दुई निर्देशकलाई “झोला” दिएपछि विवाद

काठमाडौं, ३ असार । साहित्यकार कृष्ण धरावासीको बहुचर्चित कृति झोलामाथि चलचित्र बनाउनेबारे दुई निर्देशकबीच तनाब बढेको छ । धरावासीले निर्देशकहरू रमेश बुढाथोकी र यादवकुमार भट्टराई दुवैलाई चलचित्र बनाउन स्वीकृति दिएपछि विवाद तन्किएको हो । अहिले दुवै निर्देशक आफूले नै सो कृति र शीर्षकमाथि चलचित्र बनाउन पाउनुपर्ने दाबी गरिरहेका छन् ।
साहित्यकार धरावासीले १६ असार २०६३ को इजाजतपत्रमा हस्ताक्षरसहित मिडिया फर कल्चर प्रालिका सञ्चालक भट्टराईलाई उक्त कृतिमा चलचित्र बनाउने प्रयोजनार्थ प्रतिलिपि अधिकार दिएको उल्लेख गरेका छन् । पत्रमा भनिएको छ– ‘तपाईं यादवकुमार भट्टराईले यस कथामा कथानक चलचित्र निर्माण गरी प्रदर्शनसमेत गरेमा मेरो मन्जुरी छ भनी यो कागज लेखी म कृष्णप्रसाद धरावासी (भट्टराई) द्वारा लिखित उक्त कथाको प्रतिलिपि अधिकार तपाईं यादवकुमार भट्टराईलाई दिएँ ।’
धरावासीले सो प्रतिलिपिअधिकार कति वर्षसम्मका लागि दिएका हुन् भन्नेबारे भने उल्लेख छैन । त्यसपछि यादवले झोला शीर्षकमा चलचित्र बनाउन चलचित्र विकास बोर्डबाट पनि इजाजत लिइसकेका छन् । बोर्डले १८ माघ २०६६ मा यादवलाई सो शीर्षकमा चलचित्र बनाउन इजाजतपत्र जारी गरेको छ । सो पत्रमा बोर्डका तर्फबाट निर्माण अधिकृत डिजन भट्टराईको हस्ताक्षर छ ।
तर, धरावासीले २०६८ माघमा सोही बेहोराको कागज गरी अर्का निर्देशक रमेश बुढाथोकीलाई पनि झोलामाथि चलचित्र बनाउन अनुमति दिएछन् । अहिले दुवै निर्देशक आफूले अधिकार पाएको भन्दै चलचित्र निर्माणको तयारीमा जुटेपछि समस्या उत्पन्न भएको हो । बोर्डको नियमावलीअनुसार एउटै नामबाट दुई जनाले चलचित्र बनाउन पाउँदैनन् ।
धरावासीले दुई निर्देशकबीच विवाद हुने काम किन गरे त ? भने, ‘यादवले लामो समयसम्म पनि चलचित्र नबनाएपछि त्यसको प्रतिलिपिअधिकार अर्कैलाई दिएको हुँ ।’ धरावासीका अनुसार पहिले अधिकार लिएका यादवले प्रक्रिया नै सुरु नगरेको र लामो समयसम्म सम्पर्कमा पनि नआएपछि उनले सो कदम चालेका हुन् । उनले भने, ‘आफूले लेखेको कथामाथि कसैले चलचित्र बनाउँछु भन्दा किन नदिने, यादवले बनाउलान् जस्तो लागेन, त्यसैले निर्देशक बुढाथोकीलाई अधिकार दिएँ ।’
अहिले सो कथाको अधिकार आफूले बुढाथोकीलाई दिएपछि यादवलाई दिएको अधिकार स्वत: खारेज हुने तर्क धरावासी गर्छन् । भन्छन्, ‘सात वर्षसम्म चलचित्र नबनाउनेले अब अधिकार पाउँदैन ।’
उता यादव भने आफूलाई दिइसकेको अनुमति फेरि अर्कोलाई दिनु धरावासीको ठगी प्रवृत्ति बताउँदै झोला टाइटलमा चलचित्र बनाउने अधिकार आफूलाई मात्र रहेको दाबी गर्छन् । उनको तर्क छ, ‘विकास बोर्डमा मैले नै नाम दर्ता गराएको हुँ, अब अरूले कसरी बनाउन पाउँछ ।’ कथाको प्रतिलिपि अधिकार आफूले लिइसकेकाले सर्जकको मृत्यु भएको २५ वर्षसम्म पनि त्यो अधिकार आफूलाई मात्र रहने तर्क उनी अघि सार्छन् । भन्छन्, ‘अहिले त भर्खर सात वर्ष न भएको छ ।’ उनले थपे, ‘त्यसरी मलाई दिइसकेको प्रतिलिपि अधिकार फिर्ता नलिई फेरि अर्काे व्यक्तिलाई दिन कसरी मिल्छ ?’ बुढाथोकीले निर्माणको तयारी सुरु गरेपछि यादवले पनि भदौ तेस्रो साताबाट छायांकन गर्ने गरी तयारी सुरु गरेका छन् ।
उता लेखक धरावासी भने अब कुनै पनि हालतमा यादवलाई सो कथामा चलचित्र बनाउन नदिने बताउँछन् । भन्छन्, ‘जहाँ जान परे पनि जान्छु, प्रतिलिपि अधिकार फिर्ता लिएरै छाड्छु ।’ उनले थपे, ‘चलचित्रै नबनाएर ओगटेर बस्ने अनि अर्कोले बनाउँछु भनेर निर्माण सुरु गरेपछि विवाद उठाउने ?’
निर्देशक रमेश बुढाथोकी पनि सर्जकले पछिल्लोचोटि आफूलाई अधिकार दिएकाले पछि नहट्ने मुडमा देखिएका छन् । भन्छन्– ‘मैले लेखकको स्वीकृतिमा गीत रेकर्डिङलगायत थुप्रै तयारी अघि बढाइसकेको छु । अहिले आएर विवाद निकाल्दैमा चलचित्र कहाँ रोकिन्छ र ?’ उनले यो लेखकको कुरो भएकाले उनैले मिलाउनुपर्ने पनि बताए । ‘लेखकले नरोकेसम्म चलचित्रको काम अघि बढिरहनेछ,’ बुढाथोकीले थपे ।

प्रतिक्रिया