लगानीमैत्री वातावरण बनाउन माग

बुटवल, ३ असार । सरकारले औद्योगिक सुरक्षाको ग्यारेन्टी नगरेसम्म लगानी बढ्न नसक्ने भन्दै यस क्षेत्रका उद्यमी तथा व्यवसायीले सरकारलाई लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेका छन् । नेपाल इकोनमिक एन्ड म्यानेजमेन्ट सोसाइटी (नेकोम्स)ले भैरहवामा आयोजना गरेको अधिक तरलता, चर्को ब्याजदर र लगानीमा यसको प्रभाव विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो चिन्ता गरेका हुन् ।

कार्यक्रममा उद्यमी/ व्यवसायीले औद्योगिक सुरक्षाको अवस्था नाजुक रहेको गुनासो गरे । उद्यमी/व्यवसायी लगानीको सुरक्षा हुनेबारे ढुक्क हुन नसकेको र सरकारले सुरक्षाको प्रत्याभूति बनाउन नसकेको भन्दै उनीहरूले दण्डहीनता अन्त्यको पनि माग गरे ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका सल्लाहकार चन्द्रमान श्रेष्ठले सुरक्षाका कारण ठूला उद्योगपतिसमेत उद्योग बन्द गरी बंैकिङ क्षेत्रमा प्रवेश गर्न थालेकामा चिन्ता व्यक्त गरे । विभिन्न समूहका नाममा आउने चन्दाको धम्की, आतंक, पटके बन्द–हडताल र युनियनका नाममा हुने गतिविधिले पनि पनि उद्योग क्षेत्र त्रसित भएको उनले बताए । सिदार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु शर्माले औद्योगिक सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरे । अर्थविद् डा. रामचन्द्र आचार्यले राजनीतिक अस्थिरताका कारण लगानी वृद्धि हुन नसकेको बताए ।
कार्यक्रममा वित्तीय संस्था सञ्चालकहरूले राजनीतिक अस्थिरतासँगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गत वर्ष कर्जा निक्षेप अनुपात ८० प्रतिशत कायम राख्न दिएको निर्देशनका कारण तरलता बढेको बताएका थिए । राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्न निक्षेप संकलन बढाउनु बाध्यता भएकाले ब्याजदर वृद्धि बढेको उनीहरूको भनाइ छ । वित्तीय संस्थाले आकर्षक ब्याजदर दिएर निक्षेप संकलन गर्नु, डलरको भाउ बढ्नुु, रेमिटेन्सको मात्र भर, राजनीतिक अस्थिरताका कारण व्यावसायीद्वारा लगानीमा चासो नदेखाउनुजस्ता कारणले तरलता बढेको अर्थविद्हरूको विश्लेषण छ ।
व्यवसायी विजय पाण्डेले राजनीतिक अस्थिरताका कारण उद्योगीहरू बंैकतर्फ लगानी गर्न आकर्षित हुन थालेको बताए । बैंकहरू तरलता घटाउनका लागि ब्याजदर घटाउने र लगानी बढाउनेतर्फ लाग्नुपर्ने उद्योगीको माग छ । सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले ब्याजदर बढे पनि उद्योगीका लागि लगानीमैत्री वातावरण हुन नसकेको बताए ।

प्रतिक्रिया