फेल भएपछि पाँच विद्यार्थीले गरे आत्महत्या


काठमाडौं, १ असार । एसएलसी परीक्षामा असफल भएपछि पाँच विद्यार्थीले आत्महत्या गरेका छन् । मोरङ, पाल्पा, सिन्धुपाल्चोक, काठमाडौं र बाँकेका विद्यार्थीले आत्महत्या गरेका हुन् ।

एसएलसी फेल भएपछि विराटनगर–२० रानीकी मधु देवानले बिहीबार बिहान विष सेवन गरी आत्महत्या गरेकी छन् । देवानले श्रीराम उच्चमाविबाट एसएलसी दिएकी थिइन् ।
यस्तै, एसएलसीमा असफल भएपछि बिहीबार बिहान पाल्पा छहरा–४ गोलौचाकी १६ वर्षीया सरिता रानाले आत्महत्या गरेकी छन् । बुधबारको एसएलसी परीक्षाफलमा परिणाम राम्रो नआएपछि उनले भुन्डिएर आत्महत्या गरेको स्थानीयबासीले बताएका छन् । उनी छहराको भैरव नवदीप उच्च माविबाट एसएलसीमा सहभागी भएकी थिइन् ।
यस्तै, सिन्धुपाल्चोक पांग्रेटार–३ का सुशील तिमिल्सिनाले बिहीबार आत्महत्या गरेका छन् । स्थानीय सेतीदेवी शारदा उच्च माविबाट एसएलसी दिएका तिमिल्सिनाले अनुत्तीर्ण भएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौं थानकोटकी रुविना केसीले विष सेवन गरेर आत्महत्या गरेकी छन् । प्रभात माविबाट एसएलसी दिएकी केसीले बुधबार विष सेवन गरेपछि उपचारका क्रममा ढु्ंगेअड्डास्थित अस्पतालमा निधन भएको हो ।
यस्तै, नेपालगन्ज–१३ गोसाईंगाउँकी प्रतीक्षा शर्माले एसएलसी परिणाम आएलगत्तै बुधबार राति आत्महत्या गरेकी छन् । १५ वर्षीया शर्माले परिणाम सोचेजस्तो नआएपछि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । भेरी अञ्चल अस्पताल पुर्‍याइएकी शर्माको त्यसअघि नै निधन भइसकेको चिकित्सकले घोषणा गरेका थिए । उनी नारायण उच्च माध्यमिक विद्यालयबाट एसएलसीमा सहभागी भएकी थिइन् ।

छात्रातर्फ पाण्डे प्रथम भएको दाबी

बुटवल, १ असार । प्रभात आवासीय उच्चमावि पर्रोहा रूपन्देहीले आफ्नी एक छात्रा एसएलसी परीक्षामा छात्रातर्फ नेपाल प्रथम भएको दाबी गरेको छ ।
बुधबार सार्वजनिक भएको नतिजामा स्कुलकी समीक्षा पाण्डेले ९२ प्रतिशत अंक हासिल गरेर छात्रातर्फ नेपाल प्रथम भएको प्राचार्य अनन्तराम शर्माले दाबी गरेका हुन् ।
पर्रोहा–५, झारवैराकी पाण्डे सानैदेखि पढाइमा तेज रहेको विद्यालयले जनाएको छ ।
विद्यालयबाट एक सय २३ विद्यार्थीले परीक्षा दिएकोमा ४४ विशिष्ट श्रेणीसहित उत्कृष्ट नतिजा ल्याएको प्राचार्य शर्माले बताए ।
यस्तै, स्मृति बोर्डिङ स्कुल योगीकुटीका सागर पन्थीले ९३ दशमलव ५ प्रतिशत अंक हासिल गरेका छन् । यो पश्चिमाञ्चल क्षेत्रकै उत्कृष्ट नतिजा भएको विद्यालयको दाबी छ । विद्यालयका प्रिन्सिपल हरि ज्ञवालीले छात्रा सुस्मिता नेपालीले ९० दशमलव ८७ प्रतिशत अंक प्राप्त गरेको बताए ।
अहिलेसम्म प्राप्त तथ्यांकअनुसार विराटनगरका अरुण कालिकोटेले ९४ दशमलव ९ प्रतिशत अंक हासिल गरी नेपाल प्रथम भएको दाबी गरिएको छ ।

प्रतिक्रिया