१३ प्रतिशत युवा रोजगारविहीन

युवाशक्तिलाई सबैभन्दा प्रभावशाली जनशक्ति मानिन्छ । तर, जनशक्तिको यथेष्ट परिचालन गर्नबाट विश्व चुकेको छ । नेपालमा मात्र होइन, विश्वमै बेरोजगारी समस्या झाँगिदै गइरहेको छ । विश्वका कुल युवाशक्तिमध्ये १३ प्रतिशतले काम नै पाउन सकेका छैनन् । विश्वमा उत्पन्न आर्थिक मन्दीका कारण यस्तो खाले समस्या देखिएको विश्लेषकहरू बताउँछन् । यस तथ्यलाई हालै अन्तर्राष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको थियो । संगठनले अझ एउटा निराशाजनक विश्लेषण पनि सार्वजनिक गरेको छ । सार्वजनिक विश्लेषणअनुसार युवा बेरोजगारीको यो दरमा आउँदो चार वर्षसम्म सुधारको कुनै सम्भावना देखिँदैन । धेरैजसो दक्ष युवाशक्ति अनावश्यक काममा अल्पकालीन करारमा अल्झिन बाध्य छन् । विश्वव्यापी आर्थिक संकट सुरु भएपछि सन् २००८ देखि २०११ को बीचमा करार रोजगारीको दर दोब्बरले बढेको छ । ६० लाख युवाले रोजगारीप्रतिको नैराश्यका कारण रोजगारीको अवसर खोज्न नै बन्द गरेको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ ।
रोजगारीको वातावरण सिर्जना हुन नसक्नुमा विभिन्न देशका आºनै कारण छन् । कतिपय देश आर्थिक संकटको खाडलबाट उम्कन सकिरहेका छैनन् भने कतिपय देशमा अस्थिरताको समस्या छ । विकसितदेखि अल्पविकसित र अविकसित देशसम्ममा युवा बेरोजगारीको तथ्यांक बढ्दो छ । यतिखेर विश्वमा झन्डै २२ करोड ५० लाख युवाशक्ति काम नपाएर छटपटिएको तथ्यांक छ ।
यद्यपि, सिर्जनशील उपायमार्फत् युवा शक्तिलाई काममा लगाउन सकिने सम्भावनाहरू पनि छन् । नेपालको सन्दर्भमा कुरा गर्दा देशभित्र रोजगारीको अवसर सिर्जना नभएपछि युवाशक्ति विदेशमा काम खोज्दै जान्छ । एउटा तथ्यांकअनुसार प्रत्येक चार जनामा तीन जना कामका लागि विदेश पलायन हुन्छन् । यद्यपि विदेश पलायन नभएका आन्तरिक शक्तिलाई समेत रोजगारीका लागि समस्या छ । सन् २००९ मा ६ प्रतिशत रहेको बेरोजगारी हाल ६.९ रहेको तथ्य छ । यहीअनुरूपले वृद्धि हुँदै जाने बेरोजगारी प्रतिशत समाधान गर्न विश्वमा आगामी दशकभित्र करिब ६० करोड युवाशक्तिलाई रोजगारी सिर्जना आवश्यक देखिएको विश्लेषण गरिन्छ ।

प्रतिक्रिया