असफल शिक्षा प्रणाली

एसएलसी परीक्षाको निराशाजनक नतिजाले शिक्षा नीतिमा आमूल परिवर्तनको खाँचो औँल्याएको छ । १० वर्षे योजना बनाएर चार खर्बभन्दा बढी लगानी भइरहेको विद्यालय शिक्षामा प्रत्येक वर्ष उत्तीर्ण दर घट्दै जानु अव्यावहारिक शिक्षा नीतिकै प्रतिफल हो भन्न सकिन्छ । नेपालमा कुल बजेटको १७ प्रतिशत खर्च शिक्षामा हुने गरेको छ । तर, एसएलसीको निराशाजनक नतिजाले उक्त खर्च ‘बालुवामा पानी’ को अवस्थामा रहेको बताउँछ । शैक्षिक अवस्था राम्रो छैन भन्ने प्रमाण प्रत्येक वर्ष घट्दो उत्तीर्ण प्रतिशतले देखाएको छ । यसले मुलुकलाई भविष्यमा नराम्रो घाटा पुर्‍याउने देखिन्छ । शिक्षा प्रणाली नै ठीक नभएर हो वा अन्य कारणले हो यसको बेलैमा जड पत्ता लगाएर उपचार गरिनुपर्छ । १० वर्ष लामो समय अध्ययन गरेका विद्यार्थी असफल हुने शिक्षा प्रणाली स्वीकारयोग्य छ भन्न सकिँदैन । यसलाई परिवर्तन अथवा परिमार्जन गरेर अगाडि जान सक्ने व्यवस्था मिलाउन ढिला गर्नु हुँदैन । किनकि नतिजाले नै अस्वीकृत गर्दै गएको शिक्षा प्रणाली उचित होइन भनेर बेलैमा बुझ्नु आवश्यक भइसकेको छ ।
विद्यार्थीको मिहिनेत, अविभावकको आर्थिक दोहन, १० वर्ष लामो महत्त्वपूर्ण समय र सरकारको ठूलो लगानीको प्रतिफल निराशाजनक हुनु भनेको समग्र शिक्षामा असफल प्रणालीले भित्र्याएको नतिजा भनेर स्वीकार गर्नैपर्छ । २/३ प्रतिशत विद्यार्थी असफल हुनु भनेको स्वाभाविक मान्न सकिन्छ । तर, ५० प्रतिशतभन्दा बढी विद्यार्थी फेल हुनु विद्यार्थीको दोष होइन, शिक्षा प्रणाली कै दोष हो । शिक्षामा राजनीति दल र दाताहरूले समेत उत्तीर्ण प्रतिशत बढाउन वा घटाउन दबाब दिने गरेको खुल्न आएको छ । यदि त्यो सत्य हो भने यो प्रणाली असफल मात्र होइन, अव्यावहारिक र अमर्यादित पनि हो । दाताले सहयोग गर्दैमा उत्तीर्ण प्रतिशत घटबढ गर्न लगाउने नीति शिक्षा नीति हुन सक्दैन । त्यो केवल दबाब र अवैधानिक निर्देशन मात्र हो । प्रणाली सुधार्नेतर्फ नसोचेर लगानी भित्र्याउने र कमिसन खानेतर्फ मात्र सोचाइ राख्ने सम्बन्धित निकायको कार्यशैली पनि ठीक भएन । अहिलेसम्म शिक्षासँग सम्बन्धित निकायले कुन वर्गका, कुन भूगोलका र कुन समुदायका कति विद्यार्थी अनुत्तीर्ण भए त्योसमेत खोज्न सकेको छैन । राजनीतिक दबाबमा तर्जुमा गरिएको अव्यावहारिक शिक्षा नीति परिमार्जन अथवा परिवर्तन गर्न पनि कहाँ कस्ता कमजोरी रहे भनेर खोज्न जरुरी छ । यसले कुन क्षेत्रमा कति सुधारको खाँचो पर्छ भन्ने निक्र्योल गर्न सजिलो बनाउँछ । तसर्थ, सरकारले यसतर्फ ध्यान दिनैपर्छ ।
हाम्रोमा घोकन्ते सैद्धान्तिक पढाइलाई मात्र शिक्षा भन्ने गरिएको छ, जसले व्यावहारिक, प्राविधिक र आयमूलक शिक्षालाई असर पुर्‍याइरहेको देखिन्छ । जब प्राविधिक शिक्षातर्फको पढाइ विद्यालयतहबाटै सिकाइँदैन तब विद्यार्थीमा सैद्धान्तिक ज्ञान मात्र हुनु स्वाभाविक हो । यसमा पनि परिवर्तनको खाँचो छ । १० वर्ष मिहिनेत गर्ने र असफल भएपछि बेरोजगार बनेर बस्ने युवाको ठूलो समूहलाई शिक्षा नीतिले समेट्ने उपाय अवलम्बन गरेको छैन । अहिले असफल भएको समूह बेरोजगार, निरास र अल्छी भएमा त्यसले मुलुकलाई ठूलो घाटा पुर्‍याउँछ । ‘असफलता नै सफलताको सिँढी हो’ भन्ने पुरानो मक्किएको मान्यताले अब काम दिँदैन । तसर्थ, भरसक कुनै पनि विद्यार्थी फेल नहुने व्यावहारिक शिक्षा प्रणाली अपनाउनुपर्छ । यसले मात्र विद्यार्थी, मुलुक र समाजको हित गर्छ ।

प्रतिक्रिया