हामीले फेरि माया पायौँ


बाहिर एक्कासि डाङडाङ र डुङडुङको आवाज आउन थाल्यो । साँझको खाना भर्खर खाइसकेका हामी झसंग भयौँ । चर्को आवाजका कारण खुब आत्तियौँ पनि । आमाले हत्तपत्त ढोका लगाउनु भयो । झ्याल र आँखीझ्यालमा पनि चुकुल मार्नु भयो । हामी आमासामु एउटै पोको परी बस्यौँ ।
त्यो अनिष्टकारी आवाज झन्झन् चर्को चर्को हुँदै गयो । बेलाबेलामा मान्छेको कोलाहल र चिच्याहट पनि सुनिन थाल्यो । जति कान थुने पनि हाम्रै घरमाथि हजार मेघ गर्जेजस्तो आवाज आई नै रह्यो ।
‘लौन तिमीहरूका बालाई केही त भएन, अब के गर्ने होला ?’ आमा आत्तिँदै बिलौना गर्न थाल्नुभयो, ‘जान त सबैका घरबाट गएका छन् क्यारे, धुरलौरो उपस्थितिको उर्दी थियो । हे भगवान् १ कसैलाई पनि केही नहोस् ।’
‘खबरदार १ कोही बाहिर निस्केला १ कसैले पनि झ्यालढोका नखोल्नु ।’ एकैछिनपछि माइकबाट कोही फलाकिरहेको सुनियो । माइकको आवाजपछि झ्याल होडे पारेर बुबाको बाटो हेरिरहनुभएकी आमाले त्यो झ्यालको पनि चुकुल लगाउनुभयो ।
डरलाग्दो आवाज निरन्तर आई नै रह्यो । बीचबीचमा केहीबेर शान्त भएजस्तो हुन्थ्यो । अनि फेरि मुटु नै फुट्लाजस्तो कर्कश र चर्को आवाजको फोहोरा छुट्थ्यो । मानिसहरू चिच्याइरहेको पनि सुनिन्थ्यो । यस्तो आवाज धेरैजसो हाम्रै स्कुलतिरबाट आइरहेको थियो ।
हाम्रो होसहवास उडिसकेको थियो । आमा पनि आत्तिइरहनुभएको थियो र बलिन्द्र धारा आँसु खसाल्दै रोइरहनुभएको थियो । भाइ र म आमासँगै रुँदारुँदै कतिखेर निदायौँ, पत्तै भएन ।
भोलिपल्ट हामी ब्युँझदा गाउँ सुनसान थियो । बुबालाई अस्पताल लगिएको छ भन्ने सुनेर आमा बिहानै हिँड्नुभएछ । पल्लाघरे काकीबाट हामीले थाहा पायौँ ।
भाइ र म डराउँदै बाहिर निस्क्यौँ र सरासर स्कुलतिर लाग्यौँ । स्कुलको भित्तामा ठूलो भ्वाङ परेको थियो । म हतारिँदै झ्यालबाट आफ्नो कक्षाकोठामा चियाउन दगुरेँ । हाम्रा डेक्सबेन्चहरू त जलेर खरानी भएछन् । केही अझै धुवाँइरहेका थिए । मलाई ननिको लाग्यो ।
काकीहरू, फुपूहरू र केही बूढापाका गाग्री र बाल्टिनमा पानी ओसार्दै आगो निभाइरहेका थिए । ‘मालती यता नआऊ, घरमै बस जाऊ, भाइलाई पनि लैजाऊ’, वसन्ती फुपूले मलाई फर्काइदिनुभयो ।
आमाले बुबा भेट्नपाउनु भएनछ । उहाँ त्यसै फर्कनुभयो । हामीले धेरै दिनसम्मै बुबालाई भेट्न पाएनौँ । स्कुल बन्द भयो । सर मिसहरूको पनि अत्तोपत्तो थिएन । गाउँमा बूढाबूढी, आइमाई र केटाकेटी मात्र थिए । लोग्नेमान्छेहरूमध्ये कसैलाई सिपाहीले लगे भन्थे । कोही अस्पतालमा छन् भन्थे । अरू कतिचाहिँ कहाँ छन््, कसैलाई थाहै थिएन ।
त्यो घटनापछि गाउँले एक–आपसमा कुराकानी पनि कम गर्न थाले । घाम अस्ताउन नपाउँदै सबैका घरमा ढोका लागिसक्थे । हामी आफ्नै छिमेकीको ओल्लोपल्लो घरमा जाँदा पनि ‘लौ घर जाओ, घर जाओ’ भन्दै पठाइहाल्थे । हामीलाई औधी माया गर्नेहरूले पनि वास्तै गर्न छाडे । बुबा फर्कने बाटो हेरेर हामी कुरिरह्यौँ, कुरिरह्यौँ ।
एकदिन बुबा टुप्लुक्क घर आइपुग्नुभयो । बुबा आउँदा हामी औधी खुसी थियौँ तर त्यो खुसीमा एउटा गहिरो पीडा पनि मिसिएको थियो । त्यो के भने बुबा बैसाखी टेकेर आउनुभएको रहेछ र जीवनभर अब उहाँलाई बैसाखी नभइनहुने भएछ ।
पढाइ त छुट्यो नै, हामीले घरबाट कतै निस्कन पनि पाएनाँै । डाँडाखर्कको बाटो ब्यारेकले बन्द गरेको थियो । अन्त जान पनि ‘धराप थापेको छ है कतै नजानु’ भन्थे । ‘खेलौनाजस्ता देखिने वस्तु नछुनु’ भनेर रेडियोले भनिरहन्थ्यो । गाउँलेहरू खासखास खुसखुस कानेखुसी गरिरहन्थे । हामी केही थाहा पाउन्नथ्यौँ ।
यसरी नै लामो समय बित्यो । घरमै पनि थुनिएझैँ गरी हामीले धेरै धेरै दिनहरू काट्यौँ ।
धेरै पछि भएपछि ‘कुरा मिल्यो रे, शान्ति भयो रे’ भन्ने गाउँमा हल्ला चल्यो । गाउँबाट हराएकाहरू फाट्टफुट्ट गरी गाउँमै फर्कन थाले । गाउँलेहरू बिस्तारै हामीसँग पनि बोल्न थाले । याताउति हिँड्न सजिलो हुँदै गयो । डाँडाखर्कको बाटो पनि खुला भयो । गाउँलेहरू जम्मा भएर छलफल गरे अनि जलेको स्कुल फेरि बनाउने र पढाइ चलाउने निधो गरे ।
फेरि स्कुल बनाउन थालियो । सिकर्मीले झ्यालढोका बनाए । डकर्मीले गारो लगाए । कोही माटो मुछ्ने, कोही ढुंगा फुटाउने । कोही काठ ताछ्ने, कोही खाजा बनाउने । कसैका हात खाली थिएनन् । हामीले पनि काठ र ढुंगा समाउन दिनेजस्ता सकेका काममा सघायौँ । सकेको र जानेको काम सबैले मन फुकाएर गरे । डाँडाखर्क ब्यारेकका सिपाहीले पनि स्कुल बनाउन मद्दत गरे । केही दिनमै पहिलेको भन्दा पनि राम्रो स्कुल तयार भयो ।
स्कुल तयार भएको दिन गाउँमा ठूलो कार्यक्रम गरियो । सबैले शान्ति, विकास र शिक्षाका बारेमा कुरा गरे । उनीहरूले स्कुल बिगारेर पढाइ बन्द गरेकामा केटाकेटीसँग माफी पनि मागे ।
कार्यक्रमको अन्त्यमा खुसीले गदगद भएका डाँडाखर्क ब्यारेकका जुँगे हवल्दार कम्मर मर्काई–मर्काई नाच्न थाले । बैसाखी छाडेर हाम्रा बुबा पनि जुँगे हवल्दारको हात समाउँदै छमछमी नाच्नुभयो ।
गाउँलेहरू फेरि मन खोलेर बोल्न थाले । स्कुलमा फेरि पढाइ चल्यो । धेरैपछि प्यारा सर–मिसहरूसँग हाम्रो फेरि भेट भयो । सर–मिस मात्र हो र, काका–काकीहरू, मामा–माइजूहरू, ठुलोबा–ठुलीआमाहरू, हजुरबा–हजुरआमाहरू सबै सबैजनाबाट फेरि हामीले उस्तै मीठो माया पायौँ ।

प्रतिक्रिया