मुनामदन नै सर्वश्रेष्ठ

किताबसँग मेरो नाता कसरी गाँसियो ? मलाई कुन किताब मन पर्छ ? अझ त्यसमा पनि सबभन्दा बढी मन पर्ने एउटा पुस्तक † सम्भवत: पहिलो प्रश्नको उत्तर संस्मरणका आधारमा भन्न सकिएला । दोस्रो, जुन यो लेखको केन्द्रीय विषय हो, अत्यन्तै कठिन छ उत्तर दिन ।
लमजुङ जिल्लाको भन्ज्याङमा ५ दशकअघि जन्मेको व्यक्तिका लागि शिक्षा र त्यसको एउटा महत्त्वपूर्ण स्रोत किताब हो भन्ने बोध हुनु नै ठूलो हुरा हो । र, त्यसमा परिवार (खासगरी बा, आमा) को सोच निर्णायक रूपमा प्रभावकारी हुनपुग्छ । मेरी दिदी र दाइलाई बाआमाले गाउँको ‘पाठशाला’ या गुरुकहाँ पठाउनुहुन्थ्यो, म ‘बालक’ भएकाले बोकेर लैजान्थे दाइदिदीले । मेरो आकर्षण अक्षरसँग नभएर संस्कृतका ध्वनि, श्लोक र विद्यार्थीहरूको घोकाइसँग बढ्न पुग्यो । एक किसिमको रमाइलो अनुभूति हुन्थ्यो, जसलाई म त्यति व्याख्या गर्न सक्तिनँ होला । घरमा बाले यदाकदा संस्कृतमा श्लोकहरू उच्चारण गर्नुहुन्थ्यो (उहाँको कराएर पढ्ने बानी थिएन) ‘न मन्त्रं, नो यन्त्रं, तदपि ज नजाने स्तुतिमहो’ र पछि ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति’ सुन्दा लयबाट म रोमाञ्चित हुन्थँे । तर, अर्थ थाहा पाउने उमेर भइसकेको थिएन मेरो । पछि थाहा भयो त्यो शङ्कचार्यद्वारा रचिएको रहेछ । कुपुत्र हुन सक्छन् तर कुमाता कहिल्यै पनि हुन सक्तैनन् भनेर नारी स्वरूपको महानता या मातृत्वको अवधारणालाई शंकराचार्यले अति प्रभावशाली तरिकाले प्रस्तुत गरेजस्तो लाग्छ मलाई एक लाइनमा ।
वास्तवमा अहिले आमाको नामबाट पहिचानको मागको अभियानको सन्दर्भमा हिन्दुशास्त्रका केही मान्यता र त्यसविपरीत सामजमा देखापरेका विचलनको अन्यायपूर्ण विश्लेषण भएकोजस्तो लाग्छ मलाई । गणेशलाई ‘गौरी पुत्रं विनायकं’ र विष्णुलाई लक्ष्मीकान्त या पत्नीका नामबाट चिनाइएको तथ्यलाई हामीले बेवास्ता गरेका छौँ । गणेशले आमा (गौरी) का नामबाट नागरिकता या पहिचान पाएका छन् । यी अपवाद हैनन् तर छिटपुट सुनिने यो श्लोकबाहेक ‘पाठ्यपुस्तक’सँग मात्र सीमित पुस्तकहरूसँगको मेरो नातामा एउटा घटना घट्यो– म कक्षा ६ मा पढ्दा, चितवनमा । हामी लमजुङबाट बसाइँ सरिसकेका थियौँ । हो, पहाडमा मेरो आमा ‘मुनामदन,’ ‘गौरी,’ ‘भक्त भानुभक्त’ आदि किताबहरू पढ्नुहुन्थ्यो । अनि, एकजना भाउजू (सायद १० घरको राम्चे गाउँमा ३/४ जना साक्षर महिलाहरूमा उहाँ पर्नुहुन्थ्यो त्यसबेला) लाई लुकाएर ‘मुनामदन’ पठाउने गर्नुहुन्थ्यो आमाले । सायद भाउजूलाई पढ्ने रहर थियो तर सकस लाग्थ्यो होला, पुरुषहरूका बीच पढ्न । आँखा छलेर या लुकेर पढ्नुपथ्र्यो होला उहाँलाई । ‘मुनामदन’ मेरा लागि त्यसबेला एउटा झ्याउरे गीतको संकलन थियो । त्यसमा निहित नेपालको या काठमाडौंको सामाजिक, आर्थिक परिवेश, समाजको धार्मिक सभ्यता र आमाप्रतिको छोराको दायित्वसम्बन्धी मान्यताका प्रबल पक्ष, जातीय भेदभावप्रति देवकोटाको प्रहारका गहन अर्थ बुझ्ने सामथ्र्य ममा थिएन । लक्ष्मीप्रसाद देवकोटाले आफ्नो अन्त्य बेलामा ‘मेरा सबै कृतिहरू जलाएर मुनामदन मात्र राख्नू’ सायद त्यसै भनेका थिएनन् जस्तो लाग्छ । त्यसमा म लेखनाथ पौड्याल, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ आदि सबै समाहित भएको पाउँछु । एउटा किताबलाई सबभन्दा मन परेको पुस्तकका रूपमा चुन्नुपर्दा सायद ‘मुनामदन’ भन्न सहज महसुस गर्छु आफूलाई । तर, त्यो निष्कर्ष आफ्नै सोचमा पनि विवादित हुनसक्छ । मैले केही किताब पढेको छु । थुप्रै अरू पढ्न बाँकी छ । किताबसँगको नाताको कुरा गर्दा कक्षा ६ को त्यो प्रसंगमा जान चाहन्छु म ।
मेरा बाको एकजना भिनाजु हुनुहुन्थ्यो । ठूला विद्वान् र संस्कृतका तपस्वी । खडेरी पर्दा चेपे नदीमा पसी तपस्या गर्नुहुन्थ्यो रे । अनि, वर्षा भएपछि मात्र बाहिर निस्कनुहुन्थ्यो रे उहाँ । त्यो हामीले केटाकेटी हुँदा सुनेका थियौँ । उहाँ आउँदा हामी झुम्मिन्थ्यौँ, उहाँका वरिपरि । एकपल्ट उहाँले गीता प्रेस गोरखपुरबाट थुप्रै किताबहरू ल्याएर घरमा सबैलाई दिनुभयो । मलाई ‘तँ घमण्डी छस्’ भनेर दिनुभएन । सायद मेरो मनोविज्ञानमा त्यसले पार्ने प्रतिकूल असर बुझेर होला भिनाजु गएको दुई/तीन दिनमा बाले ‘जिल्ला’समेत हालेर त्यो किताब मलाई दिनुभयो । मैले त्यसलाई ठूलो प्राप्तिका रूपमा लिएँ । संस्कृत र हिन्दी अनुवादसहितको त्यो किताब निकै वर्षसम्म मेरो संगति र सहयात्री बन्यो । ‘ज्ञानको भण्डार’ मानिने ‘गीता’ बाट वञ्चित हुनुपरेको भए सायद त्यसले मेरो मनोविज्ञानमा पछिसम्म असर पारिरहन्थ्यो कि †
तर, त्यसपछिका दिनमा अध्ययनका विषयहरू फराकिँदै गए । म पछि उच्च अध्ययनका लागि भारत (पटना) गएँ, पत्रकारितामा प्रवेश गरेँ । युएनआईमा करियर सुरु गरेपछि ‘द टेलिग्राफ’ मा प्रवेश गरेँ । गाउँको अंग्रेजीको स्तर उकास्नु आवश्यक थियो । त्यसैले म बढी नै पढ्न थालेँ तर त्यो खास गरी अंग्रेजी सुधार्नका लागि । तर, त्यो चरणमा म आत्मकथा (अटो वायोग्राफी), वायोग्राफी, यात्रावृत्तान्त (ट्राभलग) र प्रसिद्ध पत्रकारहरूका पुस्तक रुचाउन थालेँ । विभिन्न समाज र मुलुकबारे, व्यक्ति र व्यक्तित्वबारे, अनेक राजनीतिक र सामाजक अभियान तथा क्रान्तिबारे जानकारी उपलब्ध हुन्थे । र, त्यो ज्ञान मेरो पेसामा उपयोगी हुन पुग्ला भन्ने आशा पनि थियो होला ममा । यसै क्रममा ‘अर्मिङ स्टोन’ का धेरै वायोग्राफीहरू पढ्न पाएँ– माइकलोन्जेलो (एगोनी एक एक्सटासी), डियर डाक्टर थियो (म्यानगोफ) । त्यस्तै अब्राहम लिंकन, चाल्र्स डार्विन आदि अमेरिकामा कालाहरूको आन्दोलन (मार्टिन लुथर किङ) को नेतृत्व क्षमता, नेल्सन मण्डेलाको जीवनी, भारतीय स्वतन्त्रताबारे र गान्धीको पक्षविपक्षका अनेक किताबसँग पर्ल थोरोका यात्रावृत्तान्त, उनीसँगको प्रगाढ दोस्तीपछि शत्रुवत् बनेका भीएस नइपल, मार्केन अलवर्ट कामु, जोन रिडको ‘टेन डेज द्याट सुक द वल्र्ड’ (वास्तवमा यो किताब मलाई एकजना मित्रले जन्मदिनको उपहार स्वरूप दिएकी थिइन्, ‘फर्गेट इन्डिया गो टु नेपाल एन्ड स्टार्ट रिभोलुसन देयर मन्तव्यसहित ।)’
मलाई अर्को एउटा ब्रिटिस साथीले प्रख्यात समाजशास्त्री ‘ओस्कर लुई’द्वारा लिखित पुस्तक ‘सन्चेज–फेमिली’ उपहार दिइन् । मेरो एकदम मन पर्ने किताब हो यो, आफ्नो मौलिकताका लागि, झन्डै, ‘मुनामदन’कै हाराहारीमा ।
आफ्नो समाजशास्त्रीय अध्ययनको ‘शोधपत्र’ लेखन सिलसिलामा लेखक (अमेरिकी) मेक्सिको एउटा गाउँमा जान्छन् । सन्चेज परिवारको अध्ययन अनौठो तरिकाले गरे उनले । प्राय: सबै अशिक्षित थिए परिवारमा । तर, लेखकले उनीहरूको अन्तर्वाता गरे जीवनशैली हेरे वर्षौं बिताएर । त्यो पुस्तक अशिक्षितहरूको आत्मकथाका रूपमा निस्कियो । एउटा यस्तो शैली र प्रस्तुति जुन अकल्पनीय थियो । उनीहरूको कमाइ, गरिबीमा बढ्ने अविश्वास र पारिवारिक कलह, विवाद र सम्बन्धविच्छेद तर सामूहिक अस्तित्वको संघर्षलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् उनले । आफ्नो शोधकार्यको समाप्तिपछि फेरि ‘ओस्कर लुई’ त्यो परिवारमा पुगे । सन्चेज दाजुभाइहरूमा संकट पर्दा उनीहरू अक्सर आफ्नी सानिमा ‘ग्वाजलुप’कहाँ जाने गर्थे । सक्दो सहयोग गर्थिन् उनीहरूलाई सानिमाले । पछि उनको निधन भयो । निधनले गरिबी र संघर्षमा पिल्सिएको सन्चेज परिवारका लागि एउटा या एकमात्र सहारा डुब्यो । अनि, अर्को किताब लेखे उनले ‘ए डेथ इन द सन्चेज फेमिली’ । लेखक र पात्रबीचको सम्बन्धले पुस्तकलाई धनी बनाउँछ सायद । यो त्यसको एउटा उदाहरण थियो । अनि, ती लेखकले लगातार समाजको गरिबी र त्यसले मानवीय मर्यादा अनि सामाजिक सन्तुलनमा पार्ने असरबारे कलम चलाई नै राखे ।
लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ एक युगल दम्पतिको बिछोडको लयात्मक प्रस्तुति मात्र होइन । गरिबीमा पिल्सिँदा धन कमाउन ल्हासा (भोट) जाने चलन एउटा पक्ष हो । तर, समाजमा आमाको हैसियत र उनको चाहना कसरी एउटा ‘सुपुत्र’का लागि अकाट्य आदेश बन्छ, त्योबेलाको सामाजिक मूल्य थियो । आमाको चाहना मुताबिक पार्टी बनाउने पैसा कमाउन मदन भोट जान्छ ।
कमाइको मार्ग त्यति सहज हुँदैन । मदन हैजाले आक्रान्त हुँदा साथीहरू उनलाई मर्नका लागि जंगलमै छोडी अगाडि बढ्छन् । एउटा लामाले उनको उद्धार गर्छ । ठीक भएर मदन भोट जान्छन् । तर, अर्काको गुणको भारमा बस्नुहुँदैन भन्ने मान्यताअनुरूप आफूले कमाएको दुई थैलो सुनमध्ये एक थैला चढाउन जान्छन् लामालाई । अनि, समाजको लिस्नोमा माथिल्लो तहमा रहेका क्षत्री (मदन) लामाको पाउ धोएर फर्किन्छन्– ‘क्षत्रीको छोरो त्यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ । कविका क्रान्ति उनका चिन्तन र आमव्यक्तिमा हुन्छन् । उसले बन्दुक उठाएर मान्छे मार्ने दुस्साहस गर्दैन क्रान्तिका नाममा । त्यसपछिको स्वदेश फिर्ती, आमा र मुनाको मृत्यु र तिनका प्रस्तुति विश्वका उत्कृष्ट वियोगान्तहरूमा पर्छ भन्न सकिन्छ सहजै । त्यसैले नै यो असहज निष्कर्षमा पुगेको हुँ म ।
मर्खेर्ेजको ‘क्लान्डेस्टाइन इन चिले’ अर्को झन्डै त्यतिकै मन परेको पुस्तक हो । अमेरिका रचित सत्ता पलटमा चिलेका राष्ट्रपति एलेन्डेको हत्या (सन् ७० को दशक) सैनिक शासन (पिनोसे) को प्रारम्भ र कम्युनिस्ट दमनको सिलसिलाकै क्रममा एकजना वामपन्थी फिल्म निर्माता त्यहाँ पुग्छन्, झुठो पहिचान, पासपोर्ट र भेषमा । अनेक व्यक्तिसँगको अन्तर्वार्ता, भिडिओ, अडिओ टेप र हजारौँ मिटरको ‘फोटो रिल’ खिचेर आएपछि फिल्म बनाउने जाँगर चलेन उनलाई । अनि, दु:खी र दोषी मनका साथ प्रसिद्ध साहित्यकार (नोबेल पुरस्कार विजेता) गेव्रियल गार्सिया मार्खेजले त्यसका आधारमा किताब लेख्छन् ‘क्लान्डेस्टाइन इन चिले’ अमेरिकी षड्यन्त्रको विस्तृत विवरणसहित । तर, अर्काको अनुभव र मेहनतलाई आफ्नो कीर्तिको आधार बनाउँदाको ग्लानि भावलाई
उनी लुकाउँदैनन् ।
हरेक किताब आपैँmमा भिन्न हुन्छन् । हरेकमा ज्ञानको प्रस्तुति र आफ्नै सन्देश हुन्छ । कतै न कतै कुनै हरफले मन छुन्छन् । त्यसैले पाठकका रूपमा यो राम्रो भन्दा अर्को नराम्रो भन्ने अर्थमा मेरो यो निबन्धलाई कसैले लिने छैन भन्ने आशा गरेको छु । मेरो पत्रकारिताको जीवनमा पढेका केही किताबको जिकिर गर्दा मैले बाल्यकालदेखि सुनेका, पढेका रामायण, महाभारत तथा अन्य ज्ञानका भण्डारसँगै आदरणीय नेपाली लेखकहरूको नाम मैले उल्लेख गरेको छैन । त्यो मन नपरेर होइन, मन परेको एउटा किताबबारे लेख्नुपर्ने भएकाले मात्र हो ।

प्रतिक्रिया