‘सहकारीमार्फत विदेशपलायन रोक्न सकिन्छ’

काठमाडौं, ३ असार । सरकारले सहकारीमार्फत युवा आकर्षित गर्ने कार्यक्रम ल्याउनसके लाखौँ जनशक्ति विदेश पलायन हुनबाट रोक्नसकिने सहकारीकर्मीले बताएका छन् । अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ का अवसरमा ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयोजना गरेको समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रमका वक्ताले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक तथा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष केबी उप्रेतीले उत्पादनमुखी काममा बैंकले लगानी गर्ने नीति रहेको बताए ।
‘सदस्य संस्थाका पशुपालक किसानलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने छौँ,’ उप्रतीले भने । सहकारी संघ/संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेकामा उनको जोड थियो ।
नेपाल केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष माधव कोइरालाले नेपाल सरकारले भारतमा जस्तो पशुपालनलाई प्राथमिकता दिई सम्मानित पेसाका रूपमा स्थापित गर्न युवा शक्ति विदेश पलाएन भएको धारणा राखे ।
दुग्ध विकास बोर्डकी अनुसन्धान अधिकृत डा. हर्षनामैया श्रेष्ठले पशुपालक कृषकलाई ५० हजार देखि दुईलाख रुपियाँसम्म अनुदान दिन आर्थिक वर्ष ०६९/७० का लागि नियमित बजेट दुई करोड रहेकामा दुई करोड रुपियाँको बजेट थप गरी सरकारसमक्ष प्रस्ताव गरिएको बताइन् ।
यसमा पशुपालक किसान तथा सहकारी संघ/संस्थालाई सहुलियत प्रदान गर्नका निम्ति विभिन्न उपकरण खरिद गर्न एमसी मेसिनलाई ५० लाख, दूध चिस्यान केन्द्र निर्माणलाई ५० लाख, दूध दुहुने मेसिनलाई ५० लाख र ६२ जिल्लामा दूध उत्पादन सम्बन्धमा सफ्टवेयर प्रविधिमार्फत तथ्यांक संकलनलाई गरी बजेटमा थप गर्न प्रस्ताव गरिएको उनले जानकारी दिइन् ।
ललितपुरमा हाल सहकारीका सदस्य तथा गैरसदस्यमार्फत वार्षिक ७५ करोड रुपियाँ बराबरको करिब डेढ करोड लिटर दूध बिक्री हँुदै आएको संघले जनाएको छ । संघमा ५४ दुग्ध उत्पादक सहकारी संस्था आबद्ध छन् । ती संस्था्मार्फत डेढ करोड रुपियाँ बराबरको १३ हजार लिटर दूध बिक्री हुने गरेको संघले बताएको छ ।

प्रतिक्रिया