पचास प्रतिशत सहकारी मापदण्ड विपरीत

दाङ, १ असार । राप्ती अञ्चलमा दर्ता भएका ५० प्रतिशत सहकारी मापदण्डविपरीत रहेका छन् । डिभिजन सहकारी कार्यालयका अनुसार धेरैजसो सहकारीले मापदण्ड पालना गरेका छैनन् । डिभिजन सहकारीले हालै गरेको अनुगमनबाट ५० प्रतिशत बढी संस्था सहकारी सिद्धान्तविपरीत चलेको तथ्य सार्वजनिक भएको हो ।
अञ्चलभरका  करिब चार सय ५६ सहकारी संस्थाको अनुगमन गरिएको थियो । अहिले पनि राप्तीका विभिन्न ठाउमा छड्के अनुगमनलाई तीव्रता दिइएको सहकारी डिभिजन कार्यालयले बताएको छ । दाङका सहकारी निरीक्षक चेतलाल न्यौपानेका अनुसार तीन सय १९  सहकारीको  अनुगमन गरिएको थियो । त्यसैगरी रोल्पाका १५ वटा, सल्यानका २६, प्युठानका ७५ र रुकुम जिल्लाका २१ वटा सहकारी संस्थाको अनुगमन गरिएको उनले बताए ।
अनुगमनका क्रममा ५० प्रतिशत सहकारी संस्था सहकारी सिद्धान्त, नीति, नियमभन्दा बाहिर गएर सञ्चालन भएको पाइएको पनि उनले बताए । उनका अनुसार सहकारी सिद्धान्त, नीति, नियमअनुसार सञ्चालन नभएका सहकारी संस्थालाई पहिलो चरणमा चेतावनीस्वरुप सचेत गराइएको  छ ।
‘यो सुरुआत मात्र हो ।’ सहकारी निरीक्षक जागेश्वर नेपालीले भने,‘सहकारी संस्थालाई नीतिअनुसार सञ्चालन गर्ने उद्देश्यले पहिलो चरणमा चेतावनीका लागि निरीक्षण  गरेका हाँै ।’ राप्तीमा सहकारीको मूल्य, मान्यता, सिद्धान्त, आचरणमा रहेर अतिनिम्न, मध्यम तथा सबैखालका वर्गलाई सेवासुविधा दिने  उद्देश्यले विभिन्न १८ वटा विषयगत सहकारी संस्था दर्ता भएका छन् । कार्यालयले नियमविपरीत सञ्चालन भएका, साधारणसभा नगरेका, निष्क्रिय भएका संस्था खारेजी गर्ने गरेको छ ।
गत वर्ष राप्तीमा मात्रै ९६ नयाँ सहकारी संस्था थपिएका छन् । चालु आवको  नौ महिनाको अवधिमा ती सहकारी दर्ता भएका हुन् । गत वर्ष साउनदेखि यता दाङमा ५९, सल्यानमा नौ, रुकुममा दुई, प्युठानमा पाँच र रोल्पामा २१ वटा नया सहकारी संस्ंथा दर्ता भएको डिभिजन सहकारी कार्यालय दाङले बताएको छ । यसरी दर्ता हुनेमा सबैभन्दा धेरै कृषि सहकारी संस्था रहेको डिभिजन सहकारी कार्यालय दाङका सहकारी निरीक्षक चेतलाल न्यौपानेले जानकारी दिए । उनका अनुसार चालु आवमा ५४वटा कृषि सहकारी संस्था दर्ता भएका छन् । यो अवधिमा सबैभन्दा बढी दाङमा ३९ कृषि सहकारी संस्था दर्ता भएका छन् । त्यस्तै रोल्पामा १३ र प्युठानमा दुई कृषि सहकारी संस्था दर्ता भएका छन् । नयाँ दर्ता भएकासगै दाङमा चार सय ३९, सल्यानमा एक सय पाच, रुकुममा ९३, प्युठानमा एक सय ४६, रोल्पामा ९७ गरी राप्तीमा सहकारी संस्थाको संख्या आठ सय ८० पुगेको छ ।

प्रतिक्रिया