जिपिएस जोडेका पाँचवटा डंगर गिद्ध मरे

काठमाडौं, १ असार । गिद्धको विस्तृत अध्ययनका लागि १५ महिनाअघि भूउपग्रह ट्रान्समिटर ‘जोग्राफिकल पोजिसनिङ सिस्टम’ (जिपिएस) जोडेर छाडिएका पाँचवटा डंगर गिद्ध मरेका छन् । नेपाल पंक्षी संरक्षण संघले गरेको जिपिएस जोडेका गिद्धको अनुगमनबाट पाँचवटा मरेको पत्ता लागेको हो ।
संघ र रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्ड्सको सहयोगमा सरकारले फागुन २०६७ मा ६ वटा डंगर गिद्धको ढाडमा भूउपग्रह ट्रान्समिटर जोडेको थियो । तीमध्ये पाँचवटा मरेको र दुईवटा जिपिएस भेटिएको संघका गिद्ध संरक्षण अधिकृत खडानन्द पौडेलले बताए । ‘अनुगमन गर्दा पाँचवटा गिद्ध मरेको पत्ता लाग्यो, मरेकामध्ये दुईवटाका जिपिएस फेला परेका छन्,’ पौडेलले बिहीबार सौर्यसँग भने, ‘एउटा भारतमा मरेको सूचना आएको छ ।’ उनले भारतमा मरेको गिद्धको एउटा र नेपालभित्रै खसेका दुईवटा जिपिएस फेला नपरेको बताए । रूपन्देहीमा दुई र बाँकी तीन गिद्ध लुम्बिनी, भारत र कपिलवस्तुमा मरेको बताइएको छ ।
जिपिएस फेला परेको लुम्बिनी र रूपन्देहीको रुद्रपुरआसपास गिद्धको कंकाल र भुत्ला फेला परेको संघले जनाएको छ । भारतमा मरेका गिद्धको जिपिएस भारतमै रहेको र रूपन्देही अनि कपिलवस्तुमा मरेका थप दुईको ठाउँ पत्ता लागे पनि जिपिएस भेटिएको छैन । जिउँदो गिद्धको भने जिपिएसले रूपन्देही र केही तराईका जिल्लाआसपासको ठाउँ देखाइरहेको छ ।
जिपिएस जोडेर छाडिएका गिद्ध बच्चै भएकाले आहारा खोज्न नसकेर वा अन्य कारणले मरेको हुन सक्ने पौडेलले बताए । ‘गिद्धमा बच्चाको मृत्युदर बढी हुन्छ, जिपिएस जोडेका पनि बच्चै भएकोले आहारा खोज्न नसकेर वा कुनै कारणले मरेका हुन सक्छन्,’ उनले भने । उनका अनुसार पाँचमध्ये एउटा डेढ महिनाअघि लुम्बिनीमा मरेको र बाँकी गिद्ध गत पुसअघि नै मरेको पाइएको छ ।
गिद्धका आनीबानी नियाल्न १५ महिनाअघि रूपन्देही र कपिलवस्तुका ६ वटा डंगर गिद्धमा भूउपग्रह ट्रान्समिटर जोडेर छाडिएको थियो । डेढ महिनाअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लामो समयदेखि तीनवटा गिद्ध हराइरहेको बताएको थियो । २० वर्ष अघिसम्म नेपालमा पाँच लाखको हाराहारीमा रहेका गिद्ध धमाधम मरेर लोपोन्मुख भएपछि निगरानीमा राख्न गिद्धको ढाडमा भूउपग्रह ट्रान्समिटर जोडिएको थियो । गिद्ध मासिनुको कारण मानिएको ‘डाइक्लोफेनेक’ नेपालमा प्रतिबन्धित भएपछि पनि गिद्ध मर्ने क्रम नरोकिएपछि निगरानी राख्न गिद्धमा जिपिएस जोडिएको विभागले जनाएको छ । यसबाट विभागले डाइक्लोफेनेकबाहेक गिद्ध मासिनुका अन्य कारण पत्ता लाग्न सक्ने विश्वास लिएको छ ।

राजमार्गआसपास घटे गिद्ध
काठमाडौं : आठौं वार्षिक गिद्ध सर्वेक्षणले पूर्व–पश्चिम राजमार्गआसपास ४३ वटा गिद्ध रहेको देखाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्ड्स (आरएसपिबी)को सहयोगमा नेपाल पंक्षी संरक्षण संघले गिद्धगणना गरेको हो ।
अघिल्लो वर्षको सर्वेक्षणमा ६८ वटा गिद्ध भेटिएका थिए । सर्वेक्षण गर्ने नियमित समयभन्दा ढिलो गरी गर्मी चढेपछि सर्वेक्षण गरिएकाले संख्यामा केही कमी आएको संघले जनाएको छ ।
सन् २००९ र २०१० को सर्वेक्षणबाट क्रमश: ५५ र ६० ओटा गिद्ध फेला परेका थिए । संघको टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टाबाट सुरु गरेर कञ्चनपुरको गड्डाचौकीसम्म एक हजार १० किलोमिटरमा राजमार्ग ट्रान्जेक्ट सर्भे सम्पन्न गरेको थियो ।

प्रतिक्रिया