्नु परिरहेको छ । यसप्रति दाहाल मात्र होइन, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल पनि त्यत्तिकै संवेदनशील देखिएका छन् । वास्तवमा सबै दलका शीर्ष नेताले राजनीतिक रूपले जटिल बन्दै गएको राष्ट्रको भविष्य सहमतिले मात्र सहज बनाउन सक्छ भन्ने बुझेका छन् । तर, विडम्बना कस्तो छ भने नेताहरूबीचमा विश्वासको संकट अत्यन्त गहिरो बन्दै गएको छ । एक नेताले सहमति अथवा घोषणा गरेको कुरा अर्कोले पटक्कै विश्वास नगर्ने अवस्था सिर्जना भएको छ । यस विषयमा अन्य दलका नेताले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थोरै पनि विश्वास गर्न नसकिने निष्कर्ष निकालेका छन् । भित्र एउटा निर्णय गर्ने र बाहिर व्यवहार त्यसको ठीक उल्टो गर्ने ‘प्रचण्ड प्रवृत्ति’ भनेर उनकै पार्टीका नेताले नै आरोप लगाएपछि सहमतिका लागि खुलामञ्चबाट गरिएको अपिललाई पनि त्यही रूपमा लिएको पाइन्छ । यो विश्वासको संकट हटाउन अध्यक्ष दाहाल आफैँले पहल गर्नुपर्ने देखिन्छ । अन्यथा उनी ‘अविश्वास’को प्रतीक बन्नेछन् भने मुलुक अझ संकटतिर धकेलिनेछ ।
खुलामञ्चबाट दाहालले सहमतिको अपिल मात्र गरेनन् अन्य दललाई हियाउने र ललकार्ने काम पनि गरे । ‘अरूले गीत गाएको र नानीको बाउले सुसेलेको’ प्रसंग निकाल्दै उनले दम्भ प्रदर्शन पनि गरे । २६/२७ गतेको आमसभाप्रति लक्षित दाहालका शब्दहरू सहमति बनाउने होइन, बिगार्ने खालका थिए । माओवादीले अहिलेसम्मको सबैभन्दा ठूलो शक्ति प्रदर्शन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई पदबाट हटाउनका लागि गरेको थियो । ६ दिन लामो ‘विशाल’ जनआन्दोलन भोग्नेले त्यसबेला ‘नानीको बाउले गीतै गए’ पनि आकाश खसेन भनेका थिए । उनीहरूका लागि दाहालको ललकार चित्तबुझ्दो थिएन । तर, दाहाल अभिव्यक्तिको खास अर्थ नभए पनि उनमा पनपिएको दम्भ र हुर्किएको अहं भने सहमति र सहकार्यको मार्ग अवरुद्ध गर्ने प्रकृतिका थिए । दाहालमा अन्य दलसँग सहमति गर्ने र मुलुकलाई सही ‘ट्रयाक’मा हिँडाउने चाहना छ भने उनले खुलामञ्चबाट अरूलाई ललकार्न छाडेर कांग्रेस र एमालेका नेतासँग प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा वार्ता थाल्नुपर्छ । अन्यथा उनको अपिलले कुनै अर्थ राख्नेछैन ।
वर्तमान विषम परिस्थितिमा सहमति र सहकार्यको अलापविलापको कुनै अर्थ छैन । गम्भीरतापूर्वक वार्ता गर्ने, निष्कर्ष निकाल्ने र कार्यान्वयन गर्ने हिम्मत गर्न सक्नुपर्छ । त्यसले मात्रै सही अर्थमा अहिलेको राजनीतिक परिस्थितिप्रति चिन्तित भएको ठान्न सकिन्छ । माओवादी अध्यक्ष दाहालले अन्य दललाई सहमति र सहकार्यका लागि मनाउन सक्ने उपाय सुझाउने ठानिएको आमसभामा ललकार्ने काम गरे । यसलाई उनले सुधार्नुपर्छ । संविधानसभाको निर्वाचन घोषणा गर्दा सरसल्लाह र सहमति हुन नसक्नुका कारणले झन् ठूलो समस्या उत्पन्न भएको छ । संविधान, नियम, कानुन संशोधन नै नगरी संविधानसभाको दोस्रो निर्वाचन घोषणा गरेर प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि हास्यपात्र बनेका छन् । यसलाई समेत मिलाउन सक्ने गरी उपस्थित हुनुपर्ने अध्यक्ष दाहाल आफैँ अविश्वासको प्रतीक बन्नु हुँदैन । अहिलेको संकटको एक मात्र निकास सहमति नै हो । यो पन्छाउनै नसक्ने सहमतिलाई दलहरूले ‘घाँडो’ का रूपमा बुझ्ने गल्ती गरे । अब पनि गल्ती दोहोर्‍याइरहने हो भने दलहरूको औचित्यमाथि प्रश्न, नेतृत्व क्षमताप्रति शंका र राष्ट्रका साथै जनताप्रति गरेको गद्दारी ठहरिने स्थिति आउँछ । यसर्थ को कति बलियो छ भन्ने हिसाबकिताब गर्नुभन्दा कसरी मिलेर अगाडि बढ्ने, कसरी संकट समाधान गर्ने र समस्या समाधानका लागि कुन कुन उपाय अवलम्बन गर्ने भन्नेतर्फ सोच्नुपर्छ । र, छिटोभन्दा छिटो सहमति गरेर दलका शीर्ष नेताले वर्तमान संकट समाधान गर्नुपर्छ ।

प्रतिक्रिया