इसाबेललाई भेटिन् ऐश्वर्याले

बलिउड अभिनेत्री ऐश्वर्या रायले र इटालियन अभिनेत्री इसाबेल रोसेलिनसँग भेट गरेकी छन् । एक धनाढ्य व्यापारीले आयोजना गरेको पार्टीमा उनीहरूबीच भेट भएको हो ।
‘ब्लु भेल्भेट’, ‘डेथ विकम्स हर’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी इसाबेल स्विडिस अभिनेत्री इन्ग्रिड बर्गम्यान र इटालीका फिल्म निर्देशक रोबर्टाे रोसालिनकी छोरी हुन् । ऐश्वर्या निकट स्रोतका अनुसार भेटका अवसरमा उनीहरूले बलिउडबारे चर्चा गरेका थिए । ‘ऐश्वर्यासँग इसाबेलले भारत भ्रमण गर्ने इच्छा व्यक्त गरिन् । जवाफमा ऐश्वर्याले उनलाई आफ्नै घरमा पाहुना भएर आउन आमन्त्रण गरिन् ।’ इसाबेलसँग भेट गर्ने ठूलो धोको बल्ल पूरा भयो भन्दै ऐश्वर्याले सन्तुष्टि व्यक्त गरेको समाचारमा जनाइएको छ । ‘केही बेरको भलाकुसारीपछि उनीहरू आआफ्नो बाटो लागे । तर, मेलबाट एकआपसमा सधैँ सम्पर्कमा आइरहने प्रतिबद्धता दुवैले व्यक्त गरे,’ स्रोतले भन्यो । (एजेन्सी)

प्रतिक्रिया