जेभियरका राम्रा शिक्षक बाहिरिँदै

काठमाडौं : कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजका केही राम्रा शिक्षकले छाड्ने तयारी गरेका छन् । कलेज प्रशासनले विद्यार्थीबाट चर्को शुल्क असुले पनि सुविधा नदिएको भन्दै उनीहरू छाड्ने तयारीमा पुगेका हुन् । कलेजमा एक शिक्षकका अनुसार त्रिभुवन विश्वविद्यालयमा पढाउने केही शिक्षकबाहेकलाई पारिश्रमिक कम दिइनुका साथै समयमा तलबसमेत दिइएको छैन । एक शिक्षकले भने, ‘फ्रेस शिक्षकलाई फुल टाइम काममा लगाएको छ तर कम पारिश्रमिक दिइनुका साथै लामो समयदेखि तलब पनि दिइएको छैन ।’
‘चार महिनाको पारिश्रमिक नपाएपछि पढाउन छाडेँ,’ भर्खरै कलेज छाडेका ठाकुर तिमल्सिनाले भने, ‘कलेजले बोलाएर शिक्षकलाई तलब दिएको थाहा छैन ।’ उनका अनुसार शिक्षकहरूले सात महिनासम्मको पारिश्रमिक पाउन बाँकी भए पनि पढाइरहेका छन् । छाडेर गएका कयौँ शिक्षकले अहिलेसम्म पनि पैसा पाएका छैनन् । ‘एक महिनाको दिएर झुलाउँछन्,’ तिमिल्सिनाले भने, ‘जति महिनाको बाँकी भए पनि माग्न गए एक महिनाको दिएर टार्ने गरेका छन् ।’ पारिश्रमिक नपाएपछि कलेज छाड्नेको संख्या बढिरहेको पाइएको छ ।
स्रोतका अनुसार विद्यार्थीको मासिक शुल्कबाट जेभियर इन्टरनेसनल कलेजले बैंकबाट लिएको ऋणको ब्याज तिर्दै आएको छ । कतिपय शिक्षकले कलेज ‘डुब्न’ थालेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । त्रिविमा पढाउने र उनीहरूका नाम देखाएर संस्था चलाएका शिक्षक र सञ्चालकका नजिकका व्यक्तिलाई मात्र समयमै पारिश्रमिक दिइने गरेको पीडित शिक्षकहरूको गुनासो छ । कलेजबाट पीडा पाएका कारण कतिपय शिक्षक अर्को ठाउँमा जागिरको खोजीमा छन् भने केहीले अन्य कलेजमा जागिर पाइसकेका छन् ।
कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले आफूले शिक्षकहरूलाई पक्षपात नगरेको दाबी गरे । सिइओ भण्डारीले संस्थाको भलो नचाहनेले दुष्प्रचार गर्न खोजेको आरोप लगाए । उनले भने, ‘छाडेर जाने होइन, बरु नयाँ शिक्षक आउँदै छन् ।’ कलेजमा शिक्षा क्षेत्रका प्रसिद्ध व्यक्ति भए पनि ‘हात्तीको देखाउने दाँत’ जस्तै भएको शिक्षकहरूको आरोप छ । संस्थाका अध्यक्ष विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष तथा त्रिविका पूर्वउपकुलपति प्रा.डा. मंगलसिद्धि मानन्धर हुन् । (सौस)

प्रतिक्रिया