‘दूधको भुक्तानी २० दिनभित्र’

चितवन, ३ असार । चितवनको ठिमुरामा रहेको चितवन मिल्क लिमिटेडले बीस दिनभित्र किसानका सम्पूर्ण तिर्न बाँकी रकम भुक्तानी गर्ने तयारी गरेको छ । शुक्रबार पत्रकारसम्मेलन गरेर कम्पनीले रकम चुक्ता गर्ने जानकारी दिएको हो ।

कारखाना प्रमुख उदयराज पण्डितले करिब डेढ करोड रुपियाँ बक्यौता तिर्न बाँकी रहेको बताए । तीन वर्षअघि उत्पादन थालेको कम्पनीले धुलो दूध, स्किम मिल्क, स्ट्यान्डर्ड दूध, पनिर, घिउ, बटरलगायतका सामग्री उत्पादन र बिक्री गर्दै आएको छ । यसमध्ये सबैभन्दा बढी स्किम मिल्क अर्थात् दुग्ध उत्पादक उद्योगले प्रयोग गर्ने पाउडर कुल उत्पादनको ८५ प्रतिशत उत्पादन हुने पण्डितले जानकारी दिए ।
कारखानाका अनुसार पाउडर दूध बजारमा तीन महिनादेखि बिक्री नहुँदा कम्पनीलाई सञ्चालन खर्च जुटाउनसमेत समस्या परेको छ । सस्तो र कम गुणस्तरीय भारतीय पाउडर दूधको आयातका कारण कम्पनीले उत्पादन गरेको चार सय टन स्किम मिल्क गोदाममै राख्नुपरेको दाबी कारखानाले गरेको छ । चितवन मिल्क पाउडर दूध उत्पादन गर्ने नेपालकै एकमात्र कम्पनी हो ।
चितवन मिल्कले लामो समयदेखि दूधको भुक्तानी नदिँदा आफूहरू मर्कामा परेको गुनासो दुग्ध उत्पादक किसानले गर्दै आएका छन् ।
चितवन मिल्कले किसानले संकलन गरेको दूध सहकारीमार्फत लिने गरेको छ । दूध खरिद गरेको २५ औँ दिनमा भुक्तानी गर्नुपर्ने भए पनि सात महिनाअघिको दूधको रकमसमेत भुक्तानी नभएको पाञ्चायन दुग्ध उत्पादक सहकारी संस्था पिठुवाका उपाध्यक्ष हेमलाल तिवारीले बताए ।
उनका अनुसार चितवन मिल्कले २१ लाख २५ हजार रुपियाँ सहकारीलाई तिर्न बाँकी छ । ‘पटक पटक भुक्तानी माग गरेका छौँ, तर हरेकपटक एउटा/एउटा बाहना पारेर दूध लगेको भुक्तानी दिइएको छैन,’ उपाध्यक्ष तिवारीले भने । उनले चितवन मिल्कले दूधको भुक्तानी नदिएपछि आफूहरूले अन्य कम्पनीमा दूध बिक्री गर्न थालेको बताए ।
चितवन मिल्कले पश्चिम चितवनको ब्रह्म डेरी दुग्ध उत्पादक संस्थालाई पनि दुई महिनाको रकम भुक्तानी गर्न बाँकी छ । संस्थाकी अध्यक्ष प्रभा पौडेलले १५ दिनमा भुक्तानी दिने सम्झौता भए पनि दुई महिनादेखि भुक्तानी नदिँदा सहकारी नै अप्ठ्यारोमा परेको बताइन् । उनले दूध बिक्री गरेको भुक्तानी नपाउँदा उधारोमा किनेको चोकरको पैसा तिर्न नपाएको गुनासो गरिन् ।
चितवन मिल्कले लामो समयदेखि दूधको भुक्तानी नगरेपछि पश्चिम चितवनका दुग्ध उत्पादक सहकारीका केही किसान कार्यालयमा नै डेलिगेसन पनि गएका थिए । उनीहरूले आफूहरूले उत्पादन गरेको दूधको मूल्य चाँडो भुक्तानीको माग गरेका थिए ।

प्रतिक्रिया